पाँचथर, ३१ असार । ‘सार्ग्याङ्’ मासुजन्य परिकार हो । यो सुँगुर या बङ्गुरको आन्द्रा र भित्र्याँसबाट बन्छ । बिशेषतः ‘सार्ग्याङ्’ लिम्बू भान्सामा पाक्छ । यसलाई लिम्बू जातिले मौलिक साँस्कृतिक परिकारको रुपमा लिन्छन् ।
सुँगुर या बङ्गुरको ठूलो आन्द्राभित्र मुटु, कलेजो, रक्ति, याङ्बेन (झ्याउ), चामल, अदुवा, लसुन, नुन, खोर्सानी लगायत मरमसला हालेर ‘सार्ग्याङ्’ तयार गरिन्छ । ‘सार्ग्याङ्’ नन्भेजहरुका लागि निकै स्वादिलो परिकार हो । बिशेष गरी तोङ्बा वा तीनपाने रक्सिसँग सितनको रुपमा ‘सार्ग्याङ्’ खाने गरिन्छ । विभिन्न मेला, पर्व, उत्सव र बिशेष अवशरहरुमा ‘सार्ग्याङ्’ बनाएर खाने प्रचलन लिम्बू समुदायमा छ ।
लिम्बू भान्सामा मात्र पाक्ने ‘सार्ग्याङ्’ पछिल्लो समय पूर्वमा आयोजना हुने मेला, फेस्टिवल र केहि रेष्टुरेन्टहरुमा पनि पाक्न थालेको छ । युवा–युवतीदेखि बृद्ध–बृद्धासम्मले ‘सार्ग्याङ्’ खान रुचाउने गरेको पाँचथर सदरमुकाम फिदिमस्थित धाननाच क्याफेका सञ्चालिका सिर्जना केरुङ बताउछिन् । फिदिमकै लेञ्जोहाङ् याक्साकी जसु लाओतीले पनि अर्डर अनुसार ‘सार्ग्याङ्’ बनाएर बिक्री गर्दै आएको बताइन् ।
‘सार्ग्याङ्’ लिम्बू समुदायको एक स्वादिष्ट पाककला हो । उचित प्रचार–प्रसार र बजारीकरण गर्न सके ‘सार्ग्याङ्’ आयआर्जनको राम्रो माध्यम बन्न सक्ने किरात याक्थुङ् चुम्लुङका पूर्वकेन्द्रीय उपाध्यक्ष मलिसा याक्थुङबाको भनाई छ । होटल, रेष्टुरेन्टहरुमा पाइने पिज्जा, बर्गर, रोष्ट, बिर्यानी जस्ता परिकारको तुलनामा ‘सार्ग्याङ्’ स्वालिष्ट, पोषिलो र स्वस्थकर हुने साँस्कृतिक अभियन्ता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दीलेन्द्र कुरुम्बाङ् बताउछन् ।
‘सार्ग्याङ्’ बनाउन आवस्यक सामग्री :
‘सार्ग्याङ्’ बनाउन सर्वप्रथम सुँगुर वा बङ्गुरको ठूलो आन्द्रा आवस्यक पर्छ । त्यस्तै सुँगुर वा बङ्गुरकै भित्र्याँस (मुटु, कलेजो, रक्ति, फलमासु), याङ्बेन (लेकाली वनस्पतिमा पाइने औषधीय गुणयुक्त झ्याउ), अदुवा, लसुन, नुन, खोर्सानी मिश्रित मरमसला र बेसार तयार गर्नुपर्छ । यी सामग्री कति ‘सार्ग्याङ्’ बनाउने हो त्यहिं अनुसारको परिणाममा तयार गर्नुपर्छ । थोरै पाकेको भात पनि ठिक पार्नुपर्छ । अन्तिममा तार्नलाई तेल वा खारेको बोसो पनि साथैमा हुनुपर्छ ।
‘सार्ग्याङ्’ बनाउने तरिका :
सुरुमा आन्द्रालाई उल्ट्याएर राम्ररी पखालिन्छ । त्यसलाई ठिक्कको छोंटो–छोंटो (करीब ८ सेन्टी मिटर) सम्मको टुक्रा बनाइन्छ । टुक्र्याईका ठूलो आन्द्राको एकापट्टीको मुख गाँठो पारेर वा चोयाले बाँधेर बन्द गरिन्छ । माथि उल्लेखित मासु र अन्य सामग्रीको किमा, खरानीसँग उसिनेर पखालेको याङ्बेन र बाँकि सामग्री ठिक–ठिक मात्रामा एकापट्टीको मुखबाट आन्द्रामा लगाई त्यसलाई बन्द गरिन्छ । त्यसपछि त्यसलाई बेस्सरी उसिनेर पकाइन्छ । पाकेपछि भाँडाबाट निकालेर तेल वा बोसोमा तारिसक्दा ‘सार्ग्याङ्’ तयार हुन्छ । त्यसलाई टुक्रा पारी अचारसँग खाइन्छ ।