१ माघ २०८१, पाँथचर। माघ्या सक्रान्ति मेला २०८१ को अववरमा फिदिम–६ सिवास्थित मगरमाउँमा आयोजित खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिताको उपाधि पूरुषतर्फ हुलाकलाइन फिदिम र महिलातर्फ फिदिम (पिभिसी) भेट्रान्सले जितेका छन्।
मंगलबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पूरुषतर्फ आयोजकलाई ५–२ गोलअन्तरले पराजीत गर्दै हुलाकलाइन फिदिमले उपाधि चुम्यो। उपाधिसँगै हुलाकलाइनले नगद ५० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको आयोजकले नगद २५ हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। प्रतियोगिताको वेष्ट डिफेण्डर हुलाकलाइनका बेगम गुरुङ, वेष्ट किपिङ आयोजकका आशिष मगर र वेष्ट प्लेयर आयोजकका निरोज लिङदेन बने। प्रतियोगिता अवधीभरी नौ गोल गरेका प्रमोद नेपाली हाई स्कोरर बने। उनीहरुले पनि पुरस्कार प्राप्त गरे।
महिलातर्फ फिदिम (पिभिसी) भेट्रान्सले सिवा–३ लाई २–० गोलले हराउदै उपाधि चुम्यो। विजेता बनेको फिदिम (पिभिसी) भेट्रान्सले नगद दश हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेतामा सिमित हुन पुगेको सिवा–३ ले नगद पाँच हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। वेष्ट डिफेन्डर फिदिम (पिभिसी) का सुजना राई, वेष्ट किपिङ सिवा–३ का समिगा राई र फिदिम (पिभिसी) का पवित्रा लिम्बू बनिन्। उनले प्रतियोगिता अवधीभरीमा चार गोल गरेकी थिइन्। विधागत तर्फका उत्कृष्टहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो।
विजयी खेलाडीहरुलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि, फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्ले, विशिष्ट अतिथि, फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, विशेष अतिथि, फिदिम–६ का वडा अध्यक्ष बिपन तुम्रोक लगायतले पुरस्कार वितरण गरेका थिए। प्रमुख अतिथि काफ्लेले खेलमैदान विस्तार र गत बर्षाद्को पहिरोले पूर्ण रुपमा क्षति पुर्याएको काफलबोटे आधारभूत विद्यालयको भवन पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
आयोजक संस्था लाङ्घाली युवा क्लवका अध्यक्ष सुवाश सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई शेर बहादुर सारु (रोशन) ले सञ्चालन गरेका थिए।
