Advertisement Ad

जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट मृत्यु हुनेको संख्या ७१ पुग्यो, १५३ घाइते

Advertisement Ad

१८ कार्तिक २०८०। जाजरकोटको रामीडाँडा केन्द्र भएर मध्यरातमा गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ७१ पुगेको छ। एक सय ५३ भन्दा धेरै घाइते भएका छन्।

ती जिल्लास्थित प्रहरीका अनुसार, जाजरकोटमा ३६ र रुकुम पश्चिममा ३५ जनाको भूकम्पमा घर भत्किएर मृत्यु भएको हो। जाजरकोटका डीएसपी सन्तोष रोकाले भूकम्पमा परी ३६ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा धेरै घाइते भएको पुष्टि गरेका छन्। सबैभन्दा धेरै क्षति नलगाड नगरपालिकामा भएको छ। त्यहाँ एउटै वडामा २० जनासम्मको मृत्यु भएको छ भने नगर उपप्रम्रख सरिता सिंहको पनि घर भत्किँदा च्यापिएर मृत्यु भएको छ।

घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको डीएसपी रोकाले बताए। घाइतेमध्ये ७ जनाको स्थिति गम्भीर छ। उनीहरूलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ।

भूकम्पपछि जाजरकोटमा ठाउँठाउँमा पहिरो गएको छ। पहिरोका कारण जाजरकोट डोल्पा सडकको रिम्ना सडकखण्ड अवरुद्ध भएको छ।

मध्यरातमा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा ७ जनागरि ३५ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए। उनले भने, ’यो अहिलेसम्म पुष्टि भएको विवरण हो । घटनाको सूचना संकलन गर्ने र उद्दारको काम भइरहेको छ।’

आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको उनले जनाए। त्यस्तै, सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा २ जनाको मृत्यु भएको छ।

भूकम्पमा परी दुई पालिकामा गरी ५३ जना घाइते भएका हुन् । घाइतेहरूको मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

(शिलापत्रबाट)