Advertisement Ad

Advertisement Ad

पाँचथरको वसाँगुमा सम्पन्न द्वितीया मेला अन्तरपालिका भलिवलको उपाधि फेदाप तेह्रथुमलाई

२३ कार्तिक २०८१, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका ६ र ७ को सिमाना वसाँगुमा लाग्ने द्वितीया मेलाको अवरसरमा आयोजित अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिताको उपाधि फेदाप गाउँपालिका तेह्रथुमले जितेको छ।

बिहीबार भएको प्रतियोगिताको फाइनल खेलमा आमचोक गाउँपालिका भोजपुरलाई ३–२ सेटमा पराजीत गर्दै फेदापले उपाधि उचालेको हो। प्रतियोगिताको विजेता फेदापले नगद १ लाख २५ हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा सिमित हुन पुगेको आमचोक गाउँपालिका भोजपुरले नगद ७५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

फेदाप गाउँपालिकाका कुमार बस्नेत प्रतियोगिताको वेष्ट प्लेयर बने। उनले नगद ५ हजार रुपैंयाँ प्राप्त गरे। त्यस्तै मिलन लिम्बू वेष्ट सर्भर, मनोज घिमिरे वेष्ट सेटर भने। आमचोक गाउँपालिकाका भोजपुरका सन्दिप बिष्ट वेष्ट ब्लकर, राजकुमार तामाङ वेष्ट स्पाइकर र पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङका गिरिराज श्रेष्ठ वेष्ट लिब्रो घोषित भए। उनीहरुले जनही २५ सय रुपैंयाँ पुरस्कार प्राप्त गरे।

वलिहाङ तङनाम (शुभ दिपावली) को अवसरमा बर्षेनी लाग्दै आएको द्वितीया मेलाको अवसरमा आयोजना गरिएको प्रतियोगितामा पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरका गरी १२ पालिकाको सहभागिता रहेको आयोजक त्रिवेणी क्लवका अध्यक्ष वशन्त आङदेम्बेले बताए।

विजयी खेलाडीहरुलाई फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङदेम्बे र पूर्व अध्यक्ष बीर बहादुर कुरुम्बाङले पुरस्कार वितरण गरेका मेला व्यवस्थापन समिति अध्यक्ष अमर आङदेम्बेले बताए।