१३ माघ २०८१। ताप्लेजुङ जिल्लामा अवस्थित पूर्वको प्रशिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथीभरा) क्षेत्र यतिबेला अशान्त छ। मनोकांक्षा पूरा हुने विश्वासले वर्षेनी लाखौं श्रद्वालु भक्तजन पुग्ने मुक्कुमलुङ (पाथीभरा) क्षेत्र तनावग्रष्त बन्नु आफैंमा शुभ कुरो होइन। मुक्कुमलुङ (पाथीभरा) पुग्ने भक्तजन र पर्यटकका सुविधाको लागि भन्दै त्यस क्षेत्रमा केवलकार निर्माणको प्रक्रिया र काम अघि बढेसँगै मुक्कुमलुङ (पाथीभरा) अशान्त बन्न पुगेको हो।
पाथीभरा मुक्कुमलुङ केवलकार प्रा.लि.ले त्यहाँ केवलकार निर्माणको प्रक्रिया अघि बढाएसँगै विवाद सुरु भएको हो। मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति निर्माण भई मुक्कुमलुङमा ‘नो केवलकार’ आन्दोलन जारी छ भने निर्माण कम्पनीले स्थानीय प्रशासनको सुरक्षामा केवलकार निर्माणको काम अघि बढाएको छ। यसै क्रममा केवलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रममा २०८१ कार्तिक २३ गते केवलकार बनाउन नदिने र दिने पक्षबीच झडप हुँदा ६ जना घाइते भएका थिए।
त्यसयता मुक्कुमलुङ (पाथीभरा) क्षेत्र अशान्त छ। यो अशान्तिले २०८१ माघ १२ गते उग्र रुप लियो। ‘नो केवलकार समूह’ र प्रहरीबीच झडप हुँदा अश्रुग्याँससँगै गोली चलेको छ। मुक्कुमलुङ (पाथीभरा)को तल्लो फेदीभन्दा केही माथि फुङलिङ नगरपालिका–११ बलुडाँडामा भएको यस घटनामा परी आन्दोलनकारी र सुरक्षाकर्मी दुबैतर्फ घाइते भएका छन्। झडपको क्रममा तथा प्रहरीको गोली लागि आन्दोलनरत पक्षका यामबहादुर लिम्बू, मंगल लाओती, सगुन लाओती र धर्म पालुङवा घाइते भएका छन्। घाइतेमध्ये गम्भिर अवस्थाका यामबहादुर, सगुन र धर्मलाई जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचार पश्चात विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुयार्ईएकोमा त्यहाँ उपचार सम्भव नभएपछि आइतबार दिउँसो नेपाली सेनाको हेलिहप्टर मार्फत् थप उपचारका लागि काठमाडौं लगिएको छ।
घटनामा घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुको अवस्था सामान्य रहेको बताइएको छ। आन्दोलनरत पक्षले भने कतिपय घाइतेहरु अझै सम्पर्कमा आउन नसकेका जनाएको छ। स्थिति नियन्त्रणभन्दा बाहिर जाने भएपछि हवाई फायर गरिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले बताएका छन्। आन्दोलनरत पक्षले भने मुक्कुमलुङ संरक्षणकर्मीमाथि प्रहरीले अन्धाधुन्द लाठिचार्जपछि गोली प्रहार गरेर राज्य आतंक मच्चाउने काम भएको आरोप लगाएको छ।
पवित्र धार्मिक स्थलमा गोली चल्नु आफैंमा शुभ संकेत होइन। पाथीभरा मुक्कुमलुङ केवलकार प्रा.लि.ले फुङलिङ नगरपालिबाट निर्माण अनुमति लिएर तल्लोफेदीदेखि मुक्कुमलुङ (पाथीभरा) डाँडा नजिकसम्म २.७ किलोमिटर केवलकार निर्माणको काम सुरु गरेको हो। तर ‘नो केवलकार’ समूहले केवलकार निर्माणले पवित्र धार्मिक स्थललाई व्यापारिकरण गर्ने कार्य हुने, मुन्धुमी, आध्यात्मिक स्थल र शक्तिपुञ्जको रुपमा रहेको मुक्कुमलुङमाथि धार्मिक, साँस्कृतिक अतिक्रमण हुने, त्यहाँको पर्यावरणमा नकारात्मक असर पर्ने, सबैको धार्मिक आस्थाको केन्द्रलाई मुनाफा कमाउने कम्पनीलाई सुम्पिन नहुने माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन्।
शनिबारको घटनापछि मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति र पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति लगायत संघ–संस्थाले विभिन्न सात बुँदे माग राख्दै २०८१ माघ १५ देखि मेची हाइबे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरुमा अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेका छन्। यसबाट सर्वधारण नागरिकले अझै दुःख पाउने निश्चित छ। मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा भएको उक्त घटनालाई लिएर राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै तत्काल आन्दोलनरत पक्षसँग संवाद गरी समस्याको समाधान खोज्न नेपाल सरकार समक्ष माग गरेको छ। आन्दोलनरत पक्षलाई पनि संयम्ता अपनाउन आग्रह गरेको छ।
घटना सम्बन्धमा जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, किरात याक्थुङ चुम्लुङ संघीय समिति, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं.प्रदेश समिति लगायतले विज्ञप्ती जारी गरेका छन्।
धार्मिक आस्थाको केन्द्रमा यो हदसम्मको घटना हुनु आफैंमा राम्रो होइन। यो दुःखद परिस्थितिमा सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। राष्ट्रिय तथा अन्तरराष्ट्रिय मानव अधिकारवादी संस्थाहरुलाई स्थलगत अनुगमन गरी मानव अधिकार रक्षा एवंम् बिबाद निरुपणका लागि भूमिका निर्वाह गर्न अनुरोध गर्दछौं। आन्दोलनरत पक्षलाई संयम्ता अपनाउन साथै सम्बद्ध पक्ष र नेपाल सरकारलाई तत्काल वार्ता र संवादको माध्यमबाट आन्दोलनरत पक्षको जायज माग र असन्तुष्टिलाई सम्बोधन गर्दै विवाद समाधान गर्न आग्रह गर्दछौं।
