सुजता लिम्बू
३० भदौ २०८२, विराटनगर। ड्रेस छैन, भवन छैन। तर विषम परिस्थितिमा पनि प्रहरी जवानहरूले आफ्नो ऊर्जा र कर्तव्यपरायणतालाई कहिल्यै खस्कन दिएनन्।
कति साथीहरू आँखा अगाडि ढले, जनतालाई सुरक्षा दिने घरहरू जले। तर पनि उनीहरूको आत्मबल खस्किएन। व्यक्तिगत दुःख, पारिवारिक जिम्मेवारी र समाजबाट आउने नकारात्मक धारणासँग जुध्दै पनि उनीहरू अडिग छन्। उनीहरु भन्छन्, ‘प्रहरीको जीवन त्यस्तै हो।’
आन्तरिक संघर्ष र बाह्य दबाब सँगसँगै आउँछ, तर संगठनप्रतिको निष्ठा र जनताको सेवाप्रतिको दृढ संकल्पले उनीहरूलाई निरन्तर अघि बढाइरहेको छ। आन्दोलन पछि काममा फर्किएका एक प्रहरी जवान भन्छन्, ‘खरानीमाथि नयाँ आयामसहित प्रहरी उठोस्, समाजले फरक दृष्टिकोणले हेरोस्।’
आन्दोलनपछि सडकको किनारमा ड्युटीमा उभिएका सहायक हवल्दार मनमा देश सेवाको गहिरो भावना छ, तर समाजबाट उचित सम्मान र बुझाइको अपेक्षा रहेको बताउँछन्।
बिरामी आमा–बाबुको जिम्मेवारी बोकेर, बर्दीभित्र हजारौं सपना साँचेका जवानहरू अझै पनि दिनरात जनताको सुरक्षाका लागि तत्पर छन्। एक जना जवान भन्छन् ‘हिजोको चुनौती हार थिएन, बरु प्रहरी र देशको महत्व बुझाउने अग्निपरीक्षा थियो।’
प्रहरीले जनताको सुरक्षाका लागि कदम चाल्छ। कहिलेकाहीँ ‘अपराधी’ को उपनाम दिइन्छ, वा ‘हात छोड्यो’ भन्ने आरोप लगाइन्छ। उनी भन्छन् ‘हाम्रो उद्देश्य सधैं जनताको रक्षा नै हो।’
यस्ता कठिन परिस्थितिमा कमान्डर र सहकर्मीबाट पाएको गर्विलो साथले हौसला अझ बढेको बाउँछन्।
त्यही छेवैमा उभिएकी एक जवान हाँस्दै भन्छन, ‘आमाको फोन थियो।’ लामो सुस्केरा हाल्दै सुनाउँछिन, ‘आमाको दुखेको मन सम्हाल्छौं, तर अहिले विभाग दुखेको छ, तर फेरि उठ्नु छ’ नयाँ तरिकाबाट उठ्नु जरुरी रहेको सुनाउँछिन।
विभागले प्रहरी हुनुको गौरव दिएको र त्यसैले पनि पवित्र संगठनलाई अझ पवित्र बनाउन तत्पर रहनुपर्ने जिम्मेवार आएको उनीहरूको भनाइ छ।
प्रहरी जवानहरूको एउटै आवाज छ– अब खरानीमाथि नयाँ आयामसहित प्रहरी उठ्नुपर्छ। प्रहरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्छ। समाजले प्रहरीको त्याग, अनुशासन र समर्पणलाई बुझ्न जरुरी छ। प्रहरीले आत्मसम्मानका साथ कर्तव्य पूरा गर्न पाउनुपर्छ, र समाजले उनीहरूलाई त्यही सम्मानका साथ हेर्नुपर्छ।
एक प्रहरी अधिकृत भन्छन्, ‘समाजले जसरी प्रहरीलाई मानवताको अन्तिम विन्दु भन्दा तल राखेर व्यवहार गरेको छ, त्यसले प्रत्येक स्वाभिमानी प्रहरी कर्मचारीको मनोबलमा पक्कै ठेस लागेको छ ! ठेस लागेको हो, तर ढलेको छैनौं, हामी उठ्ने छौँ, अझै बलियो भएर ।’
