Advertisement Ad

फालेलुङको चाररातेमा लाग्ने चौँरी महोत्सवको सातौं संस्करण चैत ३० देखि

Advertisement Ad

२४ चैत, २०८० पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका -४ चाररातेमा लाग्दै आएको चौरी महोत्सवको सातौं संस्करण चैत ३० गतेदेखि सुरु हुने भएको छ ।

नयाँ वर्षको अवसरमा लगाइने महोत्सवको बारेमा शुक्रवार सदरमुकाम फिदिममा पत्रकार सम्मेल गरि जानकारी दिइएको हो। चैत ३० गतेदेखि सुरु हुने महोत्सव तीन दिनसम्म  लाग्ने आयोजक समितीले जनाएको छ । फालेलुङ गाँउपालिका मूख्य आयोजक रहेको उक्त महोत्सव सम्पन्न गर्न फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रबर्द्वन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजंघा चौँरीपालक तथा संरक्षण संस्था आयोजकको रुपमा रहेका छन् ।

उक्त अवसरमा पर्यटन र सञ्चार सम्बन्धि अन्तरक्रिया गर्ने तयारी छ । झाँकी प्रदर्शन, याक नृत्य, चौँरीसँग सम्बन्धित खेल प्रदर्शन, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दोहोरी प्रतियोगिता, उत्कृष्ठ पर्यावरण संरक्षण सम्मान कार्यक्रम र साहसिक फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने तयारी छ । उक्त अवसरमा ६ सय चौँरीहरु प्रदर्शन गर्ने फालेलुङ गाँउपालिकाका अध्यक्ष वीर बिक्रम थाम्सुहाङले जानकारी दिए ।
नेपालको फालेलुङ गाँउपालिका र भारतको वेष्ट बंगालसहित सिक्किमको सिमानामा रहेको चाररातेमा महोत्सव गर्न लागिएको हो । चौँरी संस्कृतिलाई संरक्षण गर्न महोत्सवको आयोजना गरिएको थाम्सुहाङले बताए । ‘चौँरी उच्च पहाडको सौन्दर्य मात्र नभएर सम्पती पनि हो,’ थाम्सुहाङले भने ‘चौँरीको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व ठानेर महोत्सवको तयारी गरिएको हो ।’

यस क्षेत्रमा दर्जनौ चौँरी गोठहरु छन् । महोत्सवले यहाँको पर्यटनको सम्भावनालाई माथि उठाउने बिश्वास गरिएको छ । बिगतका महोत्सवहरुकै कारण यस क्षेत्रमा पर्यटकहरुको चाप बढेको आयोजक संस्था दीप ज्योति क्बलका कार्यकारी निर्देशक सुनिल बान्तवाले दावी गरे । बस्तिविहिन जंगली क्षेत्रमा आयोजना गरिने माहोत्सवमा आन्तरिक र बाह्य गरी १० हजार पर्यटकलाई सहभागि गराउने आयोजकको तयारी छ ।

पाँचथर सहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा काठमाण्डौ, भारतको सिक्किम र दार्जिलिङका पर्यटन व्यवसायी र सर्वसाधारणले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको हो । महोत्सवमा चौरीको दुधबाट बनाइएका परिकारहरु, चौंरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाईने जडिबुटि तथा कृषिजन्य बस्तुको स्टलहरु राख्ने तयारी छ । नौ लाखको अनुमानित लागतमा महोत्सव सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ ।