१८ कार्तिक २०८२, पाँचथर। फिदिममा एक हप्ते केलाःङ् (च्याब्रुङ नाच) प्रशिक्षण सञ्चालन भइरहेको छ। फिदिम नपा–४ गढी स्थित सुम्हात्लुङ परिषरमा प्रशिक्षण जारी रहेको हो।
याक्थुङ मुन्चइःत् चोक् सयङ, जिल्ला कार्य समिति पाँचथरको आयोजनामा प्रशिक्षण चलिरहेको हो। आइतबारदेखि सुरु भएको प्रशिक्षण शनिबारसम्म जारी रहने आयोजकले जनाएको छ। बिहान छ बजेदेखि आठ बजेसम्म चलिरहेको प्रशिक्षणमा ४५ जनाको सहभागिता रहेको याक्थुङ मुन्चइःत् चोक् सयङ पाँचथरका अध्यक्ष फुङ्सो जबेगुले बताए।
केलाःङ् प्रशिक्षणको सहजीकरण केलाःङ् साँस्कृतिक समाज पाँचथरका जोनहाङ केरुङ, सुरेन्द्र केरुङ, झरना खवास र दिपीका केरुङले गरिरहेका छन्। याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक नाच केलाःङ् अर्थात् च्याब्रुङ नाच विवाह कर्म, नयाँ घर सर्दा अन्य विभिन्न अवसरहरुमा नाचिन्छ।
युवा पुस्तामा केलाःङ् अर्थात् च्याब्रुङ नृत्युका विभिन्न किसिमका कला हस्तान्तरण गर्न तथा उनीहरुलाई केलाःङ्को साँस्कृतिक महत्व बुझाउन प्रशिक्षण आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष जबेगुले बताएका छन्।
