Advertisement Ad

वासाङ्गु द्वितीया मेलाको समुद्घाटन कार्तिक २९ गते

Advertisement Ad

इवारा जवेगु

१७ कात्तिक २०८०, पाँचथर। वलिहाङ तङनाम (शुभ दिपावली) को अवशरमा जिल्लाको फाल्गुननद ६ र ७ वासाङ्गुमा लाग्ने यस बर्षको वासाङ्गु द्वितीया मेलाको समुद्घाटन कार्तिक २९ गते हुने भएको छ।

मेला आयोजक समितिले शुक्रबार सदरमुकाम फिदिमस्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गरी पाँचथरको ऐतिहासिक वासाङ्गु द्वितीया मेला यस बर्ष कार्तिक २९ देखि सुरु हुने जनाएको हो।

याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक नाच केःलाङ सहित समुद्घाटन हुने मेला यो बर्ष चार दिनसम्म भव्यतापूर्वक लाग्ने आयोजक समितिका अध्यक्ष अमर आङदेम्बेले बताए। मेला समुद्घाटनको दिन केसामी केःलाङ् समूहको केःलाङ् प्रस्तुती रहने उनले बताए।

मेला अन्तर्गत मंसीर एक गते केःलाङ् प्रतियोगिता, सिङ्ख्याले, पालाम् र हाक्पारे प्रस्तुती सँगै मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम रहनेछ। मेला अवधीभर रैथाने साँस्कृतिक परिकारहरुको प्रदर्शनी र बिक्री वितरण हुनेछ। मेलामा परम्परागत रोटेपिङ् पनि खेलाइनेछ।

मेलाको प्रमुख आकर्षणको रुपमा कार्तिक २९ गते देखि पालिकास्तरीय आमन्त्रण भलिवल प्रतियोगिता हुनेछ। मंसीर दुई गतेसम्म हुने भलिबल प्रतियोगिताको विजेताले नगद एक लाख १५ हजार ५१५ रुपैंयाँ र उपविजेताले नगद ६५ हजार ५६५ रुपैंयाँ प्राप्त गर्ने खेल संयोजक डिगम कुरुम्बाङले बताए।

मेला तथा प्रतियोगिताको आयोजना त्रिवेणी युवा क्लव फाल्गुनन्द ६ र ७ आङसराङ पाँचथरले गरेको हो। पत्रकार सम्मेलनमा मेलामा सहभागि भएर मेलाको शोभा बढाइदिन मेलाप्रेमी, खेलप्रेमी र संस्कृतिप्रेमीहरुलाई आयोजक समितिका अध्यक्ष आङदेम्बेले आग्रह गरे।