Advertisement Ad

त्यो प्रेमपत्र !

Advertisement Ad

– सन्देश सुब्बा

… जीवनको लामो राजमार्गमा अब
कृष्णभीर बनेर उभिएका छन्
तिम्रा यादहरु ।

समकालीन समयका सक्तिशाली कवि चन्द्रबीर तुम्बापोको प्रेम कविता ‘इन्द्रेणी साँझको अवशान’ कविताको इन्डिङ अंश हो, माथिका हरफहरु । आफ्नै कविताको अन्तिम अंशले भने जस्तै अब ‘वैंश’ र ‘प्रेमपत्र’ कवि चन्द्रबीरको यादहरुमा मात्र जीवित छ । जीवन र जगतलाई रङ्गवादी दर्शनशास्त्रको आँखाले हेर्न खोज्ने चन्द्रबीरले त्यतिबेला कविता लेख्न थालेकै थिएनन्, जतिबेला खुबै बान्कि मिलाएर प्रेमपत्र लेख्थे । गाउँभरीका तन्नेरीहरुको प्रेमीकाहरुका लागि प्रेमपत्र लेखिदिने लेखन्दास थिए उसबेला चन्द्रबीर । त्यसरी प्रेमपत्र लेख्दालेख्दै कविता लेख्न थालेका चन्द्रबीर भन्छन्, ‘साथीभाईको प्रेमपत्र लेखनले मलाई कवि बनायो ।’

हुन पनि त्यो त्यस्तै समय थियो । आफूले कुनै केटा वा केटीलाई मन पराएको कुरा भन्ने अरु माध्यम थिएन । कि त प्रत्यक्ष भेटेर प्रेम प्रस्ताव राख्नुपथ्र्यो, त्यस्तो साहस सबैमा हुन्नथ्यो सायद । नभए प्रेमपत्रको सहारा लिनै पथ्र्यो । आफूले मन पराएको मानिसलाई मनको कुरा राख्ने अनि मनको अन्तरकुन्तरका प्रेमील भावना व्यक्त गर्ने सजिलो माध्यम थियो– प्रेमपत्र । प्रेमपत्र लेख्नलाई सामान्यभन्दा आकर्षक किसिमको कागज बजारमा पाइन्थ्यो । अन्य सामान्य कागजमा लेखे पनि भइहाल्थ्यो । त्यसलाई लिफाले खामेर बाँयापट्टि प्रेषक र दायाँपट्टि प्रापकको स्पष्ट नाम, ठेगाना लेखेपछि बन्द लिफा हुलाक अफिस पुग्थ्यो । जुन डाक अर्थात् हुलाकी मार्फत् दुरी अनुसार केहि दिनमा निश्चित हुलाक अफिसमा पुग्थ्यो । त्यसपछि हल्कारा हुँदै सम्बन्धीत व्यक्तिको हातसम्म पुग्थ्यो– प्रेमपत्र ।

प्रेमपत्रमा अभिव्यक्त भएका शब्दहरुको सहायताले आफूले मन पराएको मान्छेको मन जित्ने प्रयास गर्थे त्यतिबेलाका युवा–युवती । आफूले मनमा राखेको मान्छेको हृदयसम्म पुग्न खुबै मिहेनत गरेर, सुन्दर अक्षरमा प्रेमपत्र लेख्ने त्यतिबेलाको प्रचलन अझै पनि सम्भिन्छन्, साहित्यकार प्रेम ओझा । ‘दिलकी रानी’, ‘हृदयेश्वरी’, ‘हृदयको राजा’, ‘मेरो मुटुको टुक्रा’, ‘आकाशभन्दा फराकिलो, सागरभन्दा गहीरो माया’ स्टाइलका शब्द–सम्बोधन सहित अरु मनका भावनाले भरिएका प्रेमपत्रले त्यसै हृदय पगाल्थ्यो । प्रेमपत्र व्यक्तिको सिर्जनशीलता बृद्धि गर्ने महत्वपूर्ण माध्यम भएकैले नेपाली साहित्यमा समेत यसको विशिष्ट स्थान रहँदै आएको साहित्यकार ओझा बताउछन् ।

प्रेमपत्र लेखेपछि महिनादिनसम्म प्रतिउत्तर पर्खेर बस्नुको छटपटिभित्र हुर्किरहेको प्रेमको पवित्रता प्रबिधिमैत्री प्रेमाभिव्यक्तिमा रमाउने अहिलेका पुस्ताले वास्तवमै हृदयदेखि अनुभूत गर्न गाह्रो हुने बताउछिन्, लेखिका अप्सरा लाओती । ‘आमाको चाहना’ र ‘लोजीमा’ दुई उपन्यासका लेखिका लाओतीको बिचारमा त्यतिबेला जस्तो हातैले लेखेर पठाइने प्रेमपत्रका शब्दहरुले दिने स्नेह, माया र आदरको अनुभूति प्रबिधिको सहायताबाट व्यक्त गरिने प्रेमको अभिव्यक्तिमा पाउनै सकिन्न । उनी भन्छिन्, ‘प्रेमपत्रमा प्रयोग हुने शब्द–शैली नै साह्रै मीठो भएर होला, सम्बन्धहरु पनि बलियो हुन्थे, चिट्ठी आदान–प्रदान हुनु पनि समय लाग्ने, त्यसले प्रेम सम्बन्धहरुलाई हुर्काउन पनि सहयोग पुग्थ्यो सायद !’

अहिले प्रबिधिको बिकास भएको छ । दुनियाँ डिजिटलाइज भएको छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, वाड्सएप, इमो जस्ता सामाजिक सञ्जाल युवा–युवतीको हात–हातमा उपलब्ध छ । यसले प्रेम अभिव्यक्तिलाई सहज बनाइदिएको छ, र उसरी नै जटिल पनि बनाउदै लगेको छ । प्रबिधिको सहजताले एकले अर्कालाई ब्ल्याकमेल गर्ने जस्ता बिकृतिहरु भित्रिदै गएकोप्रति चिन्ता व्यक्त गर्छन, साहित्यकार ओझा । उनी भन्छन्, ‘प्रबिधिले मानिसको प्रेम गर्ने मन र मुटुलाई कठोर बनाउदै लगेको प्रतीत हुन्छ ।’

प्रेम दुनियाँको एकमात्र त्यस्तो शाश्वत वस्तु हो, जसको पवित्रता र अपार शक्तिसँग संसारको कुनै वस्तुको पनि तुलना गर्न सकिन्न । तर, प्रबिधिको सहजताले प्रेमलाई कमसल बनाउदै लगेको पत्रकार गणेश साम्पाङ बताउछन् । अहिलेको पुस्ता प्रेममा तत्काल रेस्पोन्स चाहान्छ । अहिले कतिबेला सम्बन्ध बन्ने र कतिबेला भत्किने भन्ने नै टुङ्गो हुँदैन । यो प्रवृत्तिले प्रेमको वास्तविक मर्म र मूल्यलाई कमजोर बनाउदै लगेको र यो निकै दुःखद अवस्था हो ।

प्रबिधिको तिब्र बिकासले छोंटो समयमै प्रेमपत्रलाई एकादेशको कथा जस्तै बनाइदिएको छ । प्रबिधिमैत्री प्रेमाभिव्यक्तिमा रमाइरहेका कतिलाई त प्रेमपत्रबारे थाहा पनि नहुन सक्छ । अहिले सामाजिक सञ्जालमार्फत प्रेम प्रस्ताव गर्ने, ओके भयो भने ठिकै छ, नत्र वालै फरर भन्ने युवा पुस्ता रमाइरहेको डिजिटल दुनियाँमा आफूलाई जबरजस्त अभ्यस्त गराइरहेका त्यो पुस्ता, जसले प्रेमपत्रको जमाना बाँचेर आयो, त्यो पुस्ता त अझै पनि सम्झिन्छ– आहा, त्यो प्रेमपत्र !