राजन मुकारुङ दाजु, सवारो !
तपाईंले गीतमा भन्नु भएको जस्तै– “सेवान्ने भन्छु, सुन्नुहुन्न”
तर फेरि पनि भन्छु– मेरो दाजु सेवारो।
हिजोको तपाईंको पोस्ट पढेपछि शुभचिन्तकको हैसियतले केही कुरा पोख्न मन लाग्यो। मैले देखेको राजन दाई वास्तवमै बाघ हुन्, थकान भन्ने शब्द तपाईंको शब्दकोषमै नरहेको व्यक्तित्व। बागी, प्रष्टवक्ता र हाम्रो पुस्ताका लागि प्रेरणाको स्रोत। व्यक्तिगत रूपमा मैले धेरै कुरा तपाईंबाट सिकेको छु। तपाईं त पहिचान–आन्दोलनमा ननिभ्ने दीयो हो। तर पछिल्ला दिनहरूमा तपाईंको ‘मृत्यु चिन्तन’देखि लिएर हिजोसम्मको पोस्टमा आएको निरासाभावले तपाईं कसरी खङ्ग्रङ्गै हुनुभयो भन्ने प्रश्नले सोचमग्न बनाएको छ।
तपाईंले भन्नु भएको “फरक छ भने फरकलाई स्वीकार गरौँ” भन्ने कुरा सुन्नमा सरल लाग्छ। तर यो पोस्टमोर्डनिस्ट तर्क आन्दोलनका दृष्टिले खतरनाक मोडतर्फ लगिरहेको छ। किनभने वर्गीय मुद्धालाई बेवास्ता गरेर केवल “नश्ल बोध” वा “फरक स्वीकृति”मा केन्द्रित राजनीति अन्ततः आन्दोलनलाई कमजोर बनाउने खेल मात्र हो। उदाहरणका लागि, उपेन्द्र सुब्बाले मिरुना प्रकरणमा दिनुभएको पहिचान सम्बन्धि अभिव्यक्ति वा हालै “लिम्बूहरू कहिले पो मिलेका थिए र ?” भन्ने भनाईले– आन्दोलनलाई सिर्जनशील अराजकताभन्दा बढी नश्लीय विभाजनमा अल्झाउने काम गरेको देखिन्छ।
नेपालमा अहिले देखिएको राई–लिम्बूबीचको “लिपि विवाद” नै प्रधान मुद्धा होइन। वास्तविक मुद्धा त राज्यसत्ताले सदियौँदेखि आदिवासीलाई भूमिहीन, शोषित र वञ्चित बनाएको संरचनागत अवस्था हो। तर तपाईंले सुरु गर्नुभएको “आदिवासी लेखक संघ” समेत वर्गीय मुद्धालाई प्राथमिकतामा राख्नुको साटो जातीयताको क्लष्टर–गन्ध ज्यादा बोकेर आएको देखिन्छ। यसरी जातीयतामा मात्र सीमित हुनु त सत्ताधारीहरूको Divide And Rule नीतिको निरन्तरता जस्तो लाग्छ। कतै ‘आदिवासी आवरण’ पनि हिटलरको आर्य–सर्वश्रेष्ठताको पथमा त छैन भन्ने शंकाको सुविधा पछिल्ला गतिविधिहरुले दिएको छ।
आजको विश्वमा प्रश्न के हो भने, Exonym स्वीकार गर्ने कि Endonym अपनाउने ? यहीँमा विवाद अड्किएको छ। तर संसारभर आदिवासी र उपनिवेशीकृत समुदायहरू अहिले Decolonization को वकालत गरिरहेका छन्। तपाईं त झन् हामीलाई बारम्बार Maya Angelou र Chinua Achebe पढाइरहनुहुने व्यक्तित्व। त्यसैले अझ अचम्म लाग्छ, कसरी तपाईं अहिले लिम्बू–राईमै समस्या देखेर, सत्ताले सिर्जना गरेको False Consciousness नै हामीमाथि थोपर्न खोज्दै हुनुहुन्छ ?
“फरकलाई फरकमै छोड्ने” भन्ने पोस्टमोर्डनिस्ट तर्क अन्ततः नश्लीय विभाजनलाई मजबुत बनाउने उपकरण मात्र हो। तर संसारभरका आदिवासीहरूको साझा पीडा एउटै छ– भूमि खोसिनु, श्रम लुटिनु, आवाज दबिनु। फरक त केवल पात्र र लोकेसनका नाम मात्र हुन्। तर हामी भने पात्रको नाममै अल्झिरहेका छौँ। यदि हामीलाई Decolonization स्वीकार्य छ भने अबको बाटो Endonym नै हो। सधैँ एकल नश्लवादी सत्तालाई प्रश्न गरिरहने तपाईं कसरी Exonym मोहमा पर्नु भएको छ, यो बुझिनसक्नुको छ।
तपाईंले मुन्दुम÷मुन्धुमका कस्मोजेनिक विषयका आधारमा राई र लिम्बू अलग्गै देख्नुभयो। तर वैज्ञानिक दृष्टिले हेर्दा, राई र लिम्बूबीचको Y-DNA Haplogroup D-M174 र O3-M122 ले साझा जेनेटिक पृष्ठभूमि देखाउँछ। लिपि वा विश्वासको आधारमा विभाजन गर्नु त अझ अवैज्ञानिक हुन्छ। हाम्रो विश्वास, लिपि र वर्गीकरण समय–समयमा हामीले नै बनाएका र बदलिएका हुन्। त्यसलाई स्थिर सत्य ठान्नु वा त्यसकै आधारमा विभाजन गर्नु इतिहास र विज्ञान दुबैको विरोध हो।
लिपिबारे अर्को कुरा– संसारमा सयौँ भाषा छन्, जसको आफ्नै लिपि छैन। भाषा अस्तित्वमा रहन लिपि अनिवार्य हुँदैन। नेपाली हामी देवनागरीमा लेख्छौँ, अंग्रेजी Roman मा। इतिहासकार थ्गYuval Noah Harari ले लेखेझैँ लिपिको आविष्कार सौन्दर्यका लागि होइन, प्रशासनिक रेकर्ड राख्न (Memory overload हल गर्न) का लागि भएको हो। त्यसैले सिरिजंगा लिपि प्रयोग नगरे पनि राई भाषाले जीवन्तता गुमाएको छैन, देवनागरीमै लेखेर चलेको छ। सिरिजंगा लिपि अरू भाषामा व्यवहारिक छ वा छैन, यो भाषाविज्ञहरूको बहसको विषय हो, राजनीतिक हतियार बनाइनु गलत हो।
दाई !
समाधान केवल “फरकलाई स्वीकार्ने” होइन, वर्गीय एकता निर्माण गर्ने हो। लिपि साँस्कृतिक सम्पदा हो, तर लिम्बूहरूको मात्र पेवा होइन। यसलाई अझ सर्वजनमुखी बनाउन सकिन्छ कि सकिँदैन, यो भाषाविज्ञहरूले निर्णय गर्ने कुरा हो। हाम्रो काम भनेको साझा पीडा सम्झनु हो– भूमिहीनता, शोषण र वञ्चना।
साँचो संघर्ष त्यहीँ विरुद्ध हो– जसले हाम्रो भूमि खोस्यो, हाम्रो श्रम लुट्यो भन्ने लाग्छ।
के साँच्चै थाक्नु भएको हो र दाइ ?
धेरै बोलेँ कि दाजु गल्ती भए क्षमा चाहन्छु।
तपाईँलाई धेरै सम्झना छ।
सेवारो
तपाईंको शुभचिन्तक
बलिन्द्र योङहाङ चोङ
फरक आयाम/सम्भव समूह
हाल चैं परदेशी, द.कोरिया
२० अगस्ट २०२५
(प्रस्तुत सामग्री बलिन्द्र योङहाङको फेसबुकबाट जस्ताको तस्तै लिईएको हो। सं.)
नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा विभाग प्रमुख राजन मुकारुङले आफ्नो फेसबुक वालमा गरेको पोष्ट हेर्नुहोस्ः