१९ भदौ २०८१, पाँचथर। निजामती कर्मचारी यूनियन पाँचथरले फिदिम–२ ओदिनस्थित आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
यूनियनको २४औं स्थापना दिवसको अवसरमा यूनियनले बुधबार २० हजार मूल्य बराबरको १४ सेट न्यायो कपडा (ट्रयाक सुट) वितरण गरेको हो । सरकारी सेवा प्रवाहसँगै समाज सेवा पनि आफूहरुको कर्तव्य सम्झेर कपडा वितरण गरिएको यूनियन पाँचथरका अध्यक्ष लक्ष्मी बाँस्कोटाले बताए ।
नेपाली काँग्रेस पाँचथरका सभापति रुपनारायण जवेगुको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमकाबीच कपडा वितरण गरिएको थियो । सभापति जवेगुले नमूना शिक्षा प्रदान गरेर उत्कृष्ठ विद्यार्थी उत्पादन गर्नमा विद्यालयलाई सफलता मिलोस भन्ने शुभकामना व्यक्त गरे ।
कपडा वितरण कार्यक्रममा यूनियनका सुजन बाँस्कोटा, विनय रम्तेलका साथै अभिभावक रामचन्द्र नेपाल, विरबहादुर लिम्बू, जयप्रसाद तुम्बापो लगायतको उपस्थिती थियो । कपडा प्रदान गरेर सहयोग पर्याउने यूनियनप्रति विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवि तुम्बापोले धन्यवाद व्यक्त गरे ।
उक्त आवासीय कक्षामा विभिन्न ठाउँका २० जना अनाथ असहाय बालबालिका अध्ययनरत रहेका आवासीय कक्षा सञ्चालन समितिका अध्यक्ष गंगा इङ्वा लिम्बूले बताए ।