– रुकमान केरुङ लिम्बू
नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने एक मूलबासी÷आदिवासी अन्तर्गतको जाति हो, याक्थुङ (लिम्बू) जाति। लिम्बू जातिको आफ्नै मौलिक भाषा, लिपी, धर्म, संस्कार, संस्कृति, परम्परा, रितिरिवाज, अस्तित्व र पहिचान छ । लिम्बुवान (अरुण पूर्वका नौ जिल्ला समेटेको भू–भाग) लाई मूल थातथलो मान्ने लिम्बू जातिको बसोबास नेपालको विभिन्न ठाउँहरू, भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, मिरिक, कालिम्पोङ, आसाम, मणीपूर आदि भू–भागहरूमा लिम्बूहरूको उल्लेख बसोबास पाइन्छ।
त्यस्तै अन्य विभिन्न देशहरू भुटान, वर्मा (म्यानमार), सिंगापुर, मलेसिया, अमेरिका, अस्ट्रेलिया लगायत युरोपका विभिन्न देशहरूमा पनि लिम्बूहरूको बसोबास पाइन्छ। लिम्बूहरूले देश तथा विदेशका विभिन्न क्षेत्रहरूमा संगठित भएर आफ्नो पहिचान बचाउने तथा आपसी सरसहयोग र सद्भाव कायम गरिरहेका छन्। लिम्बू जातिको आफ्नो भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज, अस्तित्व र पहिचानहरूको संरक्षण, प्रबद्र्धन तथा पुस्तान्तरणको निम्ति आफ्नै मूल्य–मान्यताका विभिन्न चाँडपर्वहरू समय अनुकूल मनाउदै आइरहेका छन्।
लिम्बूहरूले आफ्ना चाँडपर्वहरूलाई लिम्बू भाषामा तङ्नाम भन्ने गर्दछन् । लिम्बू समुदायमा विशेष महत्व भएका केही तङ्नामहरू ः
१, यक्वा तङ्नाम
२, सिसेक्पा तङ्नाम
३, चासोक तङ्नाम
४, कक्फेवा तङ्नाम
५, वलिहाङ तङ्नाम
माथि उल्लेखित तङ्नामहरू मध्ये यक्वा–सिसेक्पा–चासोक–कक्फेवा तङ्नामहरू कृषि अन्नबालीहरू लगाउने र बालीनाली उठाउने सम्बन्धी एक किसिमको वार्षिक चक्रका रुपमा मान्ने गरेको देखिन्छ । जस्तै, पहिलो चाँडको रूपमा यक्वा तङ्नाम– चैत्र÷वैशाख महिनामा पर्ने गर्दछ। यो समयमा नयाँ बाली लगाउने र बालीनाली सप्रियोस भनी पूजाआजा गर्ने चलन रहिआएको छ।
त्यसैगरी सिसेक्पा– कुनै कुनै बालीहरू सिसेक्पा (साउने सङ्क्रान्ति)को समयमा पाक्ने हुनाले उक्त पाकेको अन्नपातलाई पहिले माङ्लाई पूजाआजा गरी चढाएर नयाँ अन्नहरू खाने चलन छ । त्यसैगरी चासोक तङ्नाम– यक्वा तङ्नाम (चैत्र÷वैशाख) मा लगाइएको बालीनालीहरू असोज÷कार्तिक महिनामा पाक्ने हुँदा पाकेका अन्नबालीहरू इष्ट देवता (युमा साम्माङ्) लाई चढाएर खाने गरिन्छ । कक्फेवा तङ्नाम– माघे सङ्क्रान्तिसम्म आइपुग्दा अन्नपातहरू सकिदै जाँदा बाँकि समय जमिन मुनि फलेका कन्दमूलहरू (तरुल, वनतरुल) इत्यादि खाएर भए पनि जीवन यापन गर्न सकिन्छ भनि कक्फेक्वा तङ्नाम मनाउने गरिन्छ।
परापूर्वकालदेखि लिम्बू परम्परा अनुसार वलिहाङ तङ्नाम कार्तिक महिनामा मनाउने गर्दछन्। वलिहाङ तङ्नामको आफ्नै महत्व र मिथक छ। यी प्रमुख चाँडहरूमध्ये सिसेक्पा तङ्नाम सम्बन्धी केही चर्चा गर्ने जमर्को गरेको छु।
भाषाशास्त्रीय हिसाबले सिसेक्पा भन्नाले (सि + साक + पा ) को अर्थ मरण छेक्ने वा मर्ने तवर वा तरहको अनिकाल छेक्ने चाँड भन्ने बुझाउँदछ। हाम्रा पुर्खाहरूले जीवनयापन गर्ने क्रममा अनिकाल, भोकतिर्खासँग धेरै संघर्ष गर्नुपर्यो। हाम्रा पुर्खाले जङ्गली युगदेखि कृषि युगसम्म आइपुग्दा भोगेका संघर्षहरूलाई पार लगाउने उपाय खोज्दै यो समयमा यो तङ्नाम मनाउन सुरु गरेको देखिन्छ। हाम्रा पुर्खाहरूले जीवन जिउने क्रममा विभिन्न किसिमको दुखकष्टहरू आउने गरेकोले त्यसबाट मुक्ति पाउँने उपायहरू खोज्दै समुदायमा चाँडपर्वहरूको रुपमा मनाउदै भावि सन्ततिहरूमा कहिले पनि यस्तो अनिकाल आइनपरोस, आइपरी हाले पनि त्यसको सामना गर्नको निम्ति सचेत गराउन पनि यो सिसेक्पा तङ्नाम मनाउने गरिन्छ।
सिसेक्पा तङ्नाम मुन्धुममा उल्लेख भए अनुसार राजा माङ्हाङ्को पालामा सावायेत्हाङ्का सन्तानहरुको बस्तीमा साक्चोङ् नाम गरेको अनिकाल मानिसको घरमा प्रवेश गर्यो। ठूलो अनिकाल र भोकमरीका कारण सावायेत्हाङ् गाउँमा हाहाकार मच्चियो। अनिकालको कारण मानिसहरू भोक भोकै मर्न लागे। भोकमरी किन सिर्जना भयो ? भन्ने चिन्ताले राजा माङ्हाङ् तड्पिए। राजाले तागेरा निङ्वाफुमाङ्सँग आराधना गर्न थाले। सपनामा तागेरा निङ्वाफुमाङले “बिहान उठेर तिम्रो बारीमा हेर्नु, अन्न फलेको देख्छौ’’ भन्नुभयो। बिहान बारीमा हेर्न जाँदा भटमास, बोडी आदि उम्रि पाकिरहेको देखेर खुसी भई राजा माङ्हाङ्ले हाङ्चुम्लुङ् बोलाएर सबैलाई पाकेको अन्न ल्याएर खाई बाच्नु भनि निर्देशन दिए।
सावायेत्हाङ् गाउँका जनताहरूले भटमास, बोडी पकाई खाएर अनिकालबाट बाँचे। उनै तागेरा निङ्वाफुमाङ र राजा माङ्हाङ्को सम्झनामा सिसेक्पा तङ्नाम सावायेत्हाङ् गाउँमा प्रत्येक वर्ष मनाउन थाले।
सिसेक्पा तङ्नामको दिन बिहानै नजिकैको जङ्गलमा गई आवश्यक सामग्रीहरू खोजेर तयार गर्ने गरिन्छ । सिदिङ्बा (अडेरी काँडा), युक्निवा (हर्कटो), कुरिल्लो, कुकुरडाइनोको पात, सिस्नु, बरपिपलको पात लगायत खेत बारिमा नयाँ पाकेको अन्न, फलफूलहरूलाई बाबियोको डोरी बनाई त्यसमा सिउरिएर घरको मूलढोका साथै घर वरिपरि टाँग्ने गरिन्छ। जसलाई साक्च्योङ् भन्ने गरिन्छ। साक्नाम् खेदाउनको लागि साँझमा थाल बजाउदै, नाङ्लो ठटाउँदै, सानो डोको बोकेर, अगुल्टो सहित घरको कुना–कुनाबाट मूलखम्बा वरिपरि हुँदै मूलढोकाबाट पश्चिम दिशामा कुनै चौबाटोमा लगी बिर्सजन गर्ने चलन छ।
हामी सानो हुँदा बोजु–आमाहरूले “साक्नाम् पेगेओ, याक्नाम ते?ओ (अनिकाल जाउ सहकाल आउ), नाना पेगेओ, यम्मो मेदेन्नो (परपर जाउ फेरि नआउ)’’ भन्दै साक्नाम्लाई खेदाउनुपर्छ भन्नुहुन्थ्यो। हामी दाजुभाई दिदीबहिनीहरू मिलेर खेदाउने गथ्र्यौँ। साथै बिसर्जन गर्ने क्रममा पनि विभिन्न मुन्धुमहरू फलाक्दै पश्चिमतिर फर्केर खुट्टाले कुल्चिएर घर फर्किने चलन छ। स–परिवार बसेर रमाइलोकासाथ सिसेक्पा तङ्नाम मनाउने चलन रहिआएको छ।
पोर्चुगलमा विगत केही दशकदेखी लिम्बूहरूको बसोबास उल्लेख बृद्धि भईरहेको देखिन्छ। सन् २०१४ मा किरात याक्थुङ चुम्लुङ सामाजिक संस्था गठन गरी लिम्बूहरूबिच पारस्परिक एकता, संस्कार, संस्कृतिको जगेर्ना, पौरवी तथा पुस्तान्तरण आदिमा पहलकदमी गर्दै आइरहेको छ। कियाचु पोर्चुगलले स्थापनाकालदेखि नै प्रत्येक साल विभिन्न चाँडपर्वहरूको अवसरमा कार्यक्रमहरू गर्दै आइरहेको छ।
हालः पोर्चुगल