६ माघ २०८१, पाँचथर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश–१ को तेस्रो प्रदेश महाधिवेशन पाँचथर सदरमुकाम फिदिममा शनिबारदेखि सुरु भएको छ।
फिदिमस्थित जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको महाधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, प्रदेशसभा सदस्य तथा १ नं.प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले गरेका थिए। उद्घाटन समारोहमा प्रदेशसभा सदस्य जबेगुले पहिचानका निम्ति संगठित हुँदै संघर्ष जारी राख्नुपर्ने धारणा व्यक्त गरे। प्रदेश–१ को नामाकरण गर्ने सन्दर्भमा आफूहरुले प्रदेशको नाम यहाँको सभ्यता, इतिहास र पहिचानलाई सम्बोधन गर्ने किसिमको हुनुपर्ने प्रस्ताब प्रदेशसभामा राखेको जबेगुले स्मरण गराए।
महाधिवेशन उद्घाटन समारोहमा फोनिज संघीय अध्यक्ष गजुरधन राई, फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्बाङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लवदेब ढुंगाना, नेपाल पत्रकार महासंघ, प्रदेश–१ का अध्यक्ष भरत खड्का, फोनिज प्रदेश–१ का सल्लाहकार समिति संयोजक विजयसन्तोषी राई, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष सागर केरुङ लगायतले शुभकामना मन्तव्य राख्दै महाधिवेशन सफलताको शुभकामना दिएका थिए।
सो अवसरमा तेस्रो प्रदेश महाधिवेशनको शन्दर्भ पारेर प्रकाशित गरिएको फोनिज प्रदेश–१ को मुखपत्र ‘अग्रगामी कदम’को विमोचन गरिएको थियो। मुखपत्रमाथि समीक्षात्मक टिप्पणी राख्दै पत्रकार जनकऋषी राईले मुखपत्रमा समेटिएका सामग्रीले प्रदेश–१ मा फोनिजको गतिबिधि र क्रियाशीलतासँगै समावेशी सञ्चार र पहिचानको सवालबारे प्रष्ट पार्ने बताए। मुखपत्रमा फोनिज प्रदेश–१ का गतिबिधि मात्र नभएर पहिचान र पत्रकारिताका विविध आयामबारेका विचारोत्तेजक सामग्रीहरु समेटिएको सम्पादक सन्देश सुब्बाले बताए।
तेस्रो प्रदेश महाधिवेशनको अवसर पारेर फोनिज प्रदेश–१ ले पाँच जना अग्रज फोनिजकर्मीलाई सम्मान गरेको छ। सम्मानित हुनेमा फोनिज (तत्कालीन अनिज) का संस्थापक सदस्य दीलेन्द्र कुरुम्बाङ, पूर्व संघीय उपाध्यक्षद्वय भैरव आङला, दिपीन राई, पूर्व प्रदेश अध्यक्ष तथा हालः संघीय अनुशासन आयोग संयोजक अर्जुन जम्नेली राई र प्रदेश सल्लाहकार निलिफा सुब्बा रहेका छन्। त्यस्तै फोनिजलाई सहयोग गर्ने बुद्धभूषण योञ्जनलाई पनि सम्मान गरिएको थियो।
महाधिवेशनको बन्दशत्र आइतबार बिहानदेखि सुरु हुने फोनिज प्रदेश–१ का अध्यक्ष सन्तवीर लामाले बताए। करीब १५० जना प्रतिनिधि, पर्यवेक्षक सहभागि महाधिवेशनको बन्दसत्रले नयाँ प्रदेश कार्य समिति निर्वाचित गर्ने महासचिव सुसन रुङमाहाङ राईले बताए।



