भुवन कुमार शाही
आज शहर घुम्दै थियौं
साँझको सिरेटो
शनिबारको शून्यता
सहरमा केहि थान अनुहारहरु
सडकको बीचमा एउटा प्रश्न भेटाएँ
म मान्छे जस्तै को हुँ ?
झट्ट हेर्दा मान्छे देखिन्छु
मान्छे जस्तै बोल्छु
वायु लिन्छु
अनि
चाल पनि छ
के यति हुँदैमा मान्छे भइन्छ र ?
बोल्न नसक्नेको आवाज बन्न सकेको छैन
तल्लो,माथिल्लो, वल्लो, पल्लो घरको सीमा
तेरो, मेरो, उसको सम्बन्ध, यसैमा हराएको छु
देखेको बोलेको छैन, नदेखेको खोजेको छैन,
अनि मात्र मान्छे जस्तै छु
अन्यायको विरुद्ध आवाज अनि शब्द हुन सकूँ
दृष्टिविहीनको हेराइ अनि आवजबिहीनको वाणी बन्न सकुँ
सबै मान्छेलाई सधैँ मान्छे जस्तै हुन कलम चलाउन सकुँ
म बिल्कुल म जस्तै भएर हामी बनाउन सकुँ
त्यतिन्जेल यो प्रश्न जीवित रहने छ
म मान्छे जस्तै को हुँ ?
दैलेख
