Advertisement Ad

लब्रेकुटीको महिमा

Advertisement Ad

२४ फागुन २०८०, पाँचथर। पाँचथरको फिदिम नगरपालिका–५, चोकमागुमा अवस्थित छ– लब्रेकुटि । पाँचथरकै एक अब्बल पर्यटकीय गन्तब्यको रुपमा परिचित लब्रेकुटि प्राकृतिक सुन्दरताको एक अनुपम नमूना हो ।

रहरलाग्दा नागी चउर, बुट्यान, विभिन्न प्रजातिको सल्ला र गुराँसका मनोरम जङ्गलले ढाकिएको लब्रेकुटि विचरण गर्ने पर्यटक यहाँको प्राकृतिक छटासँग रमाएर कहिल्यै अघाउदैनन् । समुन्द्री सतहबाट २४ सय ४० मिटर उचाईमा अवस्थित लब्रेकुटि दृष्यावलोकनका निम्ति पनि गज्जवको स्थान हो । लब्रेकुटिबाट देखिने कुम्भकर्ण र कञ्चनजंघा हिमश्रृङ्खलाका मनोरम दृष्यले रोमाञ्चित बनाउछ ।

लब्रेकुटिबाट पाँचथरसँगै पूर्वका विभिन्न जिल्लाका मोहक दृष्यहरुलाई आँखाभरी भर्न सकिन्छ । ३४७ रोपनी क्षेत्रफलमा फैलिएको लब्रेकुटिमा विभिन्न बहूमूल्य जडिबुटि र लोपोन्मुख जङ्गली जीवजन्तुहरु पाइन्छन् । त्यसैले लब्रेकुटि प्राकृतिक र वनस्पतिकसँगै जडिबुटि एवंम् जैविक विविधताको दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ ।

लब्रेकुटि किरात धर्मावलम्बीहरुको धार्किक आस्थाको केन्द्र हो । १६ औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको पवित्र कर्मभूमी हो । वि.सं. १९८३ असोजमा पहिलोपल्ट उनै फाल्गुनन्दले माङ्हिम स्थापना गरेपछि लब्रेकुटिको महत्व बढेको हो । वि.सं.१९८८ साल बैशाख २४ गते महागुरु फाल्गुनन्दले लिम्बुवान क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको भेला गराई ७ बुँदे सत्यधर्म मुचुल्का घोषणा गरेको ऐतिहासिकस्थल हो– लब्रेकुटि ।

उक्त मुचुल्कालाई समाज सुधारका लागि लिम्बुवान क्षेत्रको हालसम्मकै महत्वपूर्ण र ऐतिहासिक दस्तावेज मानिन्छ । सोही दिनको स्मरणमा लब्रेकुटिमा हरेक वर्ष वैशाख २४ गते समाजसुधार दिवश र कार्तिक २५ गते फाल्गुनन्द जन्मजयन्ती मनाइन्छ । सो अवशरमा नेपालसँगै भारत, भूटान र बर्मासम्मका श्रद्धालु भक्तजन लब्रेकुटि पुग्छन् । त्यसैले लब्रेकुटि अन्तराष्ट्रिय जगतमा समेत परिचित छ ।

लब्रेकुटिको शीरमा महागुरु फाल्गुनन्दले १०८८ साल वैशाखमा स्थापना गर्नुभएको मुजोत्लुङ माङहिम छ । याक्थुङ (लिम्बू) हरुको पवित्र तीर्थस्थल फक्ताङलुङ, पारुम्फुक्कु–मारुम्फुक्कु पुग्न नसक्नेहरुले यहाँ आएर सेवा गरे त्यहाँ पुगे सरह हुने धार्मिक विश्वास छ । त्यसैले यसलाई दोस्रो फक्ताङलुङ पनि भनिन्छ ।