Advertisement Ad

Advertisement Ad

किरात याक्थुङ चुम्लुङ पोर्तुगलद्वारा चासोक तङनाम मनाउने तयारी

रुकमान केरुङ लिम्बू

२० मंसिर २०८१, पोर्तुगल। याक्थुङ (लिम्बू)हरुको चाड चासोक तङनाम येले तङ्बे ५०८४ (वि.सं.२०८१) किरात याक्थुङ चुम्लुङ पोर्तुगलले विविध कार्यक्रमकासाथ मनाउने भएको छ।

चासोक तङनामको अवसरमा चासोक बिधि सँगै शुभकमना आदान–प्रदान एवंम् साँस्कृतिक कार्यक्रम गरिने किरात याक्थुङ चुम्लुङ पोर्तुगलले जनाएको छ। कियाचु पोर्तुगलका अनुसार डिसेम्बर २६ सोमबारका पोर्तुगल लिस्बोनस्थित सिटि वोकमुन्दोमा कार्यक्रम हुनेछ।

चासोक (न्वागी पूजा) अर्थात् उधौलीलाई याक्थुङ (लिम्बू)हरूले परिश्रमको फल खाने उपयुक्त समय मान्दछन्। लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ। लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन्। ‘याक्थुङ मुन्धुम’ मा चासोक तङ्नामको शुरुआतबारे वर्णन गरिएको छ।

मुन्धुम अनुसार कृषि युगअघि आदिम याक्थुङ्वाका पूर्खा सावायेत्हाङहरू जङ्गलमा पाइने तरुल, भ्याकुर, कन्दमूल आदि आगोमा नपकाई काँचै खाएर जीवनयापन गर्थे। जसले गर्दा कुपोषण र रोगव्याधिको सिकार हुन्थे। त्यसबाट मुक्ति पाउन उनीहरूले सर्वशक्तिमान तागेरा निङ्वाफुमाङको पूजाआराधना गरे।

त्यसपछि उनीहरूले पेना माङ्दःक् (कोदो), परामा (कोदोसँगै फल्ने बिरुवा), ताक्मारु (घैया धान), तुम्री (जुनेलो), साङ्घामा, लिङ्घामा र लङ्वामा आदि अन्नका बीउबिजन पनि पत्ता लगाए। आदिम पुर्खा सावायेत्हाङहरूले प्रकृतिबाट यसरी पाएको बीउबिजन तिनका चेली सिवेरा एक्थुक्मा र सिवेरा यावुक्ङेक्माले काठ, ढुङ्गाको खन्ति र अङ्कुसेले खोरिया फाँडेर भस्मेमा छरिन्। त्यसपछि सावायेत्हाङहरूले बीउबिजनको महत्व बुझेर सामुहिक खेतीपाती गर्न सिके।

खेतीपातीसँगै उनीहरूले खोरिया र भस्मेमा उत्पादन भएका अन्नबाली आगोमा पकाएर खान थाले। बल्ल सावायेत्हाङका सन्तानले कुपोषण र रोगव्याधिबाट मुक्ति पाए।

अन्नबालीको बीउ संरक्षण गर्दै खेती गर्न र फलेको बाली आगोमा पकाएर खान सिकाउने आदिम स्त्री सिवेरा याक्थुङ्मा (युमा?) प्रति हार्दिक कृतज्ञता प्रकट गर्न सावायेत्हाङहरूले पहिले सिवेरा एक्थुक्नामालाई चढाए। अनि मात्र सावायेत्हाङहरूले ती अन्नबाली खाने वाचा गरे। आजतक याक्थुङ (लिम्बू) समाजमा नयाँ पाकेका अन्नबाली आफूले खानु अघि तागेरा निङ्वाभुमाङ, सिवेरा एक्थुक्नाबा, प्रकृतिलाई बिधिपूर्वक चढाउने प्रचलन छ। यहीँ परम्परा नै चासोक तङनाम हो।

यस पर्वको अवसरमा नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, युरोप लगायत मुलुकमा रहेका लिम्बू समुदायले जातीय वेषभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाउँछन्। यस अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्तुगलले पनि विविध कार्यक्रम गरी चासोक तङनाम मनाउने तयारी गरेको हो।