१७ मंसिर, २०८१ पाँचथर | स्वतन्त्र विद्यार्थी युनियन पाँचथर बहुमुखी क्याम्पसको आयोजनामा साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार पाँचथर बहुमुखी क्याम्पसको प्राङगणमा सम्पन्न कार्यक्रममा अन्तर क्याम्पस स्तरीय कविता प्रतियोगिताको आयोजना गरिएको थियो । कविता प्रतियोगितामा थर्पु क्याम्पसकी मञ्जुल योङहाङ प्रथम, पाँचथर बहुमुखी क्याम्पसका बुद्वराज लिम्बु द्वितीय, यासोक क्याम्पसकी हिमादेवी भण्डारी त्रितीय र रवि क्याम्पसकी रसु विश्वकर्मा सान्त्वना भएका स्ववियु पाँचथर बहुमुखी क्याम्पस अध्यक्ष मुना नेपालीले बताइन्। प्रतियोगिताको प्रथमलाई नगद १० हजार रुपैंयाँ, द्वितीयलाई ७ हजार रुपैंयाँ, त्रितीयलाई ५ हजार रुपैंयाँ र सान्त्वनालाई ३ हजार रुपैंयाँ सहित प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा जिल्लाका चारवटै क्याम्पस गरि जम्मा २० जनाले सहभागिता जनाएका थिए |
कार्यक्रममा अतिथि कविता वाचनको रुपमा कवि देवेन्द्र सक्तेन, चिरन कोइराला, कवियत्री विमला अधिकारी र कवि सिरेन वान्तावाले सुनाएका थिए । त्यस्तै कार्यक्रममा कवि चन्द्रबीर तुम्बापोको काव्य प्रवचन प्रस्तुति रहेको थियो । विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा संविधानसभा सदस्य तथा पुर्वमन्त्री श्रीप्रसाद जबेगु, विशेष अतिथिको रुपमा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले लगायतको उपस्थिति रहेको थियो |
कार्यक्रम स्ववियु पाँचथर बहुमुखि क्याम्पसका अध्यक्ष मुना नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो |



