Advertisement Ad

मुन्धुममा वर्णित पाँचथरका ‘पाँच’ स्थल

Advertisement Ad

सन्देश सुब्बा

५ वैशाख २०८१, पाँचथर। मौलिक नाम ‘पान्थर’ बाट अप्रभंसित भएर बनेको पाँचथर सुदूरपूर्वको पहाडी जिल्ला हो । १२४१ वर्गकिलोमिटरमा फैलिएको पाँचथर भौगोलिक भू–बनावटसँगै सामाजिक, साँस्कृतिक रुपमा विविधताले युक्त छ । २६.२८ देखि २६.५९ उत्तरी अक्षांस र ८०.०२ देखि ८७.३० पूर्वी देशान्तरमा अवस्थित पाँचथर समुन्द्री सतहबाट ६०९ मिटर, तमोर बगरदेखि ४३३८ मिटर (फलैंचा चुचुरो) सम्म फैलिएको पाँचथरको पहिचान इन्द्रेणी कलरको छ ।

पाँचथरमा विभिन्न जाति, भाषा र धर्म छन् । विभिन्न लोक विश्वास, लोक परम्परा, कला र संस्कृति छन् । पाँचथरको भूगोलमा बेसी, मध्यपहाड र उच्च पहाड पनि छ । थुप्रै खोलानाला, तालतलैया र डाँडाकाँडाले सजिएको छ, पाँचथर । थुप्रै यूगपूरुष र अग्रजहरुको सत्कर्म र योगदानले छपक्कै भिजेको छ, पाँचथरको माटो । यहिं विविधताभित्र पाँचथरको सुन्दरता प्रतिबिम्बित भएको छ ।

इतिहासको पल्लो किरात लिम्बुवान अन्तर्गत पर्ने पाँचथर याक्थुङ (लिम्बू) जातिको सघन बसोबास भएको जिल्ला हो । त्यसैले पाँचथर याक्थुङ सभ्यता र मुन्धुमको उद्गमस्थल पनि हो । मुन्धुम याक्थुङ (लिम्बू) जातिको धर्मशास्त्र हो । याक्थुङ (लिम्बू) जातिले मुन्धुमलाई जीवन दर्शन अनि समाज परिचायकको रुपमा लिन्छन् । मुन्धुममा जीवन र समाजलाई गति दिने क्रममा पूर्खाहरुले प्राप्त गरेका अथाह ज्ञान मीमांसा संग्रहीत छन् ।

मुन्धुमका अनेक हाँगा छन्, अनेक पाटा छन् । बृहत् नेपाली शब्दकोषले मुन्धुमलाई ‘किराँतहरुको धर्मशास्त्र ..’ भनेर अथ्र्याएको छ । आफूलाई किराँती भनेर चिनाउने याक्थुङ (लिम्बू) जातिले मुन्धुम, राईले मुन्दुम, सुनुवारले मुग्दुम र याक्खाले मुन्तुम भन्दै आएका छन् । राईभित्रका वान्तावा बाहेक अन्यभाषीले आ–आफ्नो भाषिक भेदअनुसार मुन्धुमलाई फरक नामले समेत पुकार्ने गरेका छन् । यद्यपी मुन्धुमको सारतत्व भने एउटै हो ।

श्रृतिपरम्परामा आधारित मुन्धुमलाई लिपीबद्ध गर्ने काम याक्थुङ (लिम्बू) समुदायमा इमानसिं चेम्जोङबाट सुरु भएर बैरागी काइँलाबाट महत्वपूर्ण काम भएको पाइन्छ । मुन्धुमबारे छुट्टै विमर्श आवस्यक छ ।

यहाँ भने मुन्धुममा वर्णित पूर्वी पहाड पाँचथरका ‘पाँच’ महत्वपूर्ण स्थलबारे चर्चा गरिएको छ–

याङवरक
याङवरक उत्तरपूर्वी पाँचथरको याङवरक गाउँपालिका–४, थुर्पमा अवस्थित महत्वपूर्ण मुन्धुमी स्थल हो । याक्थुङ (लिम्बू) जातिले ‘युमा?’लाई आराध्यदेवीको रुपमा पुज्दछन् । सर्वशक्तिमान्, निराकार देवीको रुपमा पुकार्दछन् । उनै युमा? कहिले तरुणवयमा त कहिले बृद्धा स्त्रीमानवको रुप लिएर विभिन्न स्थानहरुमा प्रकट भई मानवजातिलाई ज्ञान, सिप, बुद्धि, विवेक दिएको प्रशंग मुन्धुममा वर्णित छ ।

मुन्धुममा वर्णन गरिए अनुसार युमा? डाँडापाखा, रनवन र पहाडपर्वतहरुमा घुम्दै आउँदा अहिलेको याङवरकमा आइपुगिन् । यस ठाउँमा पुगेपछि आफ्नो थुन्चे बिसाएर एकछिन सुस्ताइन् । र, यहाँको दबदबे हिलो सहितको पानीमा पैशा (सिक्का) हालिन् र अलप भइन् । त्यसैले यस ठाउँलाई याङवरक भनिएको हो । याक्थुङ (लिम्बू) भाषामा ‘याङ’ को अर्थ ‘पैशा’ र ‘वरक’ को अर्थ ‘पोखरी’ भन्ने हुन्छ ।

याङवरक मुन्धुममा वर्णित महत्वपूर्ण पोखरी हो । अहिले पनि यस पोखरीमा बाहै्रमास पवित्र पानी उम्रिन्छ । यहाँ पोखरीसँगै माङ्युक्ना (देवस्थल) पनि छ । याङवरकमा याङ् (पैशा) चढाउदा आफ्नो मनोकांक्षा पूरा हुने मुन्धुमी विश्वास छ । त्यसैले याङवरक पुग्ने तीर्थालु पोखरीमा पवित्र मनले पैशा चढाउछन् । याङवरकमा दैवीशक्ति छ भन्ने जनविश्वास छ । मुलुकको संघीय राज्य पुनर्संचना गर्ने क्रममा यहिं मुन्धुमी स्थल याङवरककै नामबाट पालिकाको नामकरण गरिएको छ ।

यहाँ निशानथान पनि छ । हरेक बर्ष दशैंको महानवमीको दिन यहाँ ठूलो मेला लाग्छ । निशान मेलाको नामले परिचित उक्त मेलामा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले लिम्बुवानलाई दिएका ‘श्रीजंगी’ र ‘श्रीकंफु’ नामका दुई निशान नचाइन्छ । याङवरकका सुब्बाहरुले २४९ वर्षदेखि उक्त निशान नचाउदै आएका छन् । निशान हेर्न बडादशैंको महानवमीको दिन यहाँ दशौं हजार मानिस जम्मा हुन्छन् ।

याङवरक । तस्बिर– भवानी तावा

कुम्मायक–कुस्सायक
कुम्मायक–कुस्सायक मुन्धुममा वर्णित महत्वपूर्ण स्थल हुन् । यी स्थान दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोकमा अवस्थित छन् । कुम्मायक र कुस्सायक दुई छुट्टाछुट्टै सुन्दर टापुहरु हुन् । यी दुबै स्थलमा माङ्हिम (देवस्थल) निर्माण गरिएका छन् । कुम्मायक मूल देवस्थल हो भने कुस्सायक कुम्मायकको सहायक देवस्थल हो ।

यसको उत्पतीको कथा पनि युमा? प्रकट भएकै प्रशंगसँग जोडिन्छ । मुन्धुम अनुसार उहिल्यै माबोहाङ राजाले यो क्षेत्रमा राजकाज चलाएर बसेका थिए । उनी आफ्ना कुकुरहरुसँग टाढा–टाढासम्म शिकार खेल्न जान्थे । यसै क्रममा एकदिन जङ्गलमा भेटिएको एउटा मृगलाई कुकुरहरुले लखेट्न थाले । राजा माबोहाङले पनि हातहतियार सहित आफ्ना कुकुरहरुसँगै शिकार लखेट्न थाले ।

त्यति नै बेला राजा माबोहाङले नजिकै कतै केहि खसेको जस्तो अनौंठो आवाज सुन्यो । असामान्य आवाज सुनेर हेर्दा नजिकै गुराँसको फेदमा गरगहनाले सजिएकी एक परम सुन्दरी युवती देखा परिन् । थुन्चे बिसाएर तान बुनिरहेकी ती युवतीको वरिपरि सुनचाँदीको थोलीसँगै कपाल कोर्ने थाक्रा पनि राजा माबोहाङले देख्यो । राजा माबोहाङ आश्चर्यचकित भए ।

राजा माबोहाङले ती सामान्य युवती नभएर दैवीशक्तिले आफूलाई दर्शन दिएको ठान्यो । नुहाइधुवाई गरेर दीयो, कलश, धुपपाती र फूल लिएर ती युवतीलाई भेट्न गयो, सेवा र आदरभाव प्रकट ग¥यो । उनीहरुबीच संवाद समेत भयो । राती राजा माबोहाङको शरीरमा युमा? साम्माङ अवतरित भयो । दिउँसो शिकार खेल्दा भेटिएकी सुन्दरी युवती युमा? माङ् भएको कुरा राजा माबोहाङले बक्यो । त्यसपछि राजा माबोहाङ अझ प्रतापी र शक्तिशाली बने । यसरी युमा? प्रकट भएको त्यहिं ठाउँ कुम्मायक हो ।

यहाँ प्रत्येक तीन–तीन बर्षमा ‘तङ्सुम तङ्नाम त्रिशाली पूजा तथा मेला’ लाग्छ । सो अवशरमा नेपालका विभिन्न जिल्लासँगै भारतको सिक्किम–दार्जिलिङ, भूटान र बर्मासम्मका श्रदालु कुम्मायक–कुस्सायक पुगेर युमा? माङ्को दर्शन साथै पूजा, आराधना गर्छन् । युमा? प्रकट भएको यहिं पवित्रस्थलको नामबाट गाउँपालिकाको नाम पनि ‘कुम्मायक’ राखिएको हो । पछिल्लो समय गाउँपालिकाले संघ र प्रदेश सरकारसँग समेत समन्वय गरेर कुम्मायक–कुस्सायकको पर्यटन प्रबद्र्धनको काम अघि बढाएको छ ।

कुम्मायक । तस्बिर– मदन थापा

सेहो?नाम्लाङ
नाम्सामी–केसामी मुन्धुममा सेहो?नाम्लाङको प्रशंग आउछ । सेहो?नाम्लाङ दक्षिणी पाँचथरको फाल्गुनन्द, कुम्मायक र मिक्लाजुङ तीन गाउँपालिकाको संगमस्थलमा अवस्थित प्रशिद्ध मुन्धुमी स्थल हो । सेहो?नाम्लाङलाई खस पर्वते भाषामा ‘छालासुकुवा’ पनि भन्ने गरेको पाइन्छ । सेहो?नाम्लाङको कथा पशु र मानवबीचको द्वन्द्वमा मानवीय विवेकले विजय प्राप्त गरेको मुन्धुमी मिथ हो ।

मुन्धुममा वर्णित कथा अनुसार तीर्खाले व्याकुल बनेकी तिगेन्जङ्नाले ढुङ्गाको खोपिल्टोमा जम्मा भएको पानी पिएर प्यास मेटिन् । तर, त्यो पानी नभएर बाघ र मान्छेको पिसाब थियो । त्यो पिएपछि तिगेन्जङ्ना गर्भवती भइन् । पछि उनको कोखबाट जुम्ल्याहा छोराहरुको जन्म भयो । जुम्ल्याहा छोराहरुमध्ये एउटा बाघ र अर्को मान्छे जन्मियो । बाघ छोराको नाम ‘केसामी’ र मान्छे छोराको नाम ‘नामसामी’ राखियो । सानोमा दाजु केसामी र भाई नामसामी खुब मिल्थे । तर, जब हुर्किए र वयस्क बने, उनीहरुबीच बेमेल बढ्न थाल्यो ।

केसामी हिंस्रक बन्दै गयो । उसले भाई नाम्सामीलाई मारेर खान्छु भन्न थाल्यो । केसामीबाट भाई नाम्सामीलाई बचाउदा आमा तिजेन्जङ्ना आजीत बनिसकेकी थिइन् । पशु केसामीले भाई नामसामीलाई खान नपाए आमा तिगेन्जङनालाई नै खान्छु भन्न थाल्यो । एकदिन तिगेन्जङनाले नाम्सामीलाई यो कुरा सुनायो । तब, नामसामी दाजु केसामीसँग युद्ध लड्ने तयारीमा लाग्यो । उसले धनुकाँड तयार ग¥यो । र, नौतले सिमलको रुखको नवौं तलामाथि बसेर दाजु केसामीसँग युद्ध लड्ने निश्चित गर्यो। सधैं ढाँट्ने आमालाई आज केसामीलाई सहि ठाउँमा पठाइदिन अनुरोध गर्यो । तिगेन्जङनाले पनि त्यसै गरिन् ।

तब केसामी र नाम्सामीबीच पङ्वादेनमा भयानक युद्ध भयो । नाम्सामीले सिमलको रुखको नौतलामाथिबाट केसामीलाई धनुवाण प्रहार गर्न थाल्यो । केसामी पनि धनुवाण छल्दै भाईलाई खान सिमलको रुखमाथि उक्लिन थाल्यो । केसामी वाण छल्दै आठ तला माथि उक्लियो । नामसामीलाई खान अन्तिम एक तला उक्लिन बाँकि थियो । उता नामसामीसँग पनि अन्तिम एउटा मात्र वाण बाँकि रह्यो । तब उसले आत्मसमर्पण गरेको नाटक गरेर भन्यो– ‘‘लु दाजु ! तपाईंले जित्नुभयो, मैंले हारें । आँखा चिम्म गरेर मुख आँ गर्नुहोस, म आफैं तपाईंको मुखमा उफ्रेर पस्छु ।’’

पशु केसामीले साँच्चै पत्याएर आँखा चिम्म गरी मुख आँ पारेर बस्यो । यहिं मौका छोपेर नामसामीले बाँकि रहेको एउटा वाण केसामीको मुखैमा जोडले प्रहार ग¥यो । नाम्सामीको वाणले केसामी सिमलको रुखको एकापट्टीको सबै हाँगा लाछ्दै भुईंमा बज्रियो । भनिन्छ, त्यसैले सिमलको रुखको एकापट्टी हाँगा हुँदैन ।

त्यसपछि नाम्सामीले केसामीको छाला उक्काएर पहाड, पर्वत र हिमालसम्म लगेर सुकायो । तर कतै सुकेन । अन्त्यमा सेहो?नाम्लाङ डाँडामा ल्याएर सुकाउदा मात्र सुकेको कथन छ । छाला सुकाएको भनिएको ठाउँमा आजसम्म पनि कुनै वनस्पती र झारपात उम्रिएको छैन । यहिं ठाउँ नै सेहो?नाम्लाङ हो । मुन्धुममा वर्णित सेहो?नाम्लाङ पशु बुद्धिमाथि मानव विवेकको विजयको प्रतीक हो । पर्याप्त प्रचार–प्रसार र प्रबद्र्धनको अभावमा सेहो?नाम्लाङ आज पनि ओझेलमा छ । यसको पर्यटन प्रबद्र्धनको लागि हालै सेहा?नाम्लाङ महोत्सव आयोजना सम्पन्न भएको छ ।

सेहो?नाम्लाङ । तस्विर– भवानी तावा

फुङसेन
फुङसेन दक्षिणी पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ सराङमा पर्दछ । मुन्धुममा फुङसेनको विशिष्ट स्थान छ । मुन्धुममा बडो रोमाञ्चक ढंगले फुङसेनको चर्चा हुन्छ ।

केसामी–नाम्सामी मुन्धुममा तिगेन्जङनाका जुम्ल्याहा छोरा केसामी (बाघ) र नाम्सामी (मानव) बीच युद्ध हुन्छ । पङ्वादेन भन्ने ठाउँमा उनीहरु युद्ध लड्छन् । आमा तिगेन्जङनाले छोराहरुको विजय–पराजय थाहा पाउन फुङसेनमा दुई छोराहरुको प्रतीक अलग–अगल फूल राखेर तान बुन्दै, फूल हेर्दै बस्छिन् । तिगेन्जङनाले छोराहरुको विजय–पराजय छुट्याउन केसामी (बाघ) को प्रतीक स्वरुप अन्दङ फूङ् (बाबरी फूल) र नाम्सामी (मान्छे) को प्रतीक स्वरुप सेक्मुरी फुङ् (सिल्लरी फूल) राख्छिन् ।

उता केसामी र नाम्सामीबीच घमासान युद्ध सुरु हुन्छ । तिगेन्जङना तान बुन्दै फूल हेर्दे बस्छिन् । सिमलको रुखको नौ तलामाथिबाट धनुवाणले आक्रमण सुरु गरेका नाम्सामी पराजयको नजिक पुग्छ । यता, तिगेन्जङनाले राखेको फूलमध्ये सेक्मुरी फूल क्रशमः ओइलाउदै ओइलाउदै जान्छ र अन्दङ फूल जागेर आउछ । तिगेन्जङनालाई दुबै छोराप्रति उत्तिकै माया भए पनि नाम्सामी (मान्छे)ले युद्ध हार्न लाग्दा दुःखी बन्छिन् । तर, अन्त्यमा एकाएक अन्दङ फूल मुर्झाउछ र सेक्मुरी फूल जागेर आउछ । मुर्झाएको अन्दङ फूल फेरि जाग्दैन ।

यसरी तिगेन्जङनाले दुई छोरामध्ये केसामी पराजीत भएको र नाम्सामीले युद्ध जितेको थाहा पाउछिन् । तिगेन्जङनाले यसरी जीवन र मृत्युको प्रतीक अलग–अलग फूल राखेर तान बुन्दै हेरेको ठाउँ हो, फुङसेन । याक्थुङ (लिम्बू) भाषामा ‘फुङ्’ भनेको ‘फूल’ र ‘सेन्’ भनेका ‘छुट्याउनु÷पहिचान गर्नु’ हो । आज पनि याक्थुङ (लिम्बू) समाजमा अन्दङ (बाबरी) फूललाई अशुभ र मृत्युको प्रतीक मानिन्छ भने सेक्मुरी (सिल्लरी) फूललाई शुभ र जीवनको प्रतीक मानिन्छ ।

फुङसेनमा हरेक बर्ष चण्डिपूर्णिमाको दिन ठूलो मेला लाग्छ । फुङसेन मेला पूर्वकै पुरानो र चर्चित मेलामध्ये एक हो । पहिले–पहिले पान्थरे र चारखोलेहरु चिट्ठी लेखालेख गरेर फुङसेन मेलामा फौदारी खेल्थे रे । प्राकृतिक सुन्दरताको हिसाबले अत्यन्तै रमणीय छ, फुङसेन । स्वच्छ र कञ्चन हावापानी, सुन्दर नागी चउर र जङ्गलमाँझ रहेको फुङसेनलाई मुन्धुमिक पर्यटकीयस्थलको रुपमा बिकास गर्नु उपयुक्त हुनेछ ।

फुङसेन । तस्बिर– भवानी तावा

सुम्हात्लुङ
पाँचथर सदरमुकाम फिदिम बजार नजिकै रहेको सुम्हात्लुङ मुन्धुमी स्थल मात्र नभएर लिम्बुवान नामकरणसँग जोडिएको महत्वपूर्ण ऐतिहासिकस्थल पनि हो । सुम्हात्लुङलाई मुन्धुमी भाषामा ‘सुम्जिरी सुम्हात्लुङ’ भन्ने गरिन्छ । सुम्हात्लुङको प्रशंग याक्थुङ (लिम्बू) समुदायले गर्ने सबैभन्दा ठूलो सामूहिक अनुष्ठान तङ्सिङ तक्मा गर्दा आउछ ।

याक्थुङ (लिम्बू) अन्तर्गत पापोहाङभित्रका थरीहरु तुम्बापो, तुम्रोक, शेर्मा, आङदेम्बे, लाओती, इङ्वाबा, कुगेनाम्बाले आफ्नो माङ्गेन्ना यक्को रुपमा सुम्हात्लुङलाई पुज्दछन् । याक्थुङ (लिम्बू) समाजमा व्यक्तिको नाममा गरिने सबैभन्दा ठूलो अनुष्ठान माङ्गेन्ना (शीर उठाउनी) गर्दा यी थरीहरुले सुम्हात्लुङको नाम दिनैपर्छ । अन्य धेरै आख्यानहरुमा समेत सुम्हात्लुङको प्रशंग आउछ ।

इतिहास अनुसार ईशाको छैठौं शताब्दीताका हालको पूर्वी नेपालमा पेदाप राज्य अस्तित्वमा थियो । फेदाप राज्यमा येत्हाङ (आठ राजा) हरुले शासन गर्थे । शासनसत्ता सञ्चालनको क्रममा उनीहरु निरङ्कुश बन्दै गए । येत्हाङहरुको निरङ्कुशता विरुद्ध यहिं सुम्हात्लुङमा चुम्लुङ (बैठक) बसेर दश सरदारहरुले युद्ध छेड्ने उद्घोष गरेका थिए ।

तीनतीर तीनठाउँ तीन वटा आँपको रुख रोपे । तीन चुल्हो ढुङ्गा गाडेर देवस्थल स्थापना गरे । वल र शक्ति माँगे । प्रजाप्रति अनुदार र निर्दयी बनेका येत्हाङहरुलाई परास्त नगरी कोहि पनि रणसंग्रामबाट नफर्किने कसम खाए । अन्ततः उनीहरुले विजय प्राप्त गरे । त्यसपछि फेरि यहिं सुम्हात्लुङमा चुम्लुङ बसेर धनुकाणको मद्धतले विजय प्राप्त गरेको देशलाई (लि? आबुआङ् मिङ् वान्दु) ‘लिम्बुवान’ नामकरण गरेको इतिहास छ ।

मुन्धुमिक तथा ऐतिहासिक महत्वको सुम्हात्लुङलाई मुन्धुम तथा इतिहासको अध्ययन केन्द्रको रुपमा बिकास गर्न सकिन्छ ।

सुम्हात्लुङ । तस्बिर– भवानी तावा