१९ पुस २०८०, काठमाडौं। किराती भेषभूषा र बाजागाजाको गलत प्रयोग नगर्न किरात राई सांस्कृतिक कलाकार संघले आग्रह गरेको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै संघले यस्तो आग्रह गरेको हो।
कतिपय सार्वजनिक कार्यक्रमहरुमा समेत किराती भेषभूषा र बाजागाजाको गलत ढंगले प्रयोग भएको पाइएकाले सचेत गराइएको संघका अध्यक्ष शालिक शातासक राईले बताए। उनले भने, “कतिपयले सारीको पारिमा, सुरुवालमा तथा जुत्तामा चिन्डोको प्रयोग गर्दै आएका छन् । किरात राई समुदायले चिन्डो (वाबुक)लाई सांस्कृतिक प्रतीक मान्छन् । मुन्दुममा चिन्डोलाई जीवनको प्रतीकको रूपमा मानिने भएकाले यसको प्रयोग सचेत भएर गर्नुपर्ने हुन्छ।”
संघले किराती चाडहरुलाई ‘पर्व’ भन्न नहुने जनाएको छ। संघका महासचिव पदम थुलुङ राईले पत्रकार सम्मेलनमा भने, “मुन्दुमअनुसार ‘पर्व’ कतै पनि मेल नखाने शब्द भएकोले यस शब्द प्रयोग नगरी यसको ठाउँमा ‘चाड’ भन्नुपर्ने हुन्छ,” उनले थपे, “यस्तै ‘साकेला चाड भन्ने ‘साकेला पर्व’ नभन्ने, ‘उधौली साकेला’, ‘उभौली साकेला’ लाई कतिपयले ‘उधौली चण्डी’, ‘उभौली चण्डी’ भन्छन्। यसरी ‘साकेला’लाई ‘चण्डी’ नभन्ने र ‘चण्डी’ शब्दलाई निषेध गर्नुपर्छ।”
संघले किराती भेषभूषा र बाजागाजाहरुको सहि प्रयोगले मात्र किरातीहरुको पहिचान र गौरव बोक्ने भएकाले यसको प्रयोगबारे आगामी दिनमा थप सचेतताका कार्यक्रम गरिने पनि जनाएको छ।
