प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं.
– रवीन्द्र काफ्ले
८ साउन २०८१, पाँचथर। याङवरक गाउँपालिका–१ गोरुजुरे पहाडको फेदी याकलिङ खर्कगाउँमा पहिले गोठ राख्ने खर्क मात्रै थियो। चिसो छिप्पिएपछि डुँढ, फलेकेजस्ता ठूला चौरीमा रहेका चौंरी तथा गाईका गोठ यहाँ झर्थे। तर अहिले यहाँ घरैघर हुन लागिसके। पारिपट्टी तोरिफुले, चिवाभञ्ज्याङ र तीनसीमानाकै उचाइ भए पनि यहाँ मानिसको चहलपहल बाक्लो छ। धमाधम घर, गोठ लगायतका संरचना थप्दै लगिरहेका यहाँका तारा खालिङ चिवाभञ्ज्याङमा नाका खुल्ने र पुष्पलाल (मध्यपहाडी) राजमार्ग कालोपत्रे भई पर्यटकको आवागमन बढ्नेमा विश्वस्त छन्।
“नाका खुलेमा हामीले बिर्तामोडबाट दुई, तीन दिन लगाएर ल्याउनुपर्ने सामग्री उत्तरे बजार (भारतको सिक्किमको दक्षिणी बजार)बाट केही क्षणमै ल्याउन सक्थ्यौं” खालिङको भनाइ छ । खालिङको घरमा पुष्पलाल (मध्यपहाडी) राजमार्गको कालोपत्रेको कार्यमा खटिएका कामदार, प्राविधिक, कर्मचारी लगायतको नियमित घुँइचो हुने गरेको छ।
साविक पञ्चमी गाविसको सिंबुवाका सुरेश चापागाईंले तमोर कोरिडोर सडक निर्माण सुरुआत भएसँगै पञ्चमी–सुभाङ सीमाको सुभाङ खोलाकै छेउमा घर निर्माण गरी व्यवसाय थाले। सडकमा काम गर्ने कामदार र प्राविधिकहरु, सडकका यात्रुहरु, पर्यटकहरु, गाउँलेहरु समेतका लागि केन्द्रीत उनको व्यवसाय चलेकै थियो। तर उपभोक्ताका माग पूरा गर्न उनले माछा, कुखुरा र बाख्रा पालनलाई पनि व्यवस्थित गरेका छन्। सहज बजार पाउने भएपछि चापागाईंजस्तै यहाँका स्थानीयवासीले कृषि उपज उत्पादनलाई बढावा दिएका छन्।
सुरेशका भाई नरेन्द्रप्रसाद चापागाईंले आफ्नै जमिनबाट अघि बढेको तमोर कोरिडोर सडकको डिलमा पसल निर्माण गरी आफूले उत्पादन गर्ने दाल, खुर्सानी, सिजनअनुसारका सागसब्जी, फलफूल लगायत बिक्रि गर्दै आएका छन्। “आफूले फलाएका खानेकुरा घरैबाट बिक्रि गर्न पाएपछि थोरै बेच्दा पनि आनन्द हुँदो रहेछ”, चापागाईंको भनाई छ।
तमोर कोरिडोरले समेटेको हिलिहाङ गाउँपालिका–४ स्थित मझैटार आधारभूत विद्यालयका प्रधानाध्यापक योगेशरत्न योङ्याको अनुभव निकै रमाइलो छ। उनका अनुसार सडक बिस्तारपछि पहिले माग्दा पाइने कुराले अहिले मूल्य पाउन थालेका छन्। “बजार पुर्याउन टाढा भएपछि गाउँका कतिपय उत्पादन माग्दा पाइन्थ्यो। तर अहिले तिनैले मूल्य पाउन थालेका छन्”, योङ्या बताउछन्। यस्तै सडकको छेउका पसलमा ७० प्रतिशत स्थानीय उत्पादन बिक्रीका लागि राखेको पाइने उनको भनाइ छ।
कुम्मायक गाउँपालिका–५ स्याबरुम्बाकी मञ्जु आचार्यले तमोर कोरिडोर सडकको ट्र्याक खोलिएपछि सोही वडाको भुल्केमा जग्गा खरीद गरिन्। विद्यालय नजिकको जग्गा बिक्रि गरेर सडकको छेउमा जग्गा खरिद गर्दा उनलाई उपलब्धि नहुने हो कि भन्ने मनमा चिसो लाग्दथ्यो। सोही स्थानमा घर निर्माण गरी आचार्यले व्यवसाय पनि थालिन्। सडकको ट्र्याक बिस्तार भई सवारीका साधन सञ्चालन हुन थालेपछि उनले बिक्रि गर्न भ्याएसम्म सामग्री बिक्रि हुन थाले। ग्राहकहरुले चिया र नास्ताको अर्डर गर्न थाले। सुक्खाका कारण सबैले छोडेको भुल्के यतिबेला बजार बन्नेतिर अग्रसर भएको छ।
मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाकी फूलमाया लावती गत माघमा चिसापानी पञ्चमी बजारमा सुन्तला बिक्री गर्न बसिरहेही थिइन्। राँके–रबि–भेडेटार सडक र दमक–चिसापानी–रबि सडक जोडिने यो स्थानमा सवारीका साधन र यात्रुको चाप बाक्लै हुन थालेको छ। “हामी प्रायः सुन्तला बगानबाटै बेच्छौं। अलिअलि चाहिँ बजारमा सौदा गर्ने (सामग्री खरीद गर्ने) पनि चाहिन्छ भनेर राखेको हुँ”, लावतीले भनिन्, “१४० रुपैयाँ किलो धमाधम बेचिरहेकी छु।” सुन्तला त बिक्ने नै भयो, गाउँमा फलाएका सखरखण्ड, सिमलतरुल, पिँडालुजस्ता हेयको दृष्टिले हेरिने वस्तु समेत बिक्रि हुँदा लावतीलाई अचम्म लागेको छ । “बाटो भएपछि सबै कुरा बिक्दो रहेछ”, उनले भनिन्।
खालिङ, चापागाईं, आचार्य र लावतीजस्तै घर नजिकै सडक निर्माण भएपछि आफ्नो उत्पादन बिक्रि गर्न, सामग्री उत्पादनमा केन्द्रीत भई स्वदेशमै रोजगार हुन पाएका हजारौं जिल्लाबासी सडकलाई धन्यवाद दिन्छन्। पाँचथरमा मात्रै हिलिहाङ र याङवरकमा उत्पादन हुने टमाटर, मेची राजमार्गको आसपासमा उत्पादन हुने सागसब्जी सडककै कारण व्यावसायिक उत्पादन थालिएका र बजार पाएका ज्वलन्त उदाहरण हुन्। तमोर कोरिडोर केन्द्रीत भएर यसरी नै उत्पादनमा जोडिनेको संख्या बढिरहेको पाइन्छ।
“पाँच वर्षे कार्यकाल बिताउँदा प्रायः सदरमुकाममा ‘सडकमा कति बजेट लगाएको?’ भनेर आलोचना हुन्थ्यो। तर सबै गाउँपालिकाबासीको माग नै सुरुमा सडक बनाउनु पर्छ भन्ने हुने गर्दथ्यो”, याङवरक गाउँपालिकाका निवर्तमान अध्यक्ष लेखनाथ घिमिरेले कार्यकाल सम्पन्न हुनुपूर्व भनेका थिए, “सडक नभई त अरु केही कुराको सुरुआत नै नहुने रहेछ। त्यसलाई नजरअन्दाज गरेर जान सकिँदैन।”
अर्थात, सडक नै सम्भावनाको सेतु हो। सडक नै जीवन चलाउने अभिन्न आधार हो। पाँचथरमा ४० को दशकमा मेची राजमार्ग निर्माण भएपछि धमाधम सडक निर्माणको कार्यले गति लियो। तर सडकको रुपान्तरणकारी विकास हुन भने तीन तहको संघीय व्यवस्थामै आइपुग्नु पर्यो। सडक नभएकै कारण ४० को दशकअघि पाँचथरबाट नुन लिन इलाम, दमक, धरान र दार्जिलिङ पुग्ने पुस्ताका अनुभव सुन्न प्रशस्तै पाइन्छ।
९१ किलोमिटरको मेची राजमार्ग सहित तमोर कोरिडोर सडक, उत्तर–दक्षिण (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक, भेडेटार–रबि–राँके सडक, फिदिम–फालोट सडक पाँचथरमा निर्माण भएका सडकका मुख्य योजना हुन्। यिनका अतिरिक्त गाउँपालिकाका केन्द्रहरु जोड्ने, पर्यटकीय क्षेत्रहरु जोड्ने, धेरै आवश्यकता परेका लगायत गरी पाँचथरमा सयौं सडक निर्माण भएका छन्।
पाँचथरमा फिदिमबाट रानीटार–लुङरुपा हुँदै सन्दकपुर जोड्ने सडक, फिदिम–यासोक सडक, मायालुमोड–नवमीडाँडा–घुर्विसेपञ्चमी सडक, फिदिम–फालोट सडक, तमोर कोरिडोरबाट मौवा जोड्ने सडकहरु, जोरपोखरी–मेमेङ सडक, जोरपोखरी–चरिभञ्ज्याङ सडक, सल्लेरी–सुभाङ–अमरपुरजस्ता महत्वपूर्ण सडकहरु जिल्लाको समृद्धि र विकासका आधारका रुपमा विकासको चरणमा छन्। यीनका अतिरिक्त ग्रामीण भेगमा वडा र टोलसम्म विस्तार भएका सडकले जनजीवनलाई सहज बनाउन मद्दत गरिरहेका छन्। अव्यवस्थित, अनियन्त्रित र प्राविधिक ज्ञानबिना सडक निर्माण गर्ने क्रम जति आलोचित छ, यसले यहाँका नागरिकलाई गरेको फाइदाको कमजोरी भने छैन।
सडक निर्माण भएपछि मात्रै पूर्वाधारका अन्य काम थाल्न सहज हुन्छ। सडकको बिस्तारपछि मात्रै पूर्वी पहाडका बजार र गाउँघरमा पक्की घर निर्माण हुन थाले। स–साना व्यवसाय चल्न थाले। उत्पादनले बजार पाउने भएपछि लघु र घरेलु उद्योगको विकास हुन थालेको पाइन्छ। पहुँचका हिसाबले सहज हुने भएपछि सडक केन्द्रीत भएर घर निर्माण गर्ने क्रम बढिरहेको छ। घर निर्माणकै क्रमले बजारको रुप पनि लिन थालेका छन्। यसले जग्गाको मूल्य र कारोबार बढाएको छ। सडक निर्माण भएपछि बर्षौंदेखि जङ्गलमा सडिएका रुखले गोलियाका रुपमा बजार पाए। खयरलगायत रुखले मूल्य पाउँदा कृषकहरुले अनपेक्षित रुपमा आम्दानी गर्न पाएका छन्।
विकासको पहिलो आधार नै सडक हो। सडकको पहुँचबिना विकासका प्रायः काम गर्न कठिन पर्छ। तराइका जिल्लामा जनसंख्या केन्द्रीत हुँदै जानुमा सडकको सहज पहुँच मुख्य कारण मान्न सकिन्छ। शिक्षा, स्वास्थ्य र रोजगारीका उपयुक्त आधार टाढा नै भए पनि सडकले नजिक बनाइदिँदा पहाडमा जनसंख्या घट्दो क्रममा छ। तर पहाडमा सडकसहितका पूर्वाधारको विकास बढ्दै जाँदा भने बसाइँसराईं रोकिने अपेक्षा गर्न सकिन्छ।
सडकले एक पछि अर्को गर्दै जिविकोपार्जनका नयाँ सम्भावना र आधारहरु बाढ्ने गरेको पाइन्छ। प्राविधिक परामर्श, वातावरणीय प्रभाव र आवश्यकतालाई ध्यानमा राखेर निर्माण भएका सडकहरुको स्तरोन्नति गर्नेतर्फ सरकारी निकायहरुले ध्यान दिनु अबको आवश्यकता हो। छरिएका गाउँबस्तीमा विकासका पूर्वाधार पुर्याउन लाग्ने बजेटलाई घटाउन जोखिममा रहेका बस्तीहरुलाई सडक आसपासका सुरक्षित स्थानतर्फ सार्नेतर्फ लागे वर्षेनि विपदबाट हुने क्षति कम गर्न पनि मद्दत मिल्दछ।
सडकलाई विकासको मानक पनि मान्ने गरिन्छ। संसारका धेरै देशहरुले सडकमा गरेको विकासलाई उदाहरणका रुपमा प्रस्तुत गर्ने गरिन्छ। हामीले पनि हाम्रा सडकहरुलाई दुर्घटनाको जोखिमका दृष्टिले सुरक्षित बनाउने, लामो दूरीका सडकलाई नदी किनार केन्द्रीत गरी दूरी छोट्याउने, सडकको संरक्षण र सुरक्षामा स्थानीयवासीलाई क्रियाशील गराउने, सडकलाई निर्वाध प्रयोग गर्ने वातावरण तयार पार्ने, प्राकृतिक दृष्टिले मनमोहक स्थानमा सडकलाई आकर्षक ढङ्गले निर्माण गरी पर्यटन विकास गर्नेतर्फ सबैको ध्यान जान सके सडकमा आधारित सम्भावना झनै वृद्धि भएर जान सक्दछन्।