पाँचथर – १८ पुस २०८१ बिहिवार ।
याक्थुङ मुन्चइत चोक सयङ (लिम्बु चलचित्र कर्मी संघ) संघीय कार्यसमितिले ताप्लेजुङको मुक्कुम्लुङमा केवलकार निर्माण कार्य रोकि संवाद सृजना गर्न सम्बन्धित निकायलाइ धान्याकार्षण गराएको छ । विहिबार सार्वजनिक संघीय अध्यक्ष सागर केरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । राज्य र निर्माण कम्पनीले लिम्बू समुदायमाथी गरिरहेको दमनको घोर भत्सर्ना गरेका छन । विज्ञप्तिको पुर्ण पाठ हेर्नुहोस –
प्रेस विज्ञप्ति
लिम्बु याक्थुङहरुको आस्थाको केन्द्र, शक्तिपीठ मुक्कुम्लुङ भत्काउन खोज्ने र जोगाउन खोज्नेविचको द्वन्द्वात्मक परिस्थितिलाइ नजिकबाट नियालिरहेका छौं । याक्थुङ समुदायको आस्थाको केन्द्रमाथि राज्यले गरिरहेको सांस्कृतिकसंहारप्रति खेद प्रकट गर्दछौं । एउटा निजि कम्पनी र सिमित व्यक्तिहरुको स्वार्थको निम्ति राज्यले लिम्बु समुदायमाथि खुकुरी प्रहार गर्ने, धडपकड गर्ने र हिंसात्मक गतिविधि गरिरहेको छ, यसको हामी सशक्त प्रतिकार गर्छौं । मुक्कुम्लुङ भत्काएर केवलकार बनाउन खोज्ने कम्पनि, नेपाल सरकार र सरोकारवालाहरुले त्यस कार्य रोकी तुरन्तै संवादको वातावरण सृजना गर्न हुन हार्दिक अनुरोध गर्दछौं । सम्पूर्ण मानवअधिकारकर्मी, न्याय र समानता चाहाने आम समुदायमा मुक्कुम्लुङमाथि भइरहेको बर्बर दमनलाइ रोक्नको लागि सहयोग गरिदिन हुन हार्दिक अपिल गर्दछौं । यो वा त्यो बाहानामा गिरफ्तार गरिएका मुक्कुम्लुङ पक्षधर नागरिकहरुलाई बिनासर्त रिहाइ गर्न माग गर्दछौं । आन्दोलनमा घाइते हुनुभएका महानुभावहरुको स्वास्थलाभको कामना गर्दछौं । घाइतेहरुलाइ राज्यले स्वास्थ्य उपचार र क्षतिपूर्तिको व्यवस्थापन गरिदिन जोडदार माग गर्दछौं ।
उपरोक्त बिषयहरु बेवास्ता गरि मुक्कुम्लुङ भत्काउन लिम्बु समुदायमाथि दमन गरिरहे हामी तपशिल कार्य गर्न बाध्य हुनेछौं ।
१, चलचित्र निर्माण गर्छौं । तपाइहरुलाई थाहा छ ः हामीले निर्माण गर्ने चलचित्रहरु संसारको आदिवासी जनजाति चलचित्र महोत्सवहरुमा जान्छन र अन्य महोत्सहरुमा पनि । तेस्ता महोत्सवहरुमा मानवीय संवेदनालाइ कुल्चेर भए पनि, कपोकल्पित आख्यान निर्माण गरेर भए पनि मुक्कुम्लुङ भत्काउन खोज्नेहरुलाई राक्षस, दानव एन्टागोनिष्टको रुपमा प्रस्तुत गर्छौं । मुक्कुम्लुङ भत्काएर केहि पैसा कमाउनुहुन्छ, तर यस्ता चलचित्रहरु सयौं वर्ष रहनेछन, सयौं वर्ष दानवको रुपमा चित्रित भइरहनुहुनेछ र दुनियाँले थुकिरहनेछन ।
२, मुक्कुम्लुङको डकुमेन्ट्री निर्माण गर्छौं । मुक्कुम्लुङमा राज्य र कम्पनी कसरी घुसे ? कम्पनीवाला चन्द्र ढकाल सम्भ्याताको विकास कसरी आयो ? लिम्बु समुदायलाई एकापसमा काटाकाट मारामार गर्ने वातावरण सृजना गर्न के के प्रयत्न गरे जस्ता बिषय समेट्नेछौं । त्यस्ता डकुमेन्ट्रीमा राज्य र भत्काउने कम्पनीलाई राक्षस, दानव एन्टागोनिष्टकोरुपमा प्रस्तुत गरेर संसारभरि पुर्याउनेछौं । जुन डकुमेन्ट्रीले मुक्कुम्लुङ भत्काउने अपराधीहरुलाई युगौयुग सफाई दिने छैन ।
३, म्युजिक भिडियो निर्माण गर्छौं । मुक्कुम्लुङको बिषयमा म्युजिक भिडियो निर्माण गरेर भत्काउने तत्वलाई राक्षस, दानव एन्टागोनिष्टको रुपमा प्रस्तुत गर्छौं । ता कि विश्वले नेपालको पूर्वी लिम्बुवानमा यस्ता दानव राक्षसहरुको हर्कत था पाओस ।
४, कार्टुन निर्माण गर्छौं । मुक्कुम्लुङ भत्काउनेहरुलाइ राक्षसी दानव पात्रकोरुपमा प्रस्तुत गरेर कार्टुन निर्माण गर्छौं र सबै बालबालिकाको हातहातमा पुर्याएर उनीहरुको मानसपटलमा स्थापित गरिदिन्छौं ।
५, टिकटक र रिल्स निर्माण गर्छौं । मुक्कुम्लुङ भत्काएर केवल कार बनाउन खोज्ने पात्रहरुलाई एन्टागोनिष्ट पात्र बनाएर टिकटक र रिल्स मार्फत संसारभर पुर्याईदिनेछौं । जुन कुरा संसारले देख्नेछन र तेस्ता पात्रहरुलाई संसारले घृणाको रुपमा हेरिरहनेछन ।