Advertisement Ad

लब्रेकुटीमा फाल्गुनन्द जन्मजयन्ती समारोह साथै हाफ म्याराथन प्रतियोगिता हुँदै

Advertisement Ad

इवारा जबेगु लिम्बू

२३ कार्तिक २०८१, पाँचथर। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्तीको अवसरमा कात्तिक २५ गते आइतबार फिदिम नगरपालिका–५ लव्रेकुटीमा जन्मजयन्ती समारोह साथै हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।

किरात साङ्सेन वरक् चोत्लुङ माङ्हिम लब्रेकुटी र किरात धर्म तथा साहित्य उत्थान संघ पान्थरको आयोजनामा लब्रेकुटीमा पूजाआजा सँगै जन्मजयन्ती समारोह हुने भएको हो। लब्रेकुटी महागुरु फाल्गुनन्दको पावन कर्मभूमी हो। लब्रेकुटीमा वर्षेनी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ। यसै क्रममा यस वर्ष पनि पूजाआजा साथै अन्य विविध कार्यक्रम सहित जन्मजयन्ती मनाउन लागिएको किरात धर्म तथा साहित्य उत्थान संघ, पान्थरका अध्यक्ष ध्रुव तुम्बापोले बताए।

कार्यक्रममा महागुरु फाल्गुनन्दसँग सम्बन्धीत विभिन्न दुर्लभ वस्तुहरुको दर्शन, पुस्तक विमोचन तथा शुभकामना आदान–प्रदान र दीप प्रज्ज्वलन गरिने किरात साङ्सेन वरक् चोत्लुङ माङ्हिमका सचिव सुवास तुम्बापो ‘काङसोरे’ले जानकारी दिए।

त्यस्तै १४० औँ महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसरमा खुल्ला पूरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता पनि हुने भएको छ। प्रतियोगिता कार्तिक २५ गते बिहान ९ बजे सुरु हुनेछ । पूरुषतर्फ २१ किलोमिटर र महिलातर्फ ५ किलोमिटर म्याराथन हुने एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पुर्णहाङ तुम्बापो (रेन्जो)ले बताए।

प्रतियोगितामा पूरुषतर्फको प्रथम, द्वितीय र त्रितीय हुनेले त्रमशः नगद रु.३० हजार, नगद रु.२० हजार र नगद रु.१० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै गर्दा महिलातर्फको प्रथम हुनेले नगद रु.१० हजार, द्वितीयले नगद रु.पाँच हजार र त्रितीयले नगद रु.तीन हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा टप टेनसम्म पुग्ने धावक धाविकालाई पनि पुरस्कृत गरिने र सहभागि सबैलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।