Advertisement Ad

लिम्बू जातिको धान नाच हराउदै

Advertisement Ad

पाँचथर, ३१ असार । पूर्वी नेपालको विभिन्न जिल्लाहरुमा मूल रुपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समुदायको धाननाच लोप हुने अवस्थामा पुगेको छ ।

एक समय याक्थुङ (लिम्बू) समुदायमा अत्यन्तै लोकप्रिय नाचको रुपमा रहेको धाननाच पछिल्लो समय संकटोन्मुख अवस्थामा पुगेको हो । विशेषतः हिउँदको फुर्सदिलो समयमा बढी धान नाचिन्छ । याक्थुङ (लिम्बू) समाजमा विभन्न मेला, पर्व र उत्सवहरुमा साइनो सम्बन्ध नलाग्ने केटा पक्ष र केटी पक्षबीच एकापसमा हात समाई गोलो घेरा बनाएर धान नाँच्दै पालाम् (धान नाच्दा गाइने एक प्रकारको छन्दोबद्ध गीत) गाउँने परम्परा छ ।

पल्लो गाउँ, वल्लो गाउँका युवा–युवती सामुहिक रुपमा खला (धान नाच्ने स्थान) मा भेटेर पनि धान नाच्ने चलन रहेको फिदिम–६, सिवाका ७२ वर्षीय टेक बहादुर तुम्रोकले बताए । तर अहिले धाननाच नै हराएर जान लाग्दा दुःख लागेको तुम्रोक बताउछन् । किरात याक्थुङ चुम्लुङ, फिदिम–६, का अध्यक्ष समेत रहेका उनले भने– ‘अहिलेका युवा–युवतीले आफ्नोपन बिर्सिदै जानु दुःखद पक्ष हो ।’

अघिल्लो पुस्ताबाट युवा पिढिंमा पुस्तान्तरण हुन नसक्दा धाननाच खलाबाट लोप भएर जान लागेको लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय सचिव बुद्धराज लिम्बूको ठम्याई छ । विशेषतः युवा पुस्ताले आफ्नो मौलिक संस्कृतिलाई ग्रहण गर्न नसक्दा धाननाच बेलामौका चुम्लुङले आयोजना गर्ने साँस्कृतिक कार्यक्रमका स्टेज र म्यूजिक भिडियोमा मात्र सिमित हुन पुगेको लिम्बू बताउछन् ।

स्टेज र भिडियोमा देखिने धाननाचले स्वतःस्फूर्त रुपमा खलामा नाचिने धाननाच जस्तो वास्तविक धाननाचको मर्म र मूल्य बोक्न नसक्ने याक्थुङ (लिम्बू) भाषा तथा संस्कृतिका खोजकर्ता राजेन्द्र कुमार जबेगु बताउछन् । आधुनिक प्रकारका नाचगानका प्रभाव र बढ्दो प्रतिश्पर्धी दुनियाँका कारण युवा पुस्ताले धाननाच बिर्सिदै गएको जबेगुको भनाई छ ।

खलाबाट उठेर स्टेज र भिडियोमा सिमित हुन पुगेको धाननाचलाई पुनर्जीवन दिन याक्थुङ (लिम्बू) समुदायमा साँस्कृतिक पुनर्जागरणको अभियान चलाउन आवस्यक रहेको प्राध्यापक तथा साँस्कृतिक पुनर्जागरण अभियानका संयोजक मधुराज केरुङ बताउछन् । केरुङका अनुसार अभियानको सुरुवात गरिसकिएको छ ।

धाननाच उत्पतिको मुन्धुमी कथा
हिन्दुहरुको वेद जस्तै याक्थुङ (लिम्बू) जातिको ग्रन्थ हो, मुन्धुम । मुन्धुममा धाननाच उत्पतिबारे रमाइलो कथा वर्णित छ । मुन्धुम अनुसार धपाउन नपाइने सर्तमा फाङभङ्ना नामको चराले घैया जातको धानको बिउँ ल्याएर दिएपछि मानिसहरु कृषि युगमा प्रवेश गरे । मानिसहरुले अन्न फलाए । तर फलाएको अन्न सबै चराहरुले खाइदिन थाले । धपाउन नपाइने सर्तकाबीच मानिसहरुले नयाँ उपाय निकाले । धानलाई एकैठाउँ खलामा जम्मा गरे । र, खलामा भेला भई एकआपसमा हात समाई धान कुल्चदै, माड्दै छुई हा … हा … हा … भन्न थाले । चराहरु पर–पर भागे । चराहरुबाट अन्न बचाउन मानिसहरुले निकालेको यहिं उपाय या?लाक् (धान कुल्चनु) बाट बिकसित भई या?लाङ् (धान नाँच) भएको र चरा धपाउन प्रयोग गरिएको छुई हा … हा … हा … बाट पालाम्को बिकास भएको लिम्बू संस्कृतिका विज्ञहरु बताउछन् ।

दाजुमयी पालाम्को लय
धाननाच्दा केटा पक्ष र केटी पक्षले सवाल–जवाफमा चरण–चरण गरी छन्दोबद्ध गीत गाउछन् । यहिं गीत नै पालाम् हो । धानचाचको क्रममा पालाम् गाउनु अनिवार्य मानिन्छ । सामान्यतः पालाम् ३–२–४ को मात्रिक छन्दमा बुनिएको हुन्छ । पालाम्मा हरेक दुई हरफको एक पाऊँ अर्थात् एक श्लोक हुन्छ । हरेक पाऊँको पहिलो लाइनलाई ‘फुङ्फेक्वा’ र दोस्रो लाइनलाई ‘काप्फुङ्फेक्वा’ भनिन्छ । हरेक पाऊँको ‘फुङ्फेक्वा’ र ‘काप्फुङ्फेक्वा’ को अन्त्यमा ‘हा … हा … मा … हा …’ भन्ने थेगो जोडिन्छ । पालाम्मा सृष्टिको उत्पती, मानव सभ्यताको विकासक्रमदेखि लिएर मायाप्रीतिसम्मका कुरा गरिन्छ । त्यसैले पालाम् गाउँदागाउँदै एकापसमा मायाको मुना अङ्कुराउन गई बिवाहमा समेत परिणत हुन्छ । ‘धान नाच्दा नाच्दै घरजम गर्ने जोडि गाउँघरमा प्रशस्तै छन्’ किरात याक्थुङ चुम्लुङ, फिदिम–६, का अध्यक्ष तुम्रोकले भने ।

तर, धाननाच र पालाम् नै खलाबाट हराएर जाने अवस्थामा पुगेपछि याक्थुङ (लिम्बू) समुदायका अगुवाहरुमा चिन्ता बढेको छ ।