Advertisement Ad

याङनाम आविः मर्ज गर्न लागिएको विद्यालयले आशा जगाउदै

Advertisement Ad

२५ फागुन २०८०, पाँचथर। फिदिम नगरपालिका–१० याङनामस्थित याङनाम आधारभूत विद्यालयको अवस्था गत बर्ष दयनीय थियो। कक्षा–५ सम्म पठनपाठन हुने उक्त विद्यालयमा नगरपालिकाले अनुगमन गर्ने क्रममा जम्मा ३ जना मात्र विद्यार्थी भेटिए। विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै थियो। त्यसैले नगरपालिकाले उक्त विद्यालयलाई नजिकको विद्यालयमा गाभ्ने तयारी गर्यो।

तब सोही स्थानका स्थानीय समेत रहेका वडाअध्यक्ष होमराज थाम्सुहाङ लगायत स्थानीय अभिभावक र सामाजिक अगुवा विद्यालयबारे चिन्तित बने। याङनामको शैक्षिक उन्नयनका लागि लामो योगदान र इतिहास बोकेको विद्यालयको अवस्था सुधार गरी मर्ज गराउनबाट रोक्नतर्फ वडाका जनप्रतिनिधि र स्थानीय अभिभावक लागिपरे। विद्यालयमा प्रभावकारी शैक्षिक क्रियाकलाप कायम गर्दै विद्यार्थीको सहभागिता बढाउन वडाअध्यक्ष थाम्सुहाङ लगायत स्थानीय अभिभावक र सामाजिक अगुवा अघि सरे। वडाअध्यक्ष होमराज थाम्सुहाङ भन्छन्, ‘अहिले विद्यालयले आशा जगाइरहेको छ।’

याङनाम आधाभूत विद्यालय जिल्लाकै दोस्रो पुरानो विद्यालय हो। वि.सं.२०१० सालमा स्थानीय सामाजिक अगुवा स्व.जहरमान थाम्सुहाङको अगुवाइमा खलङगाटारमा उद्घाटन भई साबिक याङनाम गाविस–४ मिलडाँडामा रहेको उक्त विद्यालय कुनै समय जिल्लाको नामी विद्यालय थियो। उत्कृष्ट नतिजा निकालेको भन्दै वि.सं.२०४२ सालमा तत्कालीन पूर्वाञ्चल शिक्षा निर्देशनालयले पुरस्कृत समेत गरेको थियो। अन्य विद्यालयमा गाभिदा विद्यालयको यो इतिहास पनि मेटिने भएपछि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक, अभिभावक र स्थानीयको प्रयासले अहिले विद्यालयको अवस्था फेरिएको हो।

कक्षा–८ सम्म पठनपाठन हुने उक्त विद्यालयलाई दुई बर्षअघि कक्षा–५ मा घटुवा गरिएको थियो। शैक्षिक शत्र २०८० बाट वाल विकासदेखि कक्षा–३ सम्म कायम गरी सिकाई क्रियाकलापलाई प्रभावकारी बनाइएको विद्यालयका प्रधानाध्यापक सोनी थेबेले बताइन्। ‘अहिले कक्षा–३ सम्म ४६ जना विद्यार्थी नियमित विद्यालयमा हाजिर हुन्छन्’ प्रधानाध्यापक थेबेले भनिन् ‘अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेका छौं, विद्यार्थीहरुको प्रगति राम्रै देखिएको छ।’

विद्यालयमा दुई जना दरबन्दीका शिक्षक रहेकामा निवर्तमान प्रधानाध्यापक हाङओज थेगिमको केहि समयअघि अवकाश भएपछि अहिले प्रधानाध्यापकको जिम्मेवारी थेबेले सम्हालेकी छन्। बाँकि नीजि स्रोतबाट एक शिक्षक, एकजना वाल विकास शिक्षक र एकजना कास रहेका छन्। नीजि शिक्षकको लागि भने युके लगायतका मुलुकमा रहेका स्थानीय थाम्सुहाङ परिवारले सहयोग गरेको वडाअध्यक्ष होमराज थाम्सुहाङले बताए। त्यस बाहेक उनीहरुले समय–समयमा विद्यार्थीका लागि शैक्षिक सामग्री समेत सहयोग गर्दै आएको विद्यालयले जनाएको छ।

वडाका जनप्रतिनिधि र स्थानीयले विद्यालयको अवस्था सुधारका लागि मौका माँगेपछि नगरपालिका मर्ज गर्ने प्रक्रियाबाट पछि हटेको थियो। अहिले विद्यालयको अवस्था सुधार हुँदा अभिभावक पनि खुसी र उत्साहित रहेको विद्यालयकी शिक्षिक भारती थाम्सुहाङले बताइन्।