१८ कार्तिक २०८२, पाँचथर। उत्कृष्ट धान उत्पादक कृषकलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको फाल्गुनन्द गाउँपालिकाले यस वर्ष पनि उत्कृष्ट धान उत्पादक कृषकलाई निवेदन पेश गर्न सूचना जारी गरेको छ।
गाउँपालिकाले सोमबार सूचना जारी गर्दै सूचना प्रकाशित भएको सात दिनभित्र सम्बन्धीत वडा कार्यालयमा निवेदन पेश गर्न पालिकाभित्रका धान उत्पादक कृषकहरुलाई आह्वान गरेको छ। फाल्गुनन्द गाउँपालिकाको धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यविधि २०८० अनुसार कृषकहरुलाई उत्पादनको आधारमा प्रोत्साहनका लागि पुरस्कृत गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले बताए।
गाउँपालिकाले धान उत्पादक कृषकहरुको प्रोत्साहनका लागि कार्यविधि नै बनाएर हरेक वर्ष एक सय मुरी भन्दा बढी धान उत्पादन गर्ने कृषकलाई ५० हजार रुपैंयाँ र ५० देखि एक सय मुरीसम्म धान उत्पादन गर्ने कृषकलाई ३० हजार रुपैंयाँ पुरस्कार प्रदान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत तुम्बापोले बताए।
गाउँपालिकाको यो कार्यक्रमले फाल्गुनन्दका धान उत्पादक कृषकहरु उत्साहित बनेका छन्। यसबाट पालिकामा धान उत्पादनमा समेत बृद्धि भएको बताइएको छ।

