२५ कार्तिक २०८२, पाँचथर। समाज सुधारक, नेपालका राष्ट्रिय विभूति फाल्गुनन्दको १४१औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइदैछ।
विशेषतः किरात धर्मावलम्बीले फाल्गुनन्द जन्मजयन्तीलाई महत्वकासाथ मनाउछन्। उनीहरु फाल्गुनन्दलाई महागुरुको रुपमा पुकार्दछन्। फाल्गुनन्दले आफ्नो जीवनकालमा समाज सुधार एवम् भाषा, लिपीको प्रचारमा महत्वपूर्ण योगदान दिएका थिए। उनले विभिन्न स्थानमा माङ्हिमहरुको स्थापना गरेका थिए।
समाज सुधारको लागि फाल्गुनन्दले निर्माण गरेको सत्य धर्म मुचुल्कालाई एक महत्वपूर्ण दस्तावेजको रुपमा लिइन्छ। उक्त सत्य धर्म मुचुल्का वि.सं. १९८८ साल वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा तत्कालीन लिम्बुवान क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा जारी गरिएको थियो।
शान्ति, अहिंशा र मानव एकताका पक्षपाती फाल्गुनन्दको जन्म वि.सं. १९४२ साल कार्तिक २५ गते आजैका दिन इलामको चुक्चिनाम्बामा भएको थियो। वि.सं. २००५ सालमा दिवाङ्गत भएका फाल्गुनन्दलाई समाज सुधारको क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै वि.सं. २०६५ साल मंसिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।
फाल्गुनन्द जन्मजयन्तीको अवसरमा इलामको माङसेबुङ, पाँचथरको लब्रेकुटी, सिलौटी, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम लगायत देश–विदेशका विभिन्न स्थानहरुमा विविध कार्यक्रमको अयोजना गरिँदैछ।
