प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं.
– मंगल बेघा
६ साउन २०८१, पाँचथर। परिवर्तन संसारको रित मात्र नभएर प्रकृतिको नियम पनि हो । कुनै कालखण्डमा भएका संरचना, ढाँचा, इकाई, सम्बन्ध, परम्परा वा विश्वासमाथि समयक्रमसँगै अर्को स्वरुपमा हुने रुपान्तरण नै परिवर्तन मान्न सकिन्छ । प्रयुक्त लेखको शीर्षक ‘त्यो फेदेन, यो फिदिम’ मा यहीँ परिवर्तनको अवस्थालाई चित्रण गर्ने जमर्को गरिएको छ । इतिहासको कुनै कालखण्डमा रहेको ‘फेदेन’ वर्तमान अवस्थाको फिदिममा रुपान्तरण हुँदा परिवर्तन भएका विषयहरु यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ । विशेष गरी, सामाजिक परिवर्तन एवंम् विकासका दृष्टिकोणले यहाँ भएको परिवर्तनलाई नियाल्ने प्रयास गरिएको छ ।
उद्विकासका आधारमा हेर्दा ‘फेदेन’ भन्ने स्थानको नाम याक्थुङ (लिम्बू) भाषावाट रहन गएको हो । ‘फे’ को अर्थ सम्म र ‘देन’ को अर्थ स्थान वा ठाउँ हो ।1 यसरी हेर्दा फेदेन भन्नाले सम्म स्थान वा ठाउँ भन्ने बुझिन्छ । पहाडी भौगोलिक क्षेत्रमा प्रायःजसो समथर भू–भाग बिरलै मात्र पाइने भए तापनि फेदेन बजार भने समथर भौगोलिक अवस्थितिमा नै रहेको हुनाले जसरी फेदेनका अर्थ लगाउने गरिएको छ, यसको भू–बनोटले प्रष्ट पारेको हुनाले यसमा सायदै दुई मत नहोला । यहीँ फेदेन भन्ने स्थानको नाम अपभ्रंश हुँदै अहिले फिदिम भएको हो ।
प्रसिद्ध लेखक Gillin and Gillin ले भनेका छन्– “सामाजिक परिवर्तन जीवनका स्वीकृत रीति वा चरणमा आउने परिवर्तन हो, चाहे त्यो भौगोलिक अवस्थिति, साँस्कृतिक साधनहरु, जनसंख्या बनौट, विचारधाराहरुमा परिवर्तन, समूहभित्र प्रचार वा आविष्कारले ल्याएको परिवर्तन हो ।”2 यी लेखकले भने झैँ वास्तवमा गतिशील समाजका विभिन्न पक्षहरुमा आउने परिवर्तन सामाजिक परिवर्तन हो । सामाजिक परिवर्तनका विभिन्न तत्व एवं पक्षहरु छन् । जनसांख्यिक, राजनीतिक, साँस्कृतिक, आर्थिक, प्राविधिक, मनोवैज्ञानिक, वातावरणीय एवंम् वैचारिक तत्वले सामाजिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको हुन्छ । समाज परिवर्तन एउटा क्रान्तिकारी र अर्को योजनावद्ध रुपमा हुने गर्दछ ।
पाँचथर सदरमुकाम फिदिम बजारको पुरानो तस्विर । तस्विर स्रोतः भवानी तावा
विकास बहुआयामिक प्रक्रिया हो । विकासका हरेक प्रक्रियामा आम जनताको अर्थपूर्ण सहभागिता रहनु पर्दछ भने न्यायोचित रुपमा उपलब्धीको वितरण समेत यसको अनिवार्य सर्त हो । विकासका सन्दर्भमा Fred Rigs भन्छन्– “विकास एउटा क्रान्ति हो । सामाजिक संरचना र उच्च तहको सामाजिक परिचालनमा वृद्धि गरी प्रतिव्यक्ति आम्दामी बृद्धि गर्ने प्रयास गर्दछ ।”3 यसर्थ, विकासले भौतिक पूर्वाधार मात्र नभएर सामाजिक विकासका विभिन्न आयामहरुमा समृद्धिको सपना देख्ने र त्यसलाई पूरा गर्ने जमर्को गर्नु पर्दछ ।
सामाजिक परिवर्तन र विकासका दृष्टिकोणले यस ठाउँको चरित्रलाई हेर्दा धेरै नै परिवर्तन भएको पाउन सकिन्छ । त्यसलाई यहाँ क्रमशः प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
भौगोलिक रुपमा हेर्दा नेपालको पूर्वी पहाडी भेगमा पर्ने पाँचथर जिल्लाको फिदिम नगरपालिकामा फिदिम बजार रहेको छ । यो बजार सदरमुकाम र जिल्लाको सबैभन्दा ठूलो बजार समेत हो । इतिहास हेर्दा नेपालका पूर्वी भेगका केही समथर र पहाडी क्षेत्रमा लिम्बुवान राज्य थियो । यस क्षेत्रको तत्कालिन लिम्बुवानका १० राज्य मध्ये पापोहाङ राज्यमा पान्थर रहेको थियो ।4 यसै गरी, लिम्बुवानका १७ थुम मध्ये पान्थर (नुभो उत्तर) थुममा फेदेन रहेको थियो ।5 जब नेपाललाई ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरियो, सो समयपछि बनेको पाँचथर जिल्लामा सो स्थान रहन गयो । पाँचथर जिल्लालाई ४१ गाउँ विकास समितिमा विभाजन गरिदा यो ठाउँ फिदिम भनेर नै नामाकरण गरियो । समयको विकास क्रमसँगै नगरोन्मुख गाउँ विकास समिति हुँदै नगरपालिकामा रुपान्तरण गरिएको थियो । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रिक शासन व्यवस्था कायम गरेसँगै मुलुक पुनःसंरचनामा गयो । यस अनुसार मुलुकलाई ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहमा विभाजन गरिएको छ । पाँचथर जिल्लालाई ७ गाउँपालिका र १ नगरपालिका सहित जम्मा ८ स्थानीय तहमा विभाजन गरिएको छ । जिल्लाको एक मात्र नगरपालिकाको रुपमा रहेको फिदिम नगरपालिकामा साविकका फिदिम, चोकमागु, लुम्फाबुङ, सिवा, रानीटार, लुङरुपा, नांगीन र याङनाम गाविसहरु समावेश गरिएको छ । यस नगरपलिकालाई १४ ओटा वडाहरुमा विभाजन गरिएको छ । यस नगरपालिकाको भौगोलिक अवस्थिति हेर्दा समुद्र सतहबाट १,३८० फिट, फिदिम–४ माझिटार देखि १०,७३७ फिट लुङरुपाको छिन्तापुडाँडा उचाइमा अवस्थित छ । यस नगरपालिकाको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ ।6 यसरी हेर्दा स्थानीय निकाय र स्थानीय तह हुँदा फेदेन (फिदिम) को भूगोल थपिँदा क्षेत्रफल परिवर्तन भएको पाइन्छ ।
जनसंख्या र बसोबासका दृष्टिकोणले हेर्दा लिम्बुवानमा लिम्बूहरु कहाँवाट कसरी यो क्षेत्रमा प्रवेश गरे भन्नेमा भिन्न भिन्न मत पाउन सकिन्छ । इतिहासकार इमानसिंह चेम्जोङले तीनतिरवाट लिम्बूहरु आएका बताए पनि अन्वेषक तथा इतिहासका अध्येता कृष्णविक्रम नेम्बाङका अनुसार लिम्बुवानमा अहिले झुरुप्प देखा परेका लिम्बूहरु एकै ठाउँ, एउटै दिशा र एकै पटक आएका मानव हैनन् ।7 लिम्बुवान क्षेत्रका प्रमुख बासिन्दा लिम्बू भएको आधारमा हेर्दा लिम्बुवानको भुगोलभित्र रहेको फेदेनका प्रमुख बासिन्दा याक्थुङ (लिम्बू)हरु हुन् भन्न सकिन्छ । पछि लिम्बुहरुले अन्य मानिसको बसोबास गराएको विश्वास लिन सकिन्छ । बजारको जग बसाउने र विस्तार गर्ने चरणमा यहाँको घर परिवार जनसंख्या न्यून थियो । समय क्रमसँगै बजार बिस्तार भएसँगै गाउँगाउँवाट यस ठाउँमा बसाई सर्नेका लहर चलेपछि यहाँको जनसंख्या वृद्धि भएको पाउन सकिन्छ । स्वास्थ्य, शिक्षा, यातायात, रोजगारीको अवसर लगायत सुबिधाले गर्दा मासिन गाउँवाट शहर पस्ने क्रम चल्यो । अझ जनयुद्धको प्रभाव पूर्वमा परेसँगै गाउँवाट सदरमुकाम बसोबास गर्ने लहर चलेसँगै यहाँको जनसंख्या वृद्धि भएको देखिन्छ । वि.स. २०५८ अनुसार फिदिमको जनसंख्या पुरुष ६८८९ र महिला ६७७४ गरी जम्मा १३,६६३ रहेको देखिन्छ । वि.स. २०६८ मा यहाँको जनसंख्या पुरुष ८,३६८ र महिला ९,०३१ गरी जम्मा जनसंख्या १७३९९ पुगेको देखिन्छ । यसै गरी, जनगणना २०७८ मा यहाँको जनसंख्या महिला २४,८१६ र पुरुष २३,६७० गरी जम्मा ४८,४०५ रहेको छ ।8 यसका आसपासका अन्य गाविसहरु समेत यसैमा गाभेर नगरपालिकाको भूगोल बिस्तार गरिएकाले पनि जनसंख्या वृद्धि भएको पाउन सकिन्छ ।
ड्रोन क्यामेराबाट लिइएको वर्तमान फिदिम बजारको तस्विर ।
पूर्वाधार विकासका हिसावले फेदेनलाई हेर्दा मूख्य बाटोका रुपमा रहेका पुरानो बैंक लाईन–ठाडो लाईन हुँदै शनिबारे निस्कने बाटो नै बजार क्षेत्रका रुपमा रहेको थियो । सो ताका यस बजारमा कच्ची घरहरु मात्र बनेका थिए । यातायात सुविधाका लागि मेची राजमार्ग बिस्तार हुने क्रममा सडकको इलाईटमेन्ट परिवर्तन भएपछि बजार क्षेत्र पनि सोही सडक आसपास बिस्तार हुने क्रम बढ्यो । सवारी साधन सुविधा सुचारु भएपछि फिदिम बजार क्षेत्रका रुपमा विकास हुन थाल्यो । अहिले फिदिम बजारभित्र मूख्य सहित सबै शाखा सडकहरु कालोपत्रे भएका छन् । बजार क्षेत्र भित्र ठूला र सुबिधा सम्पन्न भवनहरु निर्माण भएका छन् भने झुप्रा घरहरु करिब भेटिदैनन् । अझ पाँचथरको च्याङथापुदेखि बैतडीको झुलाघाटसम्म जोड्ने मध्यपहाडी लोकमार्गले छोएका १० ओटा बजारहरुलाई नमुना बजारका रुपमा विकास गर्ने सरकारको योजना अनुसार फिदिम बजार समेत छनोट हुनुले व्यवस्थित बजार बिस्तार र अन्य भौतिक पूर्वाधार विकासका गतिविधिहरु निरन्तर रुपमा निर्माण भईरहेका छन् । फिदिम बजारको आकर्षणका रुपमा ओम्देन (रमिते) भ्युटावर, बीपी पार्क निर्माण भईसकेका छन् भने गणेशमान सिंह स्मृति पार्क, महभीर क्षेत्रको पार्क निर्माणाधिन अवस्थामा रहेका छन् । नागरिकले हिजो प्रयोग गरेको टुकीको बदलमा विद्युत, दाउरा र स्टोभको बदलामा ग्याँस र विद्युतीय चुल्होको सुबिधा उपभोग गरिरहेका छन् । पूर्वाधार विकासका आयामहरुले यी सब सम्भव भएका हुन् ।
शैक्षिक दृष्टिकोणले हेर्दा फेदेन बजार भन्दा आसपास रहेका स्थानमा पहिले शैक्षिक गतिविधि भएको पाउन सकिन्छ । पूर्वकै प्रतिष्ठित शैक्षिक प्रतिष्ठानका रुपमा छिमेकी जिल्ला तेह्रथुमको चुहानडाँडामा क्याम्पस सञ्चालन हुँदा यहाँ उच्च तहको अध्ययन अध्यापन गर्ने वातावरण थिएन । जब पाँचथर बहुमुखी क्याम्पस २०३९ सालमा स्थापना भयो, त्यसपछि मात्र फिदिममा उच्च शिक्षा अध्ययन अध्यापनको लहर चलेको पाइन्छ । हालः यो क्याम्पसमा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन चलिरहेको छ । विद्यालयको इतिहास हेर्ने हो भने पनि आङसराङ स्थित जयनारायण मावि (तत्कालिन श्रीमार्गदेवी आधार पाठशाला) पहिले नै स्थापना भएको देखिन्छ ।9 जिल्ला सदरमुकाम फिदिम बजारमा अवस्थित फिदिम (तत्कालिन प्रसादसिंह) माविको स्थापना भएपछि यहाँ पठनपाठनको सुरुवात भएको देखिन्छ । यसपछि आसपासका क्षेत्रमा समेत सामुदायिक विद्यालय र नीजि विद्यालयहरु स्थापना एवं सञ्चालन भएपछि बजारले शैक्षिक विकासमा फड्को मारेको देखिन्छ ।
झण्डै ६ दशक अघिको फिदिमस्थित गणतन्त्र चोक र चारबरे। तस्विर स्रोतः लक्ष्मण लाओती
साँस्कृतिक रुपले हेर्दा यस क्षेत्रका आदिवासी याक्थुङ (लिम्बू)ले संस्कृति र अधिकारको संरक्षण गर्न संघर्ष गरेको पाईन्छ । यस सन्दर्भमा लिम्बुवान क्षेत्रमा लामो अध्ययन अनुसन्धान गरेका Lionel Caplan ले भनेका छन्– ‘‘लिम्बुहरु साँस्कृतिक अतिक्रमणलाई रोक्ने प्रयन्त गर्छन् र आफ्नो विशिष्ट संस्कृतिमाथि जोड दिएर छुट्टै समुदायको रुपमा रहन चाहन्छन् ।’’10 मान्दै आएको आफ्नो मौलिक संस्कार, संस्कृति रितिरिवाज एवंम् परम्पराहरु क्रमशः लोप हुँदै गएको पाउन सकिन्छ । विशेष गरी, यहाँ लाग्ने मेला, पर्व, विवाह, बर्खान्त लगायतका साँस्कृतिक कार्यहरुमा यहाँको संस्कृति झल्कने या?लाङ (धाननाँच), के?लाङ (च्याब्रुङ), ख्याली, हाक्पारे आदि अवलोकन गर्न पाइएको स्थानीय ज्येष्ठ नागरिकहरु बताउँछन् । पालाम गाएर नै महिला पुरुषबीच चिनजान, साइनो केलाउने र धान नाच्ने गरिन्थ्यो । समयको विकास क्रमसँगै अहिले यहाँको खास संस्कृति लोप हुने क्रममा पुगेको आभाष हुन्छ । या?लाङ, के?लाङ लगायतका लिम्बू समुदायको जीवन पद्धतीसँग जोडिएका साँस्कृतिक क्रियाकलापहरु अहिले कुनै औपचारिक कार्यक्रमको मञ्चमा पुगेका छन् । बजारको बिस्तारसँगै आफ्नो घरमा हुने विवाह समारोह अहिले सुबिधा सम्पन्न होटलमा आयोजना गर्न थालिएको छ । यसरी होटलमा आयोजना गरिने विवाहमा संस्कृतिको रुपमा प्रयोग गरिने बन्दुक पड्काउने कुरै भएन । हरेक घर घरमा गरिने चासोक पर्व अहिले कुनै संस्थाको व्यानारमा मञ्चमा आयोजना गर्न थालिएको छ । नेपाली संस्कृतिमा नभएको जन्मदिन केक् काटेर होटलतिर मनाउन थालिएको छ ।
आर्थिक हिसाबले हेर्दा ४० को दशकसम्म फिदिम सामान्य आर्थिक गतिविधि हुने केन्द्रको रुपमा स्थापित थियो । हटिया तथा स–साना पसलबाट मानिसहरु वस्तु तथा नगदको विनिमय गर्दथे । यस बजारमा यातायातका साधनको सुबिधा बिस्तार भएसँगै ठूला लगानीका व्यावसाय पनि सञ्चालन आउनुका साथै आर्थिक गतिविधि तिव्र रुपमा विकास भएको देखिन्छ । सुबिधा र सुरक्षाका लागि बजार पस्ने लहरले गर्दा बजारको जनसंख्या मात्र बढेन, यहाँका हरेक आर्थिक गतिविधिहरुमा तिव्रता ल्यायो । घरजग्गाको भाउ बढ्यो । फलस्वरुपः ठूला भवनहरु, व्यवस्थित होटल, विभिन्न सामग्री पाउने पसलहरु सञ्चालनमा आए । यसले यहाँको आर्थिक गतिविधिमा प्रभाव पारेको देख्न सकिन्छ ।
सञ्चार र प्रविधिका आधारमा हेर्दा यो बजारले धेरै नै ठूलो फड्को मारेको पाइन्छ । विगतमा भएको हुलाक मार्फत पत्राचार गरेर सूचना आदान प्रदान गर्ने चलन अपवाद बाहेक करिब अन्त्य नै भएको छ । समग्र मुलुकले यस क्षेत्रमा गरेको लगानी र स्थानीयले गरेका अभ्यासका आधारमा यो सुबिधाको उपभोग गर्न मानिस सक्षम भएका छन् । कुनै बेला रेडियो नेपालले निश्चित समय गर्ने प्रसारणको भरमा सूचना, समाचार र मनोरञ्जनका सामग्रीहरु अहिले बजारभित्र नै स्थापना भएका एफ.एम. रेडियो, अनलाईन पोर्टलहरु, समाजिक सञ्जाल लगायतले मानिसको हात हातमा पुर्याएको छ । यसै गरी, राष्ट्रिय र क्षेत्रीय टेलिभिजन स्थापनामा चलेको प्रतिस्पर्धाले नागरिकको पहुँचमा सूचनाका माध्यम पुगेका छन् । हरेक व्यक्तिसँग हुने मोबाइलको प्रयोगले रेडियो, घडी, टर्चलाईटको प्रयोगकर्ता एकाधमा सीमित बनाएको छ ।
नमूना शहरको रुपमा विकास भइरहेको पाँचथर सदरमुकाम फिदिम। तस्विरः गिरिराज बाँस्कोटा
टुङग्याउनीमा,
बेलाबखत हुने कुराकानीमा बाल्टिन र लाल्टिनको नाम ठिक उल्टो भयो भनेर प्रसङ्ग आउने गर्छ– बल्ने चिज नै नभएको सामग्रीलाई बाल्टिन र कुनै वस्तु लगाउने ठाउँ नभएको तर बल्ले सामग्रीलाई लाल्टिन भनियो भरेर । यसको सन्देश हो– कुनै पनि ठाउँ वा वस्तुको नाम राखिँदा आर्थपूर्ण हुनु पर्दछ । र, त्यसको इतिहास मेटिनु हुन्न । स्थान नामको महत्वलाई मनन् गर्दै भारतको ठूलो शहर बम्बईले आफ्नो मौलिक नाम मुम्बई नै राखेको छ । हाम्रै नजिकैको फालेलुङ गाउँपालिकाको मुकामका रुपमा रहेको परिवर्तित नाम थोक्लिम्बालाई मौलिक नाम थकेपुङ राख्ने निर्णय पालिकाले गर्यो । यसरी हेर्दा ‘फेदेन’ देखि ‘फिदिम’ सम्मको लामो यात्रामा यस बजारले धेरै आरोह अवरोहहरु पार गर्यो । यस बजारको मौलिक नाम सच्याउन अधिकार प्राप्त स्थानीय तहले कदम चाले इतिहास र संस्कृतिको सम्मान हुनेछ । अर्को विषय, मेची राजमार्ग, मध्यपहाडी लोकमार्ग, तामोर कोरिडोर, फिदिम–फालोट सडक, राँके–रवि–भेडेटार सडकको सुबिधा लगायतले यस स्थानको बजार अझै बढेर जाने सम्भावना देखिन्छ । विशेषतः मौलिक संस्कृतिको प्रवद्र्धन सहित पर्यटनको माध्यमबाट आर्थिक उपार्जनमा टेवा पुर्याउँदै समृद्ध नागरिक र समृद्ध शहरको अठोट पूरा गर्न सकिन्छ ।
1 https://www.phidimmun.gov.np
2 भोजेन्द्र अर्याल, सामाजिक परिवर्तन र विकासको अध्ययन/पेज नं. १
3 भोजेन्द्र अर्याल, सामाजिक परिवर्तन र विकासको अध्ययन/पेज नं. ३४
4 भवानी बराल र कमल तिगेला, लिम्बुवानको राजनीति/पेज नं. ३१
5 अर्जुनबाबु माबुहाङ र लक्ष्मण लावती, दश लिम्बुवान सत्र थुमको नीति/पेज नं. १५६
6 https://www.phidimmun.gov.np
7 कृष्णविक्रम नेम्बाङ, इतिहास पहिचान
8 https://censusnepal.cbs.gov.np
9 राप्रकाश समथिङ, तथ्याङकमा पाँचथर/पेज नं. ३६
10 लिओनेल कपलान, अनु– राजेन्द्र सुब्बा, पूर्वी नेपालमा लिम्बु जातिको कपिट र सामाजिक फेरबल/पेज नं. २०२
सन्दर्भ सामग्रीः
अर्याल भोजेन्द्र, सामाजिक अध्ययन र विकासको अध्ययन २०६८, काठमाण्डौ : ज्ञानकुञ्ज प्रकाशन
कप्लान लियोनल, अनु सुब्बा राजेन्द्र पूर्वी नेपालमा लिम्बु जातिको किपट र सामाजिक फेरबदल सन् २०१०, काठमाण्डौ जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र
गुरुङ रामप्रकाश समथिङ, तथ्याङ्कमा पाँचथर २०६९, विराटनगर तारा सुदर्शन र प्रदर्शन गुरुङ
दुलाल क्षेत्री डा. देवी, पाँचथरको इतिहास २०६९, काठमाण्डौ सक्सेस फाउण्डेशन
नेम्बाङ कृष्णविक्रम, इतिहास पहिचान २०७८, ललीतपुर ः मुन्धुम एकेडेमी
बराल भवानी र तिगेला कमल, लिम्बुवानको राजनीति २०६४, धरानः भानेन्द्रकुमार लिम्बू
माबुहाङ अर्जुनबाबु र लावती लक्ष्मण, दश लिम्बुवान सत्र थुमको नीति २०७८, काठमाण्डौं : तेजेन्द्र कुरुम्बाङ
https://censusnepal.cbs.gov.np
https://www.phidimmun.gov.np