Advertisement Ad

फालेलुङ–४ चाररातेमा सातौं चौरी महोत्सव सम्पन्न

Advertisement Ad

३ वैशाख २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–४ चाररातेमा सातौं चौरी महोत्सव सम्पन्न भएको छ । नयाँ बर्षको अवशरमा आयोजना हुँदै आएको महोत्सव यसपालि पनि आयोजना गरिएको हो।

पछिल्लो समय विभिन्न कारणले संकटमा पर्दै गएको चौरी पालन व्यवसायसँगै चौरीजन्य उत्पादन र वस्तुहरुको प्रबद्र्धन गर्ने उदेश्यले सातौं पटक महोत्सव आयोजना गरिएको हो ।
३५५० मिटर उचाइको चाररातेमा आयोजना गरिएको महोत्सवमा फालेलुङ गाउँपालिकाको माथिल्लो क्षेत्रमा पालन गरिएका करीब पाँच सय चौरी ल्याइएको थियो । त्यहाँ पालन गरिएका १८ वटा गोठका चौरी चारराते ल्याइएको आयोजकले जनाएको छ । महोत्सवमा याक नृत्य प्रस्तुत गरिएको थियो ।

हिमालको पर्यायको रुपमा लिइने चौरी पालन गर्नेको संख्या पछिल्लो समय कम हुँदै गएको छ । वैदेशिक रोजगार र अन्य पेशा व्यवसायमा युवाहरुको आकर्षण बढेसँगै चौरीपालन व्यवसाय संकटमा पर्दै गएको चौरीपालक कृषकको भनाई छ । त्यसैले चौरीपालनमा युवाहरुलाई आकर्षित गर्न हरेक बर्ष महोत्सव गरिंदै आएको आयोजक संस्थामध्येका एक दिपज्योति युवा क्लवका कार्यकारी निर्देशक सुनिल बान्तावाले बताए ।

नेपालसँगै भारतको सिक्किम, दार्जिलिङ लगायतबाट चारराते पुगेका पर्यटक लेकको चौरीमा छोडिएका विभिन्न प्रजातिका चौरी गाई हेरेर रोमाञ्चित बनेका थिए । पहिलोपल्ट याक नृत्य देख्दा रमाइलो र अनौंठो लागेको पाँचथर सदरमुकाम फिदिमबाट महोत्सव अवलोकन गर्न पुगेका विद्यार्थी नेता सन्दिप तुम्रोकले बताए । महोत्सवमा चौरीजन्य विभिन्न उत्पादनहरुको प्रदर्शनी र बिक्री वितरण गरिएको थियो । महोत्सवका थप आकर्षणको रुपमा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम र साहसिक फुटवल लगायतका कार्यक्रम पनि राखिएका थिए ।

दिपज्योति युवा क्लव, फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रबद्र्धन संस्था र कञ्चनजंघा चौरी पालन संरक्षण संस्थाले संयुक्त रुपमा आयोजना गरेको महोत्सवको व्यवस्थापनको जिम्मेवारी फालेलुङ–४ स्थित सुर्योदय युवा क्लवले लिएको थियो । फालेलुङ गाउँपालिका मूख्य प्रबद्र्धक रहेको महोत्सवलाई संघीय सरकार अन्तर्गतको पर्यटन बोर्ड र कोशी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले आर्थिक सहयोग गरेको थियो ।

महोत्सवले चौरी पालन व्यवसायसँगै फालेलुङ गाउँपालिकाको पर्यटन प्रबद्र्धन एवंम् सिमा क्षेत्रको संरक्षणमा सहयोग पुग्ने फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रबद्र्धन संस्थाका डिल्ली आञ्जुम केरुङले बताए । महोत्सव आयोजना गरिएको चारराते नेपाल र भारतको वेष्ट बेङ्गालसँगको सीमा क्षेत्र पर्छ । चौरी पर्यटन महोत्सवलाई फालेलुङको पहिचान र संस्कृतिको रुपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले बताए।