Advertisement Ad

Advertisement Ad

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च व्वाइजलाई

१५ पुस २०८१, पाँचथर। ‘ए’ डिविजन लिग विजेता चर्च व्वाइज युनाइटेड क्लवले ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ।

सोमबार फिदिम माविको खेलमैदानमा उपाधिका लागि भएको खेलमा मच्छिन्द्र फुटवल क्लवलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले स्तब्ध पार्दै चर्च व्वाइजले उपाधि उचालेको हो। फाइनल खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा मच्छिन्द्र पराजीत भएको हो।

टाइब्रेकरमा चर्च व्वाइजका एकराज बुढाथोकी, रोहन कार्की, अवियामी, छिरिङ लामा र सुजन डङ्गोलले गोल गरे। मच्छिन्द्र फुटवल क्लवको तर्फबाट देबेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समीरराज थोकरको प्रहारले मात्र जालि चुम्न सक्यो। दयानन्दको प्रहारमा चर्च व्वाइजका क्रिशल मोक्तान बाधक बन्दा मच्छिन्द्रले उपाधि चर्च व्वाइजलाई सुम्निपुपर्यो।

मच्छिन्द्रले खेलमा बनाएको अग्रता जोगाउन नसक्दा उपविजेतामा सिमित हुनुपर्यो। इन्जुरी समयको अन्तिम मिनेट मच्छिन्द्र सम्हालिन नसक्दा नतिजा अर्को बनिदियो। खेलको ४५ औं मिनेटमा आत्मघाती गोल उपहार पाउँदा मच्छिन्द्रले १–० को अग्रता बनायो। चर्च व्वाइजका अर्माण्डले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल भएको थियो।

७८ औं मिनेटमा चर्च व्वाइजका छिरिङ लामाले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए। तर ८८ औं मिनेटमा मच्छिन्द्रका सनिश श्रेष्ठले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। जीत नजिक पुगेको मच्छिन्द्र इन्जुरी सयमको अन्तिम मिनेट सम्हालिन सकेन। चर्च व्वाइजका समीर तामाङले गोल फर्काएसँगै २–२ बराबरीमा खेलको निर्धारित समय सकियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा मच्छिन्द्र अभागी साबित भयो।

उपाधिसँगै चर्च व्वाइजले नगद दश लाख ५५५ रुपैंयाँ प्राप्त गर्दा उपविजेतामा सिमित हुन पुगेको मच्छिन्द्रले नगद पाँच लाख ५५५ रुपैंयाँमा चित्त बुझायो। खेलको म्यान अफ् दि म्याज मच्छिन्द्रका सनिश श्रेष्ठ बने उनले नगद दश हजार रुपैंयाँ प्राप्त गरे। विधागततर्फ चर्च व्वाइजका क्रिशल मोक्तान वेष्ट गोलकिपर, दिपेश गुरुङ वेष्ट मिडफिल्डर, मच्छिन्द्रका देबेन्द्र तामाङ वेष्ट डिफेन्डर, बिजु भुजेल वेष्ट फरवार्ड, फिदिम स्पोर्टिङ क्लवका मनिष क्षेत्री राइजिङ प्लेयर र चर्च व्वाइजका सुमन श्रेष्ठ वेष्ट कोच बने। उनीहरुले जनही दश हजार रुपैंयाँ प्राप्त गरे।

पुस ६ गतेदेखि सुरु भएको प्रतियोगितामा दश टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको आगामी संस्करणलाई थप व्यवस्थित बनाउदै लगिने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए।

चर्च व्वाइजका समीर सर्वोकृष्ट खेलाडी
११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चर्च व्वाइज युनाइटेड क्लवका समीर तामाङ घोषित भए। उनले एउटा इभि स्कुटर पाए। उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि बने। प्रतियोगितामा समीरको प्रदर्शनलाई धेरैले प्रशंसा गरेका थिए।

टिकट बिक्रबाट एकै दिन दश लाख ८९ हजार रुपैंयाँ संकलन
फाल्गुनन्द गोल्डकपको फाइनल खेलको दिन सोमबार एकैदिन टिकट बिक्रीबाट दश लाख ८९ हजार ८५० रुपैंयाँ संकलन भएको आयोजक फिदिम स्पोर्टिङ क्लवले जनाएको छ। प्रतियोगिताको यो नै एकैदिनमा सर्वाधिक धेरै टिकट बिक्री भएको दिन हो।