Advertisement Ad

‘पानी पतिया’को परिचर्चा

Advertisement Ad

५ असार २०८१, धनकुटा। युद्धकविको रुपमा परिचित कवि तथा लेखक काङमाङ नरेश राईकृत ‘पानी पतिया’को शनिबार धनकुटामा परिचर्चा गरिएको छ।

नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजित कार्यक्रममा ‘पानी पतिया’को परिचर्चा गरिएको हो। कृतिमा गोर्खा भर्तीको इतिहास र नालिबेली, लाहुरेका कथा–व्यथा लगायतका विषय समेटिएका छन्।

कृतिमाथि टिप्पणी गर्दै संविधानसभा सदस्य राजकुमार राईले ‘पानी पतिया’भित्र गोर्गा भर्तीसँग जोडिएका विभेद र दमनका कथा पनि रहेका उल्लेख गरे। उनले यस कृतिलाई अंग्रेजी लगायत अन्यान्य भाषामा पनि अनुवाद गरी प्रकाशित गर्न लेखकलाई सुझाब दिए।

अर्का टिप्पणीकार साबित्रा राईले गोर्खा भर्ती र लाहुरे जीवनको अन्तरकथासँगै त्यससँग जोडिएका विविध आयामलाई ‘पानी पतिया’ले उजागर गरेका बताइन्। उनले कृति पठनयोग्य रहेको भन्दै प्रशंसा पनि गरिन्।

लेखक काङमाङ नरेश राईले धेरै लामो खोज–अन्वेषणपछि पुस्तक प्रकाशन गरेको बताए। आफू गोर्खा सेनाका रुपमा रहँदा देखेका, भोगेका, महसुस गरेका र मनमा लागेका विषय र शन्दर्भहरु पुस्तकभित्र संग्रहित गरेको बताए। भोजपुरमा जन्मेका लेखक राईका नौ वटा कृति प्रकाशित छन्।

नेपाल बुद्धिजीवि परिषद धनकुटाको आयोजनामा सम्पन्न पुस्तक परिचर्चा कार्यक्रममा जिल्लास्थित बुद्धिजीवि, लेखक–साहित्यकार, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको परिषदका अध्यक्ष जेपी भुजेलले बताए।