– मधुराज केरुङ
१.पृष्ठभूमि
१ साउन २०८२, पाँचथर। लिम्बुहरूले आफूलाई याक्थुङ् भनेर चिनाउँछन् । याक्थुङ भनेको स्वनाम हो भने लिम्बू परनाम पहिचान हो । विशेष गरी उनीहरूका साँस्कारिक कार्यहरूमा माङजिरी माङयाक्थुङसा अर्थात् खस भाषामा देवताका सन्तान र सुसुवेङ लालावेङ वा सुसुवा लिलिम याक्थुङ : सा सुसुवा लिलिमका सन्तान भनेर आफूलाई पुकार्छन् (माबुहाङ, २०६९ : १) । उनीहरू याक्थुङ भूमिमा थातथलो भएका सर्वप्राचीन जाति हुन् । मुन्धुम अनुसार उत्तरमा साया मुदेन् (चीन–तिब्बत), दक्षिणमा तेमेन वलङ (भारतवर्ष), पूर्वमा सुम्रोती उम्रोती (ब्रह्मपुत्र), र पश्चिममा थोसु वरुम्मा परुम्माओनु, योसु पारामावा ककामावा (माथि अरूणदेखि तल कोसी), सम्म पुष्टि हुन्छ (तुम्याहाङ, २०७४ : २९) । उनीहरू आफूले बोल्ने भाषालाई याक्थुङ पान भन्ने गर्छन् । यो भाषा भोट–बर्मेली परिवारको पूर्वीय शाखा अन्तर्गत बोडिक उपशाखाको हिमाली वर्गको पूर्वी किराँती भाषा हो (काइँला, २०६७ : १०) । यस जातिको आफ्नै समृद्ध लिपि छ, यसलाई किरात सिरिजङ्गा लिपि भनिन्छ । आफ्नै मौलिक जीवनदर्शन छ यसलाई मुन्धुम भनिन्छ । मुन्धुमले मार्गनिर्देशन गरे अनुरुप आफ्नो सम्पूर्ण संस्कृति र कर्मकाण्डहरु सम्पन्न गर्ने गर्छन् । यस जातिको टेरिटोरी पूर्वी लिम्बुवानको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्थुम आदि जिल्लाहरु हुन् । यस ठाउँहरु बाहेक अन्यत्र काठमाडौं उपत्यका, चितवान, भारतको सिक्किम, दार्जिलिङ र युरोपका विभिन्न ठाउँहरुमा छरिएर बसेका छन् । यी जातिको आफ्नो फरक मूल्यमान्यता, आस्था, विश्वास, आदर्श, जीवनशैली, समाजव्यवस्था, मनोविज्ञान, अर्थप्रणाली र वैश्विक दृष्टिकोण रहेको छ । प्रकृतिपूजक भनेर चिनिने यस जातिको ऋतु परिवर्तनसँग सम्बद्ध विभिन्न मौलिक चार्डपर्वहरु छन् । यी जातिले कक्फेवा तङनाम, याक्वा तङनाम, सिसेःक्पा तङनाम, वालिहाङ तङनाम, चासोक् तङनाम आदि मौलिक चार्डपर्वहरु मनाउने गर्छन् । यस आलेखमा अन्य चाडपर्वहरुको बारेमा थाति राखेर सिसेःक्पा तङनामको बारेमा मात्र चर्चा गर्ने प्रयत्न गरिएको छ ।
२.सिसेःक्पा तङनाम लिम्बू जातिको मौलिक चार्ड हो कि होइन ?
सिसेःक्पा तङनाम लिम्बू जातिको मौलिक पर्व हो कि होइन भन्ने विषयमा थुप्रै मत मतान्तरहरु देखिएका छन् । विषेश गरेर नेम्बाङ (सन् २०१५) को पृष्ठ २०–२३ मा साउने सङ्क्रान्ति मौलिक चार्ड नभएर हिन्दू पर्व नै हो भनेर ठोकुवा गरेका छन् । उनले गोविन्द्रप्रसाद सापकोटा, कान्तिपुर दैनिक, १०, जुलाई, १९९३ लाई उदृत गर्दे लेख्छन् “साउने सङ्क्रान्तिमा श्रीसत्यनारायणको व्रत लिने, कण्डारक राक्षसको पूजा गर्ने र संस्कृतमा मन्त्रोच्चारण गर्ने जुन कार्य गरिन्छ, त्यो विशुद्ध हिन्दू धार्मिक संस्कार हो । यसबाट साउने सङ्क्रान्ति लिम्बू चाड नभई हिन्दू पर्व नै भएको पुष्टि हुन्छ” । नेम्बाङको यस तर्क कुनै गतिलो तथ्यमा आधारित देखिदैंन । उनले जम्माजम्मी गोविन्द्रप्रसाद सापकोटाको लेखको आधारमा आफ्नो दलिल पेस गरेका छन् । लिम्बू जातिको सिसेःक्पा तङनामलाई हिन्दूवादी साउने सङ्क्रान्तिको आधारमा प्रष्ट्याउने प्रयास गरेका छन् । नेम्बाङको अन्टोलजी नै हिन्दूकृत भएको देखिन्छ । कतिपय चार्डपर्वहरु एउटै समय र मितिमा पर्नु सुखद संयोग मात्रै हो । नेम्बाङले अरु कुनै बैज्ञानिक आधार उल्लेख गरेका छैनन् ।
सिसेःक्पा तङनाम लिम्बू जातिको मौलिक चार्ड होइन भन्ने अर्काजना दिलेन्द्र कुरुम्बाङका तर्क छ “यो चार्ड पूरै हिन्दू क्यालेन्डर र तिथिमितिको आधारमा छ । हिन्दूहरुले आफ्नै देवीदेवताको पूजा आराधना गर्छन् । यस चार्डमा हाम्रो कुनै देवी देवताको पूजापाठ नगरिनुले अरुकै पर्वलाई स्वीकार गरेका मात्र हुन्” (भेटघाटको छलफलमा) । कुरुम्बाङको यस तर्कमा हिन्दू क्यालेन्डरमा तिथिमिति मिलेको कुरालाई संयोग मात्र मान्न सकिन्छ । संसारका चार्डहरु कतिपय एउटै समयमा पर्छ । दोस्रो कुरा लिम्बू मौलिक चार्डपर्वहरुमा आफ्नो देवीदेवताहरुको पूजाआराधना गर्नेपर्छ भन्ने केही छैन । तसर्थ कुरुम्बाङको यस तर्क पनि विश्वासयोग्य र वैज्ञानिक छैन ।
अब सिःसेक्पा तङनामको बारेमा लावती (२०६२), र लिम्बू गाउँका त्तुत्तुतुम्याहाङ फेदाङमा, साम्बा, येबा र येमानीहरुले भन्ने दुईवटा आख्यानहरु यस प्रकारको छ ।
पहिलो आख्यानः
माङहाङ राजाको शासन कालमा ठूलो अनिकाल लागि मानिसहरु भोकभोकै मर्न थाले । उतिबेला माङहाङ राजाले तागेरा निङवाभूमाङसँग प्रार्थना गर्नुभो । तागेरा निङवाभू माङले सपनामा भन्नुभयो बिहान उठेर तिम्रो बारिमा हेर्नु र अन्नबाली उम्रेको देख्यौ भने खानु भन्ने उपदेश दिनुभयो । बिहान उठेर बारिमा हेर्दा साँच्चै मकै, सिमी र अन्नहरु पाकेको देख्यो र सबैलाई चुम्लुङमा बोलाएर बारिबाट टिपेर खाऊ भन्ने आदेश दियो । जनताहरु सबै खुशी भए र सालैपिच्छे तागेरा निङवाभूमाङको पूजा अर्चना गर्दे सालबसाल यो पर्व मनाउन थाले भन्ने आख्यान छ ।
दोस्रो आख्यानः
जब मानिस जाति प्रगतिको पथमा लम्किदै गएर माङहाङ राजाको पालामा आइपुग्दा घमण्डको पोखरीमा चुर्लुम डुब्न पुगे । सृष्टिकर्ता तागेरा निङवाभूमाङको पूजा अर्चना गर्न छाडे । मानिसहरु घमण्डले बेलुन जत्तिकै फुलिन थाले । यस्तो अवस्था देखेर तागेरानिङवाभू माङले मानिसहरुलाई चेतावनीको लागि पृथ्वीमा लामो समयसम्म खडेरी लगाईदिनुभो । यसको परिणामस्वरुप बालीनाली वनस्पती, कुवा, ताल, पोखरी र खोलानालाहरु सुके । पृथ्वीबासी मानिस र चराचर जगतमा हाहाकार मच्चियो । पशुप्राणीहरु सबै भकाभक मर्न थाले । यस्तो अवस्था देखेपछि माङहाङ राजा अति नै दुःखि हुनभयो र यसको उपाय खोज्न ठूलो चुम्लुङ बोलाउनुभयो । यस बैठकमा सबै राजाहरुले आ–आफ्नो धारणाहरु राखे । अन्तिम वक्ता निङवाहाङ नामका ज्ञानी मन्त्री उठेर भने “महाराज यो दैवी विपत्ति भएको हुँदा यसको उपाय हामी पत्ता लगाउन सक्दैनौं । उपाय पत्ता लगाउने काम हाङफेदाङमा (मुख्य राजगुरु) लाई नै जिम्मेवारी दिनुपर्छ । उहाँले नै यसको समाधान गर्नुहुन्छ” । भन्ने प्रस्ताव सर्वसम्मतले पारित भयो । त्यसपछि यसको समस्या समधान गर्ने जिम्मेवारी हाङफेदाङमाले पायो । हाङफेदाङमा बिहानै उठेर नुवाइधुवाई गरेर चोखोनितो भएर माङसँग बलबुद्धि माग्नुभयो । त्यसपछि बर्षा हुन थाल्यो र विउविजनहरु उम्रन थाले भन्ने आख्यान छ ।
यी दुई आख्यानहरु मिथमा आधारित छन् । मिथक भनेको सत्य पनि हुन सक्छ काल्पनिक पनि हुन सक्छ । मिथकशास्त्रीहरुले मिथक भनेको सुदूर अतितको घटना हो भनेका छन् । मिथकबाट नै हामी हाम्रो इतिहास र परम्परा बुझ्न सहयोग मिल्छ । हाम्रो पूर्खाहरुले कसरी संघर्ष गरे र को को थिए ? सभ्यताको विकासक्रममा घटित अनेक कथाकिंवदन्तीहरु नै मिथक भएर बाँचेका हुन्छन् । प्रस्तुत आख्यानहरु पनि लिम्बू जातिको परम्परासँग सम्बद्ध छन् । लिम्बू जातिको सम्पूर्ण इतिहास अलिखित हुने भएकोले श्र्रुतिशास्त्रलाई नै विश्वास मान्नुपर्ने हुन्छ र हाम्रा पूर्खाहरुले परापूर्वकालदेखि अपनाइल्याएका संस्कार र संस्कृतिहरुलाई नै अनुसरण गर्नुको बिकल्पन पनि छैन । जुन पर्वमा आफूलाई पाउन सकिन्छ कि सकिदैंन भन्ने सवाल मात्रै प्रधान विषय हो । चाडपर्व भनेको मानवनिर्मित साँस्कृतिक सम्पदा भएकाले आफ्नो दर्शन, जीवनगाथा, परिवेश र कथाव्याथाहरुसँग मेल खान्छ भने त्यो मौलिक संस्कृति हो भन्दा अत्युक्ति हुँदैन । सिसेःक्पा तङनाम मुलतः लिम्बू जातिको भोक र तिर्खासँगको संघर्षको इतिहास हो । मुन्धुममा लिम्बू पूर्खाहरुले उहिल्यै डरलाग्दो खडेरी र भोकमारी सहन गरेर उत्तरजीवितता सञ्चालन गरेका अनगिन्ती मार्मिक कथाहरु पाइन्छ । ठूलाठूला समस्याहरु आइपर्दा तागेरा निङवाभुमाङको उपदेश र सुझाव मुताविक कार्य गरे समस्याहरुको निदान भएको भेटिन्छ । सिसेःक्पा तङनाम लिम्बू जातिको कृषि प्रणालीसँग सम्बन्धित चार्ड हो यसमा दुईमत छैन । यसमा लिम्बू पूर्खाहरुको दुःख र दुर्भिक्षको याथार्थिक कहानी छ तसर्थ सिसेःक्पा तङनाम मौलिक लिम्बू चार्डपर्व हो भन्दा फरक पर्देन । मौलिक चार्ड नै हो भन्ने कुरा यसको दर्शन, मूल्यमान्यता र पद्धतिले नै आफै पुष्टि गर्छ । जस्तै ः सिसेःक्पा लिम्बू शब्द हो । जसलाई पर्वते भाषामा साउने सङक्रान्ति भनिन्छ । तङनाम पनि लिम्बू शब्द हो जसलाई पर्वते भाषामा चार्ड भनिन्छ । यसमा सर्वप्रथम तागेरा निङवाभूमाङलाई सेवा अर्चना गर्नु, पाकेको अन्नबाली र फलफूल चढाउनु जस्ता कार्यहरु प्रकृतिपूजक लिम्बू जातिले अपनाउने विधि र विश्वास हो । यसमा अनिवार्य रुपमा प्रयोग गरिने सिःसेक्पा फूल लिम्बूवानको विभिन्न क्षेत्रहरुमा पाइन्नु, र यसै समयमा मात्र फुल्नु । हाम्रा पूर्खाहरुले हरेक बर्ष सक्नात् गर्नु (अनिकाल देखाउनु) र अनिकाल खेदाउँदा आवश्यक पर्ने सबै सामगी्रहरु स्थानीय तहमा प्राप्त हुनु, सबै चाडपर्वहरुको चक्रिय सम्बन्ध देखिनु आदिले पनि सिसेःक्पा तङनाम मौलिक लिम्बू चार्डपर्व हो भन्ने कुराको पुष्टि गर्छ ।
बस्तुत ः सिसेःक्पा तङनाम लिम्बू पूर्खाहरुले अनादिकालदेखि नै मनाउँदै आएको मौलिक चार्ड हो । यो चार्ड प्रायः श्र्रावण एक गतेका दिन मनाउने गरिन्छ । अनिकालदेखि मुक्त भएको खसीउत्सवको चार्ड हो ।
३.सिसेःक्पा तङनाम मनाउने सामग्री र विधिशास्त्र
३.१. आवश्यक सामग्रीहरु
यस तङनामलाई मनाउन विभिन्न प्रकारको सामग्रीहरुको आवश्यक पर्छ । ती सामग्रीहरुलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
क. सिसेःक्पा फूल (क्लेरेरेन् फ्रोन) अनिवार्य ख. अडेरी (सिदिङबा) ग. हर्कटो (युक्मिबा) घ. कुरिलो ङ. कुकुर दाइनो च. बरपिपलको पात छ. सिस्नो ज. विभिन्न फलफूलहरु झ. बाबियो ज. बाबियोको कुचो झ. नयाँ पाकेका अन्नहरु ञ. थाल ट. नाङलो ठ. डोको ड. अगुल्टो वा राँको ढ. काउलोको पात लगायतका सामग्रीहरुको आवश्यक पर्छ ।
३.२.सिसेःक्पा तङनाम मनाउने विधिशास्त्र
सिसेःक्पा तङनाम मनाउने आफ्नै प्रकारको विधिशास्त्र छ । साउन १ गतेका दिन मनाउने यस चार्डमा सर्वप्रथम बिहानै उठेर नुवाइधुवाई गरेर चोखोनितो भएर सर्वशक्तिमान तागेरा निङवाफु माङको सेवा गर्ने गरिन्छ । त्यसपछि खेतबारीमा पाकेको अन्नहरु जस्तै ः मकै, सिमी, भटमास, खोर्सानी लगायतका माथि उल्लेख गरिएका सामग्रीहरु भेलाउने काम गरिन्छ । दिउँसो घाम अस्ताउने समयमा बाबियोको डोरीमा फलफूल र नयाँ पाकेका अन्नबालीहरु बाँधेर राखिन्छ । यसरी उनिएका फलफूलहरुलाई घरको वरिपरी टाँगेर राख्ने गरिन्छ । यसलाई साक्नामच्योङ भन्ने गरिन्छ । त्यसपछि सबै जना एकै ठाउँमा जम्मा हुने र घर–घर कुना–कुनाबाट, चुलाबाट, सिकुवाहरुमा थाल बजाउँदै, नाङलो ठटाउँदै र सिस्नोले कुट्दै अनिकाल खेदाउन थालिन्छ । अनिकाल खेदाउँदा भनिने मुन्धुम यस प्रकारको हुन्छ ।
सर्लङ….सोए….सर्लङ..सोए ।।
साक्नाम् पेगे? या?नाम् ते?ओ ।।
साक्नाम् पेगेओ?, हिङनाम् ते?ओ ।।
साक्नाम् पेगे? नुवाम् ते?ओ ।।
साक्नाम् पेगे? हाङहाङनाम् ते?ओ ।।
मेन्नुमेन्दा पेगे?ओ, नुमाताम ते?ओ ।।
तुक्मा लाःक्मा पेगे?ओ, नुमावामा ते?ओ ।।
लाम्बो खक्वा पे?गेओ, याम्जाःङवा ते?ओ ।।
तुक्मा लाक्मा तुङ् पे?गे, नुमातामा ।। ते?ओ ।।
डी.बी. आङबुङ (स्रोत ः युटुब)
नेपाली अनुवाद–
सर्लङ…सोए…सर्लङ…सोए ।।
अनिकाल जाउ, सहकाल आउ ।।
अल्पायु जाउ, दीर्घायु आउ ।।
गरिबी जाउ, समृद्धि आउ ।।
रोग्यता जाउ, अरोग्यता आउ ।।
दुःख बिराम जाउ, स्वास्थ्य आउ ।।
यसरी पश्चिमतिर खेदाएर आफूले बोकेको राँको, अगुल्टो र अररीको काँडाले बाटो छेकिन्छ यसलाई साक्लाम्धेक भनिन्छ । आफूहरुले लगेको सामग्रीहरु सबै उतै फालिराखिन्छ । त्यसपछि खुट्टाको कुर्कुच्चाले थेचारेझै गरी फेरी यता फर्केर नआउ है भन्दै बाटो छेक्ने मुन्धुम वाचन गरिन्छ–
साक्नाम् मेन्नुःङङे पेगे?ओ ।।
केनुःङगर मिधप्पु चिओ? केजारो ।।
सिदिःङबा तिःङ्ले चिउःक् केजारो ।।
यक्मिबा फेयारें चिहेंक् केंजारो ।। (डी.बी. उही)
नेपाली अनुवाद–
अनिकाल नफर्कि जाउ है ।।
यदि फर्किस भने त
अगुल्टोको पोलाई खालास् ।।
अररीको काँडाले घोचि खालास् ।।
युक्मिबाको कटाइ खालास् ।।
यसरी अनिकाललाई खेदाएर बाटो छेकेपछि फेरि चुपचाप घर फर्किने गरिन्छ । यस अनिकाल खेदाउँदा वाचन गरिने शब्दहरु आफैमा लोककविता हो । यसलाई साक्नात् पेन्युक भनिन्छ ।
४.सिसेःक्पा तङनामको महत्ता
सिसेःक्पा तङनामको महत्ता यति नै छ भनेर सीमितिकरण गर्न सकिदैंन । सर्बप्रथम यस चार्ड लिम्बू जातिको मौलिक पर्व भएकोले सम्बन्धित जातिलाई स्वसंस्कृतिको पालन गर्न प्रेरित गर्छ । कसरी आफ्ना पूर्खाहरुले प्रकृतिसँग संघर्ष गर्दे भोक र तिर्खालाई समन गरे भन्ने कुरालाई बुझाउन मदत पु¥याउँछ । साउन १ गतेका दिन मनाइने यस चार्डपर्वले असारे कामको चटारोबाट छुटकारा पाएको समय हुनाले सबै आफ्ना आफन्त र छोराछोरीहरुसँग पनि भेटघाट गर्न सकिने हुन्छ । कुनै पनि चार्डपर्व विशेष दिनमा मनाइने हुनाले यसले सामाजिक सद्भाव, आत्मीयता, मायाप्रेम, भाइचारा, मेलमिलाप र निकटता बढाउँछ । शुभकामना आदान–प्रदान गर्ने कार्यले सबैमा जोस, जाँगर र हौसला समेत बढाउँछ । मनोबैज्ञानिकहरुका अनुसार यस्ता चार्डपर्वहरु आफैमा थेरापी हुन् । जसले शारिरिक, आत्मिक, मनोबैज्ञानिक र सामाजिक समस्याहरुलाई हल गर्न मदत गर्छ । अहिले सूचना र प्रविधिको अतिसय प्रयोगले अटिजम जस्ता रोगहरुबाट मुक्त गराउन पनि सहयोग पुग्छ । सबैभन्दा महत्वपूर्ण कुरा अहिले पश्चिमी संस्कृति अनुकरण गरिरहेका पुस्ताहरुलाई आफ्नो मौलिक संस्कृति अंगिकार गर्नमा सहयोग पु¥याउँछ र म को हुँ ? मेरो खास संस्कृति के हो ? मेरा मौलिक चार्डपर्वहरु के के हुन ? भन्ने बारेमा बुझ्ने अवसर पनि प्राप्त गर्छन् ।
५.निष्कर्ष
विभिन्न आधारहरुबाट सिसेःक्पा तङनाम लिम्बू जातिको मौलिक चार्ड हो भन्ने कुरा पुष्टि हुन्छ । यो चार्ड प्रत्येक बर्षको श्रावण १ गतेका दिन मनाउने गरिन्छ । अनिकाल खेदाउने र सहकाल बोलाउने यस चार्डमा नयाँ पाकेका अन्नबाली र फलफूलहरु चढाउने गरिन्छ । आज आत्तरिक र बाह्य साँस्कृतिक उपनिवेशका कारण यस प्रकारका मौलिक चार्डपर्वहरु दिनदिनै लोप हुँदै गइरहेको छ । अब यस प्रकारका चार्डपर्वहरुलाई आफ्नै मूल्यमान्यता, परम्परा र विधिअनुरुप मनाउनुपर्छ । अनि मात्रै आफ्नो पहिचान बलियो हुन्छ । यसरी चार्ड पर्वहरु मनाउने क्रममा अतिरञ्जित र भड्किलो रुपमा नभएर आफ्नो औकात अनुसार मनाउनु जान्नुपर्छ । नेपाली उखान “घाँटी हेरी हाड निल्नु” भन्ने उक्तिलाई हृदयङगम गर्नुपर्छ ।
सन्दर्भ सामग्री काइँला, बैरागी (२०६७), लिम्बू–नेपाली–अङ्गेजी शब्दकोश, (तेस्रो संस्मरण) काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान । तुम्याहाङ, अमर (२०७४), किरात याक्थुङ् जाति चिनारीका आयामहरू, काठमाडौँ : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान । नेम्बाङ, बीर (सन् २०१५), माङहुप् ः मौलिक लिम्बू चाड, लिम्बुवान : दिलसिङ मेन्याङबो ‘मेन्निसा’ । माबुहाङ, अर्जुन (२०७९), लिम्बू जातिको मुन्धुम र इतिहास, तेह्थुम : हरिश्चन्द्र माबुहाङ र भीम माबुहाङ । लावती, येहाङ (२०६२), आदिबासी लिम्बू जातिको सङ्क्षिपत परिचय, लिम्बुवान : दिलबहादुर लावती ।