Advertisement Ad

पाँचथरमा लम्पी स्किन रोगबाट सात सय पशु मरे, ३५ हजार बढी प्रभावित

Advertisement Ad

इवारा जबेगु

२० भदौ २०८०, पाँचथर । पशुचौपायामा लाग्ने लम्पी स्किन रोगबाट पाँचथरमा सात सय पशुचौपाया मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको तथ्याङ्क अनुसार हालसम्ममा जिल्लामा ६८७ गाईगोरु र १३ भैंसी राँगा गरी कूल सात सय पशुचौपाया मरेका हुन् । लम्पी स्किनबाट जिल्लामा ३५ हजार ४०३ पशु प्रभावित बनेका छन् ।

एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा धेरै तुम्बेवा गाउँपालिमा १४९ पशु लम्पी स्किन रोगबाट मरेका छन् । त्यहाँका दुई हजार ९६० पशु यो रोगबाट प्रभावित भएका छन् । तीमध्ये हालसम्ममा दुई हजार ७२२ पशु उपचारपछि निको भएका छन् । अझै सक्रिय संक्रमित पशुको संख्या ८९ रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार कुम्मायक गाउँपालिकामा छ हजार ५४४ पशु यो रोगबाट प्रभावित भएका छन् भने ७७ पशु मरेका छन् । हालसम्ममा निको भएका पशुको संख्या छ हजार २२५ छ भने सक्रिय संक्रमित पशुको संख्या अझै २४२ रहेको छ ।

मिक्लाजुङ गाउँपालिकामा पाँच हजार ८७० पशु प्रभावित भएका छन् भने ९९ मरेका छन् । मिक्लाजुङमा हालसम्ममा खोप लगाइएका पशुको संख्या दुई हजार ६०० छ भने संक्रमितमध्ये पाँच हजार ४९३ निको भएका छन् । मिक्लाजुङमा सक्रिय संक्रमित पशुको संख्या अझै २७८ रहेको छ ।

जिल्लाको एक मात्र नगरपालिका फिदिममा पाँच हजार ५७० पशुचौपाया लम्पी स्किनबाट प्रभावित भएका छन् । जसमध्ये ९२ पशु मरेका छन् । हालसम्ममा खोप लगाइएका पशुको संख्या तीन हजार २५० छ भने रोगबाट निको भएका पशुको संख्या पाँच हजार छ । अझै फिदिममा लम्पी स्किनका सक्रिय संक्रमित पशुको संख्या ४७८ रहेको छ ।

त्यस्तै फालेलुङ गाउँपालिकाका चार हजार ९१९ पशुचौपाया प्रभावित भएकामा ७१ पशुचौपाया मरेका छन् । फालेलुङमा दुई हजार ६५० पशुमा खोप लगाइएको छ । हालसम्ममा प्रभावितमध्ये चार हजार ५८१ पशु निको भएका छन् । सक्रिय संक्रमित पशुको संख्या २६७ रहेको छ ।

फाल्गुनन्द गाउँपालिकामा चार हजार ५०० पशु यो रोगबाट प्रभावित भएका छन् भने अरु पालिका भन्दा कम यस पालिकामा २८ पशु मात्र मरेका छन् । हालसम्ममा खोप लगाइएका पशुको संख्या चार हजार ६०० छ । निको भएका पशुको संख्या तीन हजार ५०० छ । सक्रिय संक्रमित पशुको संख्या ९७२ रहेको छ ।

हिलिहाङ गाउँपालिकाका दुई हजार ६६३ पशुचौपाया लम्पी स्किन रोगबाट प्रभावित भएकामा १०५ मरेका छन् । हालसम्ममा जम्मा दुई हजार ३१० निको भएका छन् भने अझै २४८ सक्रिय संक्रमित पशु रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

याङवरक गाउँपालिकामा दुई हजार ३७७ पशु लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । जसमध्ये ७९ मरेका छन् । हालसम्ममा खोप लगाइएका पशुको संख्या दुई हजार ७०० रहेको छ भने निको हुने पशुको संख्या एक हजार ८२४ छ । अझै ४७४ पशु सक्रिय संक्रमित छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका प्रमुख मनोज मेहताका अनुसार पाँचथरमा कूल पशुको संख्या सात लाख, ५२ हजार, सात सय ८१ रहेको छ । लम्पी स्किन रोग नियन्त्रणका लागि स्थानीय सरकारको तर्फबाट पनि पहल भइरहेको फिदिम नगरपालिकाका उपमेयर साधाकृष्ण न्यौपानेले बताउनुभएको छ ।