Advertisement Ad

Advertisement Ad

नेपाली भ्लगर उमा चाम्लिङ सिक्किम प्रहरीको नियन्त्रणमा

१५ पुस २०८०। ‘सामाजिक सद्भाव’ बिथोलेको आरोपमा एक जना नेपाली भ्लगर शनिबार सिक्किममा पक्राउ परेकी छन्। सिक्किम सरकारले गत २६ डिसेम्बरमा दक्षिण सिक्किमको नाम्चीमा आयोजना गरेको साकेला उत्सवमा सहभागी बन्न सिक्किम पुगेकी खोटाङकी भ्लगर उमा चाम्लिङ राईलाई सिक्किमको राजधानी गान्तोकबाट पक्राउ गरिएको हो।

उनले शनिबार पश्चिम सिक्किमको लेक्सेपमा राई समुदायले आयोजना गरेको अर्को साकेला उत्सवको प्रचार गर्दै भिडियो पोस्ट गरेकी थिइन्। त्यही आधारमा उनलाई मुख्यमन्त्री पीएस गोलेको ठाडो निर्देशनमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

उमाले आफ्नो फेसबुक पेजमा पोष्ट गरेको सिक्किमका पूर्वमूख्यमन्त्री पवन चाम्लिङसँगको फोटो । तस्विरः उमाको फेसबुक वालबाट

६ दिनअघि उनले पूर्वमुख्यमन्त्री पवन कुमार चाम्लिङसँगको तस्बिर सामाजिक सञ्जालमा साझा गरेकी थिइन्। सिक्किमको प्रमुख प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले सत्तारुढ दलविरुद्ध भ्लगर चाम्लिङलाई प्रयोग गरेको आरोप सत्ता पक्ष दलले लगाएको छ। सत्तारुढ पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का एक नेताले भने, ‘चुनावको मुखमा विपक्षीले नेपाली भ्लगरलाई प्रयोग गरेर साम्प्रदायिक हिंसा भड्काउन खोजेको पाइयो।’

चाम्लिङलाई ५ दिनका लागि अदालतमा म्याद थप गरी शनिबार हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको सिक्किम प्रहरीले जनाएको छ। उनलाई गैरकानुनी गतिविधि रोकथाम ऐन (यूएपीए) अन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ।

यसैबीच, सिक्किम प्रोग्रेसिभ युथ फोरमलगायतका संघ–संथाले भ्लगर चाम्लिङलाई सिक्किम सरकारले झुटो आरोप लगाएर गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन्।

(इकान्तिपुरबाट)