१४ माघ २०८१, पाँचथर। ताप्लेजुङमा रहेको प्रशिद्ध धार्मिक स्थल मुक्कुम्लुङ (पाथीभरा)मा निर्माण भइरहेको केवलकार खारेजीको माग सहित आन्दोलन गरिरहेका पक्षले माघ १५ देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।
मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ संघीय समिति, प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्।
माघ १५ गतेदेखि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने सबै नाकाहरुमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको विज्ञप्तीमा उल्लेख छ। मुक्कुम्लुङ संरक्षणकर्मीहरुले शान्तिपूर्ण रुपमा बसेको ठाउँमा सशस्त्र प्रहरी गएर निर्ममतापूर्वक लाठिचार्ज गर्ने, गोली चलाएर गम्भीर घाइते बनाउने काम राज्य पक्षबाट भएको मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिमले बताए।
आन्दोलनरत पक्षले साँस्कृतिक अतिक्रमण गरी मुक्कुम्लुङ (पाथीभरा)मा केवलकार बनाउन खोज्ने ग्लोवल आईएमई बैंकमा रहेको बैंक खाता बन्द गराउने, ग्लोवल आईएमई बैंकका विभिन्न शाखाहरुमा शान्तिपूर्ण धर्ना दिने, केवलकार बनाउने अनुमति दिने ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलाई ताप्लेजुङ बाहिर निषेध गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेका छन्। मुक्कुम्लुङ (पाथीभरा)मा केवलकार निर्माणकार्य स्थगित नभएसम्म आन्दोलन फिर्ता नहुने पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले बताए।
मुक्कुम्लुङ (पाथीभरा)को तल्लो फेदी नजिकै केवलकारको लागि जमिन सम्याउने क्रममा शनिबार प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो। झडपको क्रममा गम्भीर घाइते भएका आन्दोलनरत पक्षका याम बहादुर लिम्बू, सगुन लाओती र धर्मेन पालुङवालाई विराटनगरस्थित नोवेल मेडिकल कलेजबाट थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको छ।
ताप्लेजुङ घटनाको बारेमा राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गरेको छ।


