Advertisement Ad

धनकुटाको पाख्रीबासमा अवस्थित संसारी सिमसार (तस्बिरहरु)

Advertisement Ad

सन्देश सुब्बा

३ वैशाख २०८१, धनकुटा। पाख्रीबास नपा–४ मा रहेको संसारी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । पाख्रीबास बजारसँगै रहेको संसारी सिमसार क्षेत्रमा हरेक दिन पर्यटक पुग्ने गरेका छन् ।

यो सिमसार क्षेत्र २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । जोडी ताल, बोटिङ सुबिधा, बुद्धको मूर्ती, मिनि जू, आकर्षणका लागि बनाइएको संसारी एयरलाइन्स यहाँका आकर्षण हुन् । ताल वरिपरिको चिया बगानले यहाँ पुग्ने पर्यटकलाई रोमाञ्चित बनाउछ । सिमसार क्षेत्रभित्र पिक्निक स्पट बनाइएका छन् । बालबालिकाको मनोरञ्जनका लागि पिङ् र रोटेपिङ् निर्माण गरिएका छन् ।

पहिले पोखरी रहेको यस क्षेत्रलाई २०६९ देखि सिमसार क्षेत्रको रुपमा संरक्षण गर्न सुरु गरिएको थियो । क्रमशः पर्यटनमैत्री ढंगले यसको विकास र पूर्वाधार निर्माण गरिएपछि संसारी सिमसार क्षेत्र पर्यटकहरुको रोजाइमा पर्न थालेको हो ।

विशेष पर्व, उत्सव र बिदाको दिन पर्यटकको भिड लाग्ने बोट सञ्चालक गणेश कुमार गुरुङले बताए । सिजनको बेला वनभोज खानेहरुको भिड लाग्ने यहाँ स्कुले बालबालिका, आन्तरिक र बाह्य पर्यटक समेत पुग्ने गरेका छन् । सिमसार क्षेत्र विचरणका लागि २० रुपैंयाँ प्रवेश शुल्क तिर्नुपर्छ । तालमा बोटिङ गर्न प्रतिव्यक्ति ५० रुपैंयाँ शुल्क तोकिएको छ ।

धनकुटा सदरमुकामदेखि करीब १८ किलोमिटर उत्तर पश्चिममा अवस्थित संसारी सिमसार क्षेत्र पर्यटकीय बजार हिलेबाट ६ किलोमिटर दूरीमा रहेको छ । हिलेबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग भएर पाख्रीबास, संसारी सिमसार क्षेत्र पुग्न सकिन्छ ।

तस्विरहरुः