२५ कार्तिक २०८१, पाँचथर। आज १४० औं फाल्गुनन्द जन्मजयन्ती मनाइँदैछ । याक्थुङ (लिम्बू) समुदाय र किरात धर्मावलम्बीहरुले हरेक वर्षको कार्तिक २५ गते राष्ट्रिय विभूती, समाजसुधारक, महागुरु फाल्गुनन्द लिङदेनको स्मरण गर्दछन् ।
आज पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा सहित राजधानी र विदेशका विभिन्न स्थानमा फाल्गुनन्द जन्मजयन्ती मनाइँदैछ । फाल्गनन्दको पावन कर्मभूमी पाँचथरको फिदिम–५ लब्रेकुटी, सिलौटी, इलामको माङ्सेबुङ लगायतका स्थानमा विशेष कार्यक्रम सहित १४० औं फाल्गुनन्द जन्मजयन्ती मनाइँदैछ ।
जन्मजयन्तीको अवशरमा पाँचथरको लब्रेकुटीमा विशेष पूजा, आराधना, फाल्गुनन्दसँग सम्बन्धीत दुर्भल वस्तुहरुको दर्शन, अवलोकनसँगै पूरुष तथा महिला हाफ म्याराथन आयोजना गरिएको किरात धर्म तथा साहित्य उत्थान संघ पाँचथरका अध्यक्ष ध्रुव तुम्बापोले बताए । आजको दिन याक्थुङ (लिम्बू) समुदाय र किरात धर्मावलम्बी रहे–बसेका विदेशका विभिन्न ठाउँहरुमा पनि फाल्गुनन्द जन्मजयन्ती मनाइन्छ ।
विश्व शान्ति र मानव एकताका पक्षधर, सत्य र अहिंशाका पक्षपाती महागुरु फाल्गुनन्दलाई किरात धर्मावलम्बीहरुले किरात धर्मदर्शनका पुनरुत्थानकर्ताको रुपमा पुज्दछन् । उनीहरु फाल्गुनन्दलाई मुहिङ्गुम अङ्सीमाङ्को रुपमा पुकार्दछन् । फाल्गुनन्दको सत्य र अहिंशाको सन्देशलाई विश्व समुदायले अनुशरण गर्ने समय आएको किरात साङ्सेन् वरक् चोत्लुङ् माङ्हिम पान्थरका सचिव सुवाश तुम्बापोले बताए ।
महागुरु फाल्गुनन्दले वि.सं.१९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा तत्कालीन पल्लो किरात लिम्बुवानका गन्यमान्य व्यक्तित्वहरु सुब्बा, सुवाङ्गी, कारबारी, बुद्धिजिवीहरुको चुम्लुङ (भेला) गराएर सत्यधर्म मुचुल्का निर्माण गरी जारी गरेका थिए । समाज सुधारका निम्ति घोषणा गरिएको उक्त सत्यधर्म मुचुल्कामा आर्थिक मितव्ययीता अपनाउने, पशुपंक्षीको हत्याहिंशा नगर्ने, धुम्रपान, मद्यपानको प्रयोग नगर्ने, भाषा तथा लिपीको पठनपाठन गर्ने, गराउने जस्ता विषय समेटिएका छन् । फाल्गुनन्दले घोषणा गरेको सत्यधर्म मुचुल्कालाई समाज सुधारको क्षेत्रमा एक ऐतिहासिक र महत्वपूर्ण दस्तावेजको रुपमा संग्रहित गरिएको छ ।
फाल्गुनन्दको जन्म वि.सं.१९४२ कार्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका–२ इभाङ, चुक्चिनाम्बामा भएको थियो । बाबु जगनवाज र आमा हंशमतीको छोरा फाल्गुनन्दमा सानैदेखि शान्त, एकान्तप्रेमी, मदमंश नछुने र ध्यान, पूजाआराधनामा रुची राख्ने स्वभाव रहेको उनको जीवनीमा उल्लेख छ । जीवनभर ध्यान, तपश्या, समाज सुधार र मानव एवं चराचर सक्कल प्राणीको हितमा लागेका फाल्गुनन्दको वि.सं.२००५ चैत २२ गते निधन भएको थियो । उनको समाधीस्थल पाँचथरको सिलौटी डाँडामा रहेको छ ।
महागुरु फाल्गुनन्दलाई नेपाल सरकारले वि.सं.२०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूती घोषणा गरेको थियो । फाल्गुनन्द जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा दिएको छ ।