Advertisement Ad

किरात राई साँस्कृतिक कलाकार संघको स्थापना दिवशमा किराती संस्कृति, सभ्यता र इतिहासको संरक्षण गर्न हाजिरी जवाफ

Advertisement Ad

६ साउन २०८१, काठमाडौँ। किरात राई साँस्कृतिक कलाकार संघले १९औं स्थापना दिवस सम्मान तथा पुरस्कार वितरण सहित असार २९ गते अन्तर किरात राई हाजिरी जवाफ प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेर मनाएको छ ।

अन्तर किरात राई हाजिरी जवाफ प्रतियोगिता केन्द्र तर्फ किरात राई वान्तावा खिम यलखोमले पहिलो स्थान हाँसिल गरेको छ भने किरात स्वायत्तता जनअभियान दोश्रो, किरात राई यायोक्खा बाग्मती प्रदेश तेश्रो र साल्पा सिलिचुङ सरोकार संरक्षण प्रवर्दन केन्द्र अन्तराष्ट्रिय समिति साल्पा सिलिचुङ समितिले सान्त्वना स्थान हाँसिल गरेको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति, प्राज्ञ नारदमणी हर्तम्छलीको प्रमुख आतिथ्यमा सञ्चालित प्रतियोगिता संघका केन्द्रीय अध्यक्ष शालिक शतासक राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सोही कार्यक्रममा नरमाया–सविरमान राई भिडियो निर्देशन पुरस्कार २०७१ बाट निर्देशक, कलाकार तथा साँस्कृतिक अभियान्ता विल्सन विक्रम राईलाई नगद २२ हजार २ सय २२ रुपैंयाँ राशी सहित पुरस्कृत गरिएको छ । त्यस्तै लेखक, निर्देशक तथा कलाकार बेदना राईलाई नगद १५ हजार रुपैंयाँ राशी सहित किरात राई प्रतिभा पुरस्कार २०६७ बाट, गायक, संगीतकार तथा साँस्कृतिक अभियान्ता मण्डल साङपाङ राईलाई नगद १५ हजार राशी सहित तेजतिला किरात संगीत पुरस्कार २०७० बाट पुरस्कृत गरिएको छ । त्यस्तै कवि, गीतकार तथा साँस्कृतिक अभियान्ता प्राज्ञ टीका चाम्लिङ राईलाई नगद २३ हजार ३ सय ३३ राशी सहित हर्कजङ छलिशोभा किरात कला पुरस्कार २०७१ बाट पुरस्कृत गरिएको छ । किरात राई सम्मानबाट जय कुमार राईलाई सम्मान प्रदान गरिएको किरात राई साँस्कृतिक कलाकार संघका उपध्यक्ष एवं पुरस्कार वितरण उपसमितिका संयोजक शुसिला राईले जानकारी दिइन् ।

हाजिरी जवाफ प्रतियोगितामा पहिलो भएको समूहलाई ११ हजार रुपैंयाँ नगद सहित २७ हजार रुपैंयाँ बरबरको ढोल, दोश्रोलाई ७ हजार नगद सहित झ्याम्टा र तेश्रोलाई ५ हजार नगद सहित झ्याम्टा र सान्त्वनालाई नगद ३ हजार सहित झ्याम्टा पुरस्कार प्रदान गरिएको संघका महासचिब पदम राईले बताए । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष जनक राई, भाषाविद् तीर्थराज मुकारुङ राई लगायतले मन्तव्य राखेका थिए । सोहि अवसरमा प्रमुख अतिथि, प्राज्ञ नारदमणी हर्तम्छली र संघका केन्द्रीय अध्यक्ष शालिक शतासक राईले आजीवन सदस्यहरुलाई सम्मान पत्र र सहभागीहरुलाई प्रशंसा पत्र प्रदान गरेको संघका केन्द्रीय सचिव सुखकला राईले बताइन् ।

यता प्रदेश नं १ को उदयपुर जिल्ला वेलकामा सञ्चालन भएको हाजिरी जवाफ प्रतियोगिता किरात राई चाम्लिङ खाम्बाखिम जिल्ला कार्य समिती सुनसरी प्रथम, किरात राई यायोक्खा वेलका नगर समिती उदयपुर द्वितीय र साल्पा सिलिचुङ सरोकार संरक्षण प्रवर्दन केन्द्र अन्तराष्ट्रिय समिती तृतीय भएका छन् ।

बिजेता समूहलाई किरायाका संघीय उपाध्यक्ष दोर्पध्वज राई, किराया संघीय सदस्य मानभगत चाम्लिङ र किराया विशिष्ट संरक्षक गणेश पुमा लगायतले पुरस्कार वितरण गरेका थिए। प्रथम समूहलाई झ्याम्टा, सिलिमी र पोमी दोश्रोलाई सिलिमी र पोमी र तेश्रोलाई झ्याम्टा सहित मायाको चिनो प्रदान गरिएको किरात राई साँस्कृतिक कलाकार संघ उदयपुरका अध्यक्ष संरक्षक राईले जानकारी दिए ।

किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष रामकर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट संरक्षक सदस्य माया चाम्लिङ राईलाई सम्मान गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा किरात राईको भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास, भूगोल सम्बन्धी प्रश्नहरु सोधिएको थियो । किरात राई हाजिरी जवाफ प्रतियोगितामा काठमाण्डौमा १८ समुह र प्रदेश नं १ मा १४ समुहको सहभागिता रहेको थियो ।