Advertisement Ad

बृजहाङपति जबेगुः लिम्बुवान प्रतिनिधिमण्डलका एक जीवित प्रतिनिधि

Advertisement Ad

सन्देश सुब्बा

१८ कार्तिक २०८०, पाँचथर। बृजहाङपति जबेगु एक ऐतिहासिक व्यक्तित्व हुन्। वि.सं. २०१३ साल मंसिर १३ गते पल्लो किरात लिम्बुवान प्रतिनिधि मण्डल राजा महेन्द्रलाई भेट्न काठमाडौ गयो– फेदाप थुमका ललितबहादुर तुम्वाहाम्फेको नेतृत्वमा। पल्लो किरात लिम्बुवान क्षेत्रको विकासका लागि विभिन्न मागहरू लिएर प्रतिनिधि मण्डल राजाकहाँ पुगेको थियो। २९ सदस्यीय ‘पल्लो किरात लिम्बुवान प्रतिनिधि मण्डल–२०१३’ का सम्भवत: एक मात्र जीवित सदस्य हुन् बृजहाङपति जबेगु ।

‘श्री ५ महाराजधिराजका जुनाफमा स्मृतिपत्रम्’ नामक उक्त पत्रमा पृथ्वीनारायण शाहको उदय भए उप्रान्त सेन मकवानका पालादेखि पल्लो किरात लिम्बुवानमा उपभोग भइआएको किपट र विभिन्न समयमा शाहवंशबाट प्राप्त लालमोहरहरूको टिप्पणी गरिएको छ। पत्रमा आर्थिक, सामाजिक, शैक्षिक विकास र वातावरणीय संरक्षणका लागि समेत विभिन्न मागहरु राखिएका छन्। ‘पल्लो किरात लिम्बुवानका मागहरु’ नामक पुस्तकमा वि.सं. २०१३ र वि.सं.२०१४ सालमा गरी दुई पटक प्रतिनिधि मण्डलले बझाएको पत्रको बिस्तृति छ। उक्त ऐतिहासिक पल्लो किरात लिम्बुवान प्रतिनिधि मण्डल–२०१३ का सदस्य थिए– बृजहाङपति जवेगु।

बृजहाङपतिको जन्म वि.सं.१९९२ साल पुष २ गते पाँचथरको फालेलुङ गाउँपालिका–८ आकासेडाँडा छेउको विजयपुरमा भएको   हो। जसबहादुर बजेगु र आमा धनमाया (थेबे) जबेगुका दुई भाई र चार बहिनी छोरीमध्ये कान्छा छोरा हुन्– बृजहाङपति। उनका बुबा ब्रिटिश आर्मीको लेफ्टिनेन्ट (अधिकृत क्याडेट) थिए। लाहुरे परिवारमा जन्मि–हुर्किएका बृजहाङपतिले बाल्यकालमा खासै दुःख र अभावको महसुस गर्नु परेन। गाउँसम्म चामल, नुन ल्याइपुर्याउन लेटाङ सोमबारे, धरान र सिमानापारि दार्जिलिङको सुकेबजारसम्म पुग्नुपथ्र्यो। ढाकर र तक्माङको सहारामा गाउँ आाइपुग्थ्यो, नुन चामल। बृजहाङपतिले त्यो दुःख खेप्नु परेन। तर, गाउँघरमा भने दुःख र अभाव व्याप्त  थियो। गरिबी र अशिक्षाको थिचिएको थियो, गाउँ। गाउँका हुनेखाने एउटा वर्ग तिनै गरिब र निरीह गाउँलेमाथि शोषण गर्थे र आफूलाई समाजको बुज्रुक ठान्थे।

एक कार्यक्रममा सहभागि हुने क्रममा फिदिमस्थित चुम्लुङहिममा बृजहाङपति जबेगु । तस्विरः सन्देश सुब्बा

तत्कालीन समाजको टिठलाग्दो अवस्थाले बृजहाङपतिलाई सामाजिक रूपान्तरणको क्षेत्रमा काम गर्ने प्रेरणा दियो। केहि जान्ने, बुझ्ने भएदेखि नै बृजहाङपतिलाई गाउँमा शिक्षाको उज्यालो छर्नुपर्छ भन्ने लाग्यो। उनले वि.सं. २०१० सालमा गाउँका अमाली सुब्बा जहरमान थाम्सुहाङसँग मिलेर याङ्नाममा विद्यालय स्थापना गर्न पहल गरे। विद्यालय स्थापनाका लागि ‘सिद्धकाली’ नाम दिएर तत्कालीन जिल्ला सदरमुकाम धनकुटामा चिठ्ठी लेखी पठाउने काम गरे। उनले सुनाए, ‘जिल्लाबाट विद्यालय स्थापना गर्न स्वीकृत आदेशसहितको पत्र आयो। तर म्याट्रिक पास गरेको मास्टर राख्नुपर्ने भयो। त्यतिबेला पढेलेखेका मानिस भेट्न बहुत गाह्रो थियो। हामीले दार्जिलिङबाट आइतमान तामाङ नाम गरेको मास्टर ल्याएर विद्यालय सुरु गरेका थियौं।’ उक्त विद्यालय अहिले याङनाम आधारभूत विद्यालय बनेको छ। पछिल्लो संघीय राज्य पुनर्संरचनाअनुसार हालः उक्त विद्यालय फिदिम नपा–१० मा पर्छ। फालेलुङ–८ मा रहेका सिंहसिद्ध मावि र सेसेलुङ आधारभूत विद्यालय पनि बृजहाङपतिकै पहलमा स्थापना भएका थिए। बृजहाङपति शैक्षिक अभियन्ता पनि थिए।

१८ बर्षको उमेरमा गाउँमा पहिलोपल्ट विद्यालय खोल्न भूमिका निर्बाह गरेका बृजहाङपति २१ बर्षको हुँदा त ‘पल्लो किरात लिम्बुवान प्रतिनिधिमण्डल’ को सदस्य भएर राजालाई भेट्न काठमाडौ नै पुगे। बृजहाङपति त्यतिबेलाको क्षण सम्झन्छन्, ‘म दार्जिलिङ हुँदै बाघटुक्रा (बाघडोग्रा) बाट हवाइजहाज चढेर नेपाल (काठमाडौ) पुगेको थिएँ। त्यतिबेला गाडि थिएन, साथीहरु धेरै दिन लगाएर हिंडेर पुगेका थिए।’ प्रतिनिधि मण्डलको स्मृतिपत्रलाई राजाले चित्तबुझ्दो सम्बोधन गरेनन्। तर, अधिकार प्राप्तीका लागि आफ्नो ठाउँबाट निरन्तर लडेको बृजहाङपति सुनाउछन्। उनी त अझै भन्छन्, ‘पल्लो किरातलाई छुट्टै लिम्बुवान प्रान्त दिनुपर्छ।’

सामाजिक सेवा गर्ने भावनाले गाउँको नेतृत्व गर्न अग्रसर भएको बताउछन् बृजहाङपति। उनी वि.सं.२०१८ सालमा तत्कालीन लुवाफु गाउँ पञ्चायतको पहिलो प्रधानपञ्च निर्वाचित भए। सोहि बर्ष पञ्चायत विकास केन्द्र पाँचथरको उपसभापति बने। अञ्चल पञ्चायतमा समेत प्रतिनिधित्व गरेका बृजहाङपति अञ्चल पञ्चायत बिघटन भएपछि गाउँमै फर्किए। पटक–पटक गाउँ पञ्चायतको प्रधानपञ्च बनेर गाउँको नेतृत्व गरे। उनको भनाई अनुसार गाउँलेका सुख–दुःखसँग आफूलाई समाहित गर्दै गाउँको सेवामा जुटे।

गाउँका ठूलाबडा र हुनेखानेले गरीब गाउँलेलाई कुत तिर्ने शर्तमा ‘कुतिया’ र पाकेको बालि आधा–आधा बाढ्ने शर्तमा ‘अधिया’ कमाउन आफ्नो जमिन दिन्थे। सो बापत जमिन कमाउनेले असारमा ‘असारे’ (खेतीपाति गर्न सघाउनुपर्ने), दशैंमा ‘दशैंयाँ’ (सुँगुरको फिला र रक्सि) लगायत काशेलीपात पुर्याइदिनुपर्ने सामन्ती चलन चलाइएको थियो। यदि त्यसरी हजुरीया नगरे कमाउन पाएको जमिन पनि खोसिन सक्थ्यो। प्रधानपञ्च भएका बेला ‘असारे’ र ‘दशैंयाँ’ जस्ता सामन्ती चलनलाई गाउँबाट हटाइदिएको बृजहाङपति बताउछन्।

पंक्तिकारसँग बृजहाङपति जबेगु । तस्विरः बुद्धराज लिम्बू

लाहुरे परिवारमा जन्मे–हुर्के पनि औपचारिक शिक्षा लिने अवशर भने बृजहाङपतिले पाएनन्। आफ्नै बुवाले अक्षर चिन्न सिकाएको उनी बताउछन्। लाहुरे बाबुले बृजहाङपतिका दाजुलाई दार्जिलिङ राखेर पढाएका थिए। तर, पढ्न गएका दाजु रोगी भएर गाउँ फर्किए। त्यतिबेला गाउँकाले टिबि रोग लागेको भन्थे। अन्ततः त्यहिं रोगले दाजुलाई अल्पायूमै परिवारबाट खोसेर लग्यो। परिवारमा ठूलो शोक पर्यो। बाबुले बृजहाङपतिलाई पनि दार्जिलिङ राखेर पढाउन चाहन्थे। तर, आमाले मानेनन्। कारण थियो– कान्छो छोरोको पनि जेठाको जस्तै हालत हुने हो कि! दुर्भाग्य! बृजहाङपतिले औपचारिक अध्ययनका लागि पाठशालाको ढोका टेक्ने अवशर पाएनन्।

बृजहाङपतिले भने, ‘बाबुले लाहुरबाट ल्याएको किताबहरुको अध्ययनले मलाई धेरै कुरा सिकायो।’ उनले थपे ‘पान्थरे लिम्बुहरुमै पहिलो डब्बल डिग्रि गर्ने अमर नेम्बाङ, जो बितेर गए, मलाई होइन तपाईं त मैंले उहिल्यै एमएमा पढेका टेक्स्ट बुकका कुराहरु झिक्नुहुन्छ, कहाँबाट जान्नुभयो यस्तो कुरा, भन्थे।’

भाविको लेखा, उनले तीनपटक विबाह गरे। पहिलो जीवनसंगीनिबाट जायजन्म भएन। दोस्रोबाट दुई भाई छोरा र ६ बहिनी छोरी जन्मिए। एउटी छोरी बाहेक सबैजना छन्। दुबै जीवनसंगीनि बितेपछि उनले तेस्रो विबाह पनि गरे। उनी पनि बितेपछि बृजहाङपति अहिले छोराबुहारीसँग गाउँमै बस्छन्।

नौ दशक लामो समय चानचुने होइन। झण्डै नौ दशक उमेर खाएका बृजहाङपति गाउँको लागि प्रेरणाको स्रोत बनेका छन्। उनी आफूमा रहेका अनुभव र ज्ञान युवापुस्तालाई बाढ्छन्। कुनै पनि राजनीतिक दलमा दिलोज्यान दिएर नलागेका उनी गाउँको विकासका लागि युवा पुस्तालाई अर्ति र उपदेश दिन्छन्। सुबिधासम्पन्न सहरमा गएर बस्ने सोच कहिल्यै नआएको उनी बताउछन्। भन्छन्, ‘गाउँकै सेवा गरें, गाउँमै मर्न चाहन्छु।’