Advertisement Ad

पाँचथर बाढीपहिरो अपडेटः ५ जनाको मृत्यु ६ जना बेपत्ता

Advertisement Ad

१२ असोज २०८१, पाँचथर। अबिरल बर्षासँगै आएको बाढीपहिरोका कारण पाँचथरमा शनिबार दिउँसो सवा एक बजेसम्ममा ५ जनाको मृत्यु भएको छ। ६ जना बेपत्ता भएका छन्।

मृत्यु हुनेमा २४ बर्षीया सपना शेर्पा, उनकी ६ बर्षीया छोरी डोल्मा शेर्पा र ५० बर्षीय गोपी विश्वकर्मा रहेका छन्। सपना र डोल्माको फिदिम–४ चिसापानीमा पहिरोले घर पुरिंदा घटनास्थलमै मृत्यु भएको थियो। विश्वकर्माको पनि फिदिम–१ दुमामा घर पुरिएरै मृत्यु भएको हो। त्यस्तै पहिरोमा परि फिदिम–८ शेर्पा टोलकी ८२ बर्षीया पास्तेम्बा शेर्पा र फिदिम–२ मजिटेकी ३८ बर्षीया रञ्जना राईको पनि मृत्यु भएको छ।

फेमोखोला स्थित हाइड्रोमा काम गर्ने गोपी विश्वकर्मा लगायत ६ जना खोलामा पानीको बहाब बढेपछि केही मास्तिरको एक घरमा आएर बसेका थिए। त्यतिबेलै पहिरोले घर बगाउँदा विश्वकर्माको मृत्यु भएको हो। उनी फिदिमबाट सञ्चालित इगल एफएममा कार्यरत पत्रकार चिरञ्जीवी विश्वकर्माका बाबु हुन्।

गोपी सँगै घरमा बसेका फिदिम-१ का २१ बर्षीय धनकुमार तुम्बापो, २१ बर्षीय सरस्ता तुम्बापो, राजेश तुम्बापो, ५१ बर्षीय कृष्ण दास र ४१ बर्षीय कमला दास पहिरोले घर पुरिंदा बेपत्ता भएका छन्। त्यस्तै जिल्लाको फालेलुङ गाउँपालिका–५ की ३६ बर्षीया कमला राईलाई स्थानीय तारेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएकी छिन्। बेपत्ताहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए।

अबिरल बर्षासँगै आएको बाढीले मेची राजमार्ग अन्तर्गत पाँचथरस्थित हेंवाखोलाको बेलिब्रिज, फिदिम–फालोट सडक अन्तर्गत फेमे खोलाबो मोटरेवाल पुल र जिल्लाको फालेलुङ ५ र ६ जोड्ने पक्कि पुल पनि बगाएको छ।

पाँचथरमा धेरै भारी बर्षा राकिएको छैन। पछिल्लो २४ घन्टामा पाँचथर सदरमुकाम फिदिममा १७२ मिलिमिटर बर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।