२ भदौ २०८२, तेह्रथुम। जिल्लाको लालिगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनले सिस्नोको खेती तथा प्रशोधन सुरु गरेको छ । खोल्सा खोल्सि, पाखा भित्ता र वनजंगलमा त्यसै खेर गइरहेको सिस्नोलाई आर्थिक आयआर्जनको माध्यम बनाउने उदेश्यले सिस्नोको खेती तथा प्रशोधन सुरु गरिएको चैते सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ ।
समूहले उपभोक्ताहरुको जनश्रमदानबाट वन क्षेत्रको एक हेक्टर क्षेत्रफलमा सिस्नो खेती लगाएको छ । आगामी दिनमा सिस्नो खेतीको क्षेत्रफल बढाउदै लाने लक्ष्य राखेको ममूहले पात्ले, अल्लो र घरायसी जातका सिस्नो रोपण गरेको हो । वर्षौंदेखि उपयोगबिहीन अवस्थामा रहेको सिस्नोलाई आयआर्जनको माध्यम बनाउन खेती सँगै प्रशोधन पनि सुरु गरिएको जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख समेत रहनुभएका, सिस्नो खेती तथा प्रशोधन अभियन्ता श्री प्रसाद कार्कीले बताए ।
गत असार महिनामा डिविजन वन कार्यालय तेह्रथुम मार्फत् चैते सामुदायिक वन उपभोक्ता समूहले अनुदानमा सिस्नो प्रशोधन मेशिन प्राप्त गरेको हो । हालः समूहले बसन्तपुर बजार नजिकैको डाँडाखर्कबाट सिस्नोको प्रशोधन सुरु गरेको छ । समूहले दश लाख रुपैंयाँ बराबरको ८० वटा जाली भएको सिस्नो सुकाउने डायर मेशिन, सुकाइएको सिस्नोलाई पिसेर पाउडर बनाउने मेशिन र प्याकेजिङ गर्ने मेशिन अनुदानमा प्राप्त गरेको छ । समूहले दुई क्विन्टल सिन्नोको पाउडर तयार गरिसकेको छ । यद्यपी उद्योग दर्ता प्रक्रियामा भने केही समस्या झेल्नुपरेको समूहका अध्यक्ष इन्द्र बहादुर खड्काले बताए ।
अध्यक्ष खड्काका अनुसार प्रशोधित सिस्नोको ल्याव टेष्ट गर्न जाँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विराटनगरले घरेलुमा दर्ता गरेर आउन भनेर फर्काएको थियो । त्यसपछि घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुम पुग्दा सामुदायिक वन उपभोक्ता समूहको नाममा यस प्रकृतिको उद्योग दर्ता गर्न नमिल्ने भनेपछि समस्या उत्पन्न भएको हो । डिविजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ लगायत अन्य सरोकारवालाको समन्वयमा हालः भने उद्योग दर्ता प्रक्रियामा देखिएको समस्या हल हुने अवस्थामा पुगेको अध्यक्ष खड्काले बताए ।
वि.सं. २०५२ सालमा दर्ता भएको सिस्ने सामुदायिक वनले सुरु गरेको सिस्नो प्रशोधन व्यवसायिक चरणमा प्रवेश गरेपछि त्यसै खेर गइरहेको सिस्नोले राम्रो मूख्य पाउनुका साथै स्थानीयले रोजगारी समेत प्राप्त गर्ने विश्वास गरिएको छ । चैते सामुदायिक वन उपभोक्ता समूहले स्थानीय स्तरमै सिस्नो प्रशोधन सुरु गरेपछि समूहका उपभोक्ता मात्र होइन अन्य स्थानीय समेत उत्साहित बनेका छन् ।