नारायण तुम्बापो
८ मंसिर २०८०, पाँचथर। प्रकृतिपूजक पूर्वका बहुल याक्थुङ (लिम्बू) जातिको प्रकृति नै पुज्ने संस्कृति हो– चासोक तङ्नाम। यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएका हुन्। धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ। मंसिर पूर्णिमाको दिन यसलाई सामूहिक रूपमा मनाउने चलन छ। यो समय पूर्वका लिम्बू वस्ती चासोक तङ्नाममय बन्छ।
पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी, संखुवासभा चासोक तङ्नामको थातथलो हो। यो धेरै विज्ञानसम्मत पनि छ। चासोक तङ्नामका बेला थान थापेर प्रकृति र पितृलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ। सारमा, बाली उब्जाइदिने प्रकृति– जल, जमिन, वायु, अग्नि (सूर्य) लाई विशेष रुपले पुजिन्छ। चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि हो। लिम्बू जातिले अन्नलाई एकप्रकारले माङ् (देवता) नै मान्छन्। त्यसैले यी जाति अन्नमा प्रेम प्रकट गर्न पुज्छन्। यो पनि चासोक तङ्नाम हो।
चासोक तङ्नाम पैयुँ फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उधांैली याम (दक्षिणायण) को न्वागी पर्व पनि हो। लिम्बू भाषामा ‘चासोक’को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरा निङ्वाभुमाङलाई अर्पण गर्नु भन्ने हुन्छ। तागेरा निङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ। ‘तङ्नाम’ले पर्व÷चाड अर्थात् उत्सव जनाउँछ।
लिम्बू मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङहरूले काँचो कन्दमुल खान्थे। यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गरे। यसको सुनुवाइ गर्दै तागेरा निङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत बीज दिए। प्राप्त बीज सावा येत्हाङका चेली सिबेरा एक्थुक्नामा (लिम्बू महिला) ले संरक्षण गरेर कृषि युगको सुरुवात गरिन्। आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए। यसपछि मानिसले स्वास्थ्यवद्र्धक खाद्यान्न पाउन थाले। यसपछि प्रकृतिसहित खाद्यान्नको बीउ दिने ‘तागरेनिङ्वाभुमाङ’ लाई स–धन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो। यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको हो। चासोक तङ्नामले लिम्बू समुदायको परम्परागत जीविकोपार्जनको पेसागत मुख्य आधार कृषि हो भन्ने पनि जनाउँछ।
धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ। चासोक पूजा आ–आफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाई गरिन्छ। फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन्। खाँदा, रोग व्याध नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ। फेरि पनि धेरै अन्न फलाउनमा सहयोगको याचना समेत गरिन्छ।
चासोकका बेला कलात्मक रूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ। यसलाई घरको पनि शोभा बढ्नेगरी ढोकाछेउमा झुन्ड्याइन्छ। यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बू जातिले आफ्नो मौलिकताको मुख्य चाड मान्छन्।
‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, साँस्कृतिक स्थलमा आयोजना गरिन्छ। पछिल्लो समय लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले संस्थागत रूपमा मनाउन थालेको छ। यो चाड बिर्संदै गएका विभिन्न देशमा रहेका लिम्बूले चुम्लुङको प्रोत्साहनमा मनाउन थालेका छन्। संस्थागत रुपमा चासोक तङ्नाम मनाउने क्रममा यसलाई साँस्कृतिक पर्यटनसँग पनि जोड्न थालिएको छ। चासोक पर्यटन प्रवद्र्धन गर्न लिम्बुवान क्षेत्रका विभिन्न ठाउँमा, मेलासमेत लाग्न लगाइन थालेको छ। जहाँ लिम्बूजन्य अन्य संस्कृति पनि प्रवद्र्धन गरिन्छन्। यसबाट लिम्बू समुदायबाट हुने विभिन्न उत्पादित वस्तुको बजारीकरण पनि हुन्छ नै।
चासोक तङ्नाम चाडले लिम्बू समुदायलाई कृषिको उत्पादन, उपभोग र आर्थिक उपार्जनमा प्रोत्साहन गरिरहेको देखिन्छ। तर, युवाको विदेश पलायनसँगै कृषि श्रमिक अभावले चासोक तङ्नामको थातथलो क्षेत्रका जमिन बाँझिनेक्रम बढ्दो छ। खेतबारीमा डोजर लगाएर अन्न मासेर गाडी कुदाउने होडबाजी बढ्दो छ। माटोले किसानी माया पाउन छोड्दै गएको छ। यसले खेती प्रणालीको पुस्तान्तरणमा क्रमभङ्ता ल्याइरहेको छ। खेती नै नगरेर अन्नै नफलेपछि चासोक तङ्नामको औचित्य नै कहाँ रहने भो र ! यस विषयमा चुम्लुङजस्तो संस्थाको ध्यान जान आवश्यक छ। मौलिकतामा चासोक तङ्नाम संस्कृति बचाउन कृषिको पूर्ववत् अवस्था कायम राख्नमा जोड दिन जरुरी छ। त्यहाँबाट मात्रै चासोक तङ्नामको सार्थकता र साख बाँच्छ।