Advertisement Ad

लेगुवामा एमाले अध्यक्ष ओलीलाई आक्रमण प्रयास गर्ने महेश राई प्रहरी नियन्त्रणमा

Advertisement Ad

२८ मंसिर २०८०, धनकुटा। बिहीबार धनकुटाको लेगुवास्थित रामबजारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेकपा एमालेले पुष १४ देखि सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा भोजपुरबाट धनकुटा प्रवेश गरेका ओलीमाथि आक्रमण प्रयास गर्ने स्थानीय महेश राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरिक्षक राजबाबु महर्जनले बताए।

अध्यक्ष ओली सहितको संकल्प यात्राको टोली बिहीबार करीब १२ बजे भोजपुरबाट धनकुटा प्रवेश गरेको थियो। लेगुवास्थित रामबजारमा अध्यक्ष ओलीलाई स्वागत गर्ने लाइनमा बसेका राईले पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई झापड हान्न खोजेका थिए।

अध्यक्ष ओली सहितको संकल्प यात्राको टोली भने लेगुवाबाट पाख्रीबास, हिले, जोरपाटी र सिधुवामा आयोजित कार्यक्रममा सहभागि हुँदै तेह्रथुमको वशन्तपुरमा आयोजित जनसभामा सहभागि भएको छ। तेह्रथुमको विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा सहभागि हुँदै टोली मंसिर ३० गते पाँचथर प्रवेश गर्ने जनाइएको छ।

एमालेको संकल्प यात्रालाई पहिचानवादीहरुले बिथोल्न सक्ने भन्दै बिहीबार स्थानीय प्रशासनले धनकुटाको सुरक्षा व्यवस्था कडा पारेको थियो।