बिबश बेनाम
१५ जनवरी २०२५, अमेरिका। अमेरिकाको घरहरू कस्ता हुन्छन् ? हप्ता भरिको प्रश्न । मेरो मस्तिष्क भित्र यो प्रश्न पछि सम्म घुमिरह्यो । चट्ट परेको । चिल्लो अनि टिलिक्क टल्केका अग्ला–अग्ला थुम्का जत्रा चिटिक्कका घरहरु होलान् । माथि हेरि पठाउँदा टोपी फुत्त भुईमा खस्ने होला । ५०-६० तला लिफ्टमा कसरी जाने होला ? आदि इत्यादि । पीरहरु त यस्तै यस्तै पो आरेल्लक !
तर यी घरहरू मेरो कल्पनाभन्दा बाहिर नै रहे। एक वर्षसम्म मैले कहीँ कतै पनि देखिनँ । जतै पनि एउटै घर, एउटै आङ्गन, एउटै बगैंचा अनि एउटै फूल । धनी र गरीवको अस्पताल एउटै । काले र गोरे दुवैको उही र उस्तै चिहान ।
आङ्गन पनि एउटै, गाडी पनि एउटै । को धनी को गरिब । को असक्त अनि को सशक्त अझै पनि छुट्याउनु मुस्किल छ मलाई । भाषामा “यु“ भनेपछि सकियो । हजुर नमस्कार खाईबक्सियोस्। लाइबक्सियोस् होइसिन्छ भनिरहनु परेन।
एउटै मोबाईल, एउटै भाषा । प्रशासन फाँटतिर गयो रङ्गीबिरङ्गीका कर्मचारीहरु, एयरपोर्टतिर गयो रङ्गीबिरङ्गीका कर्मचारीहरु । कति मज्जाले बोलेका गफ गरिरहौं जस्तो दुःख सुख सबै सुनाउ जस्तो ।
लु म त अक्क न वक्क परे ।।।
एक वर्षपछि जब डा. टंक सेलिङको साथमा न्युयोर्क पुगेँ । किरात याक्थुङ चुम्लुङ (कियाचु) पूर्व अध्यक्ष सुमन थाम्सुहाङ लिम्वु मिरकको नेतृत्वमा न्यूयोर्क शहर घुम्ने मौका पाएँ । एउटा कालो चिल्लो भवनको ३० तल्ला माथि पुग्यौं । बार रहेछ । जस्टिन बिबरको गीत गुन्जिरहेको थियो । हामी पनि कुइरेनिहरुको हुल छिचोल्दै बार्दलीको छेउनेरको टेबलमा बस्यौ । एटलान्टिक महासागरबाट ठोक्किन्दै आएको बतास संग जिस्किन्दै बियरको चुस्की लिन थाल्यौ । महासागरको हावाले कपाल फुरुरुरु हल्लाउँदा मज्जा लागेको थियो । खसीको फिला खायौँ। बारुल्ले–बारुल्ले भएपछी टंक सेलिङ जीले अंग्रेजी गीतको तालमा आफ्नो दुइटै हात हुचिलले जस्तो फिजाएको अहिले जस्तो लाग्छ । त्यसको भोलिपल्ट एउटा भवनको ३७ तलामाथि क्यासिनो खेल्न गयौ । र लगत्तै डोनाल्ड ट्रम्पको नांगो डान्स बारमा २७ तला माथि उक्लियौ ।
आहा !
त्यसपछि पो मलाई बल्ल महसुस भयो ।
म साँच्चै नै अमेरिका आएको रहेछु । अर्को साल पूर्ब कियाचु अध्यक्ष वीरेन्द्र हाङ लावुङ लिम्वुको नेतृत्वमा न्युयोर्क शहर थप घुम्न पाइयो। ट्रम्प टावर सहित विभिन्न टावरहरू घुमियो। त्यसपछाडि मलाई गम्भीर महसुस भयो अमेरिका साँच्चै सुन्दर रहेछ। बल्ल भेटियो कल्पनाका भवनहरू। यी भवनहरु जर्जिया, बोस्टन, न्युयोर्क, सिकागो, क्यालिफोर्निया जस्ता मुख्य शहरहरुमा रहेछन् ।
वास्तवमा अमेरिका विकास र सिस्टमले अमेरिका भएको रहेछ तर मैले चिल्ला अग्ला भवनहरुमा अमेरिका खोजिरहे ।
केन्द्रीकृत प्रणालीले जनआकांक्षालाई सम्बोधन गरेर जनतालाई शासन व्यवस्थामा सहभागी गराएको रहेछ ।
अधिकार र आर्थिक अवसरको समान प्रयोग गर्न दिइएको रहेछ ।
वर्गीय, जातीय, भाषिक लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गरेको रहेछ ।
राज्य सञ्चालनमा समावेशिता, हिस्सेदारी र स्वामित्व स्थापना गरेको रहेछ । अमेरिका त्यो पो रहेछ ।।
ओरिगनमा पनि त्यही हस्पिटल, बोस्टनमा पनि त्यही हस्पिटलमा, वासिङ्गटनमा पनि त्यही स्कुल, मेरीलेन्डमा पनि त्यही स्कुल, अमेरिका त्यो रहेछ ।
मैले यति कुरा बुझ्न कुइरेको ७ वर्ष भरिया हुनुपरो ।
मलाई थुप्रै साथीहरुलाई सोध्छन्, वैना त्यहाँका घरहरू कस्ता हुन्छन् हो, हेर्दा हेर्दै खरानी भइजान्छन त ?
साथी, प्रश्न सहि गर्नुभयो ।
अमेरिकाको घरहरू आगो प्रतिरोधात्मक घरहरु होइनन् ।
घरको वजन कम राख्नलाई काठहरु द्वारा निर्माण गरिएको हुन्छ । काठ भित्र रुवा प्रयोग गरेर वालहरु उठाइएको हुन्छ । जसले गर्दा घर भित्र न्यानोपन राख्छ । घरलाई आकर्षक बनाउनको लागि बाहिरबाट विभिन्न किसिमका प्रिन्टेट गाताहरु प्रयोग गरिएको हुन्छ । त्यसले घर आकर्षक देखिन्छ ।निदाल र मुख्य खम्बाहरुमा चाहिँ बडेमानको फलामहरु प्रयोग गरिएको हुन्छ ।
जलिसकेको क्यालिफोर्नियाको तस्वीर राम्ररी हेर्नुभयो ?
ती देखिएका चारकुने जस्ता सेता सेता सबै फलामका अवशेषहरु हुन ।
अर्को कुरा भित्रभित्रै ग्यास पाइपलाईनहरु जडान गरिएको हुन्छ । कुनैबेला केपी ओलीले भनेका थे नि ‘घर–घरमा पाइपवाट ग्या’ यहि देखेर भनेको रहेछ ।
यहाँका घरहरुबाट भुकम्प र आँधी हरीबाट भने सहजै बँच्न सकिन्छ । तर आगोबाट कदापी बच्न सकिन्न । त्यसैले होला फायर हाईडृलहरु पनि बाक्लो राखिदिएको हुन्छ । फायर हाइड्रीलको अगाडि गाडी पार्किङ्ग गरेमा कडा कार्वाहिको पनि ब्यवस्था छ ।
त्यसैले अमेरिका सरकारले सकेसम्म बढी पैसा घरमा नराख्नु नै भन्छ । जति नै नगद भएतापनि घर गाडी किन्नुपरेमा त्यो नगद पैसाले काम काट्दैन । त्यो नगद पैसाको महत्व उति हुँदैन । त्यो पैसा राज्यमा खर्च गर र क्रेडिट स्कोर बनाउ भन्छ । यदि तपाईंको क्रेडिट स्कोर राम्रो भयो भने तपाईँसँग पगितो पैसा नभएता पनि क्रेडिट स्कोरको आधारमा तपाईंलाई घर गाडी जोड्न सक्नुहुनेछ।
ठूला गफ के गर्नु अमेरिकाको घरहरु ५ मिनेटमा आगोको रापबाट स्वाहा हुन्छ। दाम भने सुनिसक्नु छैन ।
अमेरिकामा पछिल्लो समयमा अत्याधुनिक घरहरु बनाउन थालिएका छन् । पातलो बस्ती, फराकिलो, चारैतिरबाट घाम छिर्ने हावा छिर्ने र चारैतिरबाट भाग्न सजिलो खाले बनाएका छन ।
एउटा घरको ग्यास पाइप जल्यो भने टोलभरिको सखाप हुने मेरो अनुमान छ। घर घरमा टोल टोलमा ग्यासको पाइपको लाइन पनि खतरा हुने रहेछ।
विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले यो गति बेहोर्नु परिरहेको छ । यो दुखद घडीमा यति लेख्ने हिम्मत गरियो । अमेरिका जलिरहेछ ।
