प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं.
– गिरिराज बाँस्कोटा
७ साउन २०८१, पाँचथर। सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धिले पूर्वको टिस्टा र पश्चिममा सतलज पुगेको नेपालको सिमाना पूर्वमा सिंहलिला पर्वतश्रृङ्खलाको पानीढलो र मेची नदी तथा पश्चिममा महाकाली नदी कायम भयो । यो आलेखमा सिंहलिला पर्वतश्रृङ्खलाको पानीढलो अन्तर्गत नेपाल–भारत सीमानजिक नेपालतर्फ (पाँचथर)को सौन्दर्यताको चर्चा हुनेछ ।
सन्दकपुरदेखि पाँचथर र ताप्लेजुङको सीमाक्षेत्र तिम्बुङ पोखरीभन्दा माथिसम्मको ४३.३८ किलोमिटर क्षेत्र प्रकृतिका अनेकन् सुन्दर उपहारले भरिएको छ । यो प्रकृतिलाई यहाँको जनजीवन, धार्मिक, सांस्कृतिक सम्मिश्रण तथा दृश्यावलोकनले थप हेर्नलायक, घुम्नलायक बनाएको छ ।
उच्च पहाडी क्षेत्र आफैंमा सुन्दर छ । प्राकृतिक सौन्दर्यता र गरिमालाई भव्य बनाउन यहाँका चौँरीगोठ, धार्मिक, सांस्कृतिक आस्था र मानवीय जीवनका क्रियाकलाप पनि महत्वपूर्ण छन् । सिमाना राष्ट्रियताको महत्वपूर्ण पक्ष हो । सिमाना पुगेर देशप्रतिको प्रेम देखाउने भेटिन्छन् । सिमानालाई देशले छुट्याए पनि बिहेवारि, व्यापार, खेलकुद लगायत सम्बन्ध यहाँ भेटिन्छ । कतै सांस्कृतिक मेल देखिन्छ भने कतै परम्परागत गतिविधिको निरन्तरता पनि छ । पाँचथर र भारतको सीमा क्षेत्रमा ११३ सीमास्तम्भ छन् । जसमध्ये ९ वटा मर्मत गर्नैपर्ने अवस्थामा र ७ वटा हराएका छन् । सन् १८१६ देखि १८५५ मा अंग्रेजकै पालामा सीमा नक्सा तयार भएको थियो । यही समयमा सीमास्तम्भ गाड्ने काम भएको थियो । भारतको वेष्ट बङ्गाल र सिक्किम प्रदेशसँग पाँचथरको सिमाना छ ।
यो आलेख सिमानाका समस्या, असजिला भन्दा पनि यहाँको सौन्दर्यता, सम्भावना, अवसर र गर्नुपर्ने कामतर्फ केन्द्रीत छ ।
पाँचथरको फालेलुङ र याङवरक गाउँपालिका सीमावर्ती क्षेत्रमा पर्छ । सन्दकपुर नजिकको आहालदेखि अघि बढेपछि अनेकन् सुन्दर दृष्य देखिन्छ । कञ्चनजंघा हिमश्रृङ्खलाको अनुपम र आकर्षक दृश्यले मोहनी लगाउँछ । हिमाल हेरेर रमाइरहेका पर्यटक भेटिन्छन् । यहाँबाट कञ्चनजंघा, फक्ताङलुङ लगायत हिमाल आँखै अगाडि ठडिएका छन् । थरिथरि फूल फुल्छन् । भारतसँग सीमा जोडिएका क्षेत्रदेखि बस्तीसम्ममा अनेकन् डाँडा, थुम्का, अनेकन् फूल, पोखरी रहेका छन् ।
यहाँको सौन्दर्यता हेर्न बर्सेनी ठूलो संख्यामा पर्यटक आइपुग्छन् । चाररातेका होमस्टे सञ्चालक डिल्ली आन्जुमका अनुसार भारतीय पर्यटक पनि उल्लेख्य मात्रामा आउन थालेका छन् । पर्यटकलाई नजिकका गन्तव्य हुँदै फिदिम ल्याउन सक्दा आम्दानीको बाटो बढ्नेछ । धेरै जसो पर्यटक भारतीय बाटो भएर आउँछन् । भारतबाट सीमासम्म आइपुग्ने तेस्रो मुलुकका पर्यटकलाई भिसाको वैकल्पिक व्यवस्था गरेर नेपाल घुमाउन मिल्ने प्रबन्ध गर्न सरकारको ध्यान पुग्न जरुरी छ ।
चाररातेमा चौँरी महोत्सव हुन्छ । महोत्सवले अन्तर्राष्ट्रिय महत्व हाँसिल गरिसक्यो । संसारका सात देशमा मात्र चौँरी पाइन्छ । भारततर्फ सिंहलिला नेसनल पार्क र पार्कबाट संरक्षित क्षेत्र छ । नेपालतर्फ खुल्ला चौर । संरक्षित क्षेत्रमा चौँरी भने छैनन् । चौँरीलाई हिमाली भेगका गहना मानिन्छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट) नबनिउन्जेल चौँरी गोठालाको उपस्थिति थियो । सिमानादेखि बस्ती केही तल छ । सिमाना आसपासमा न्यून संख्यामा होमस्टे र चौँरीगोठ छन् । चौँरी गोठलाई गोठस्टेको रूपमा विकास गर्न खोजिएको छ ।
चौँरी व्यवसायी चन्द्रलाल नेपालका अनुसार दूधजन्य उत्पादन, चौँरीजन्य गतिविधिमा पर्यटक रमाउने गरेका छन् । चौँरी यो क्षेत्रको गहना भएको उनको भनाइ छ ।
नेपालका ठाउँ–ठाँउमा सडक पुगेको छ । तर सिमाना वारपार सडक छैन । भारतले सीमा क्षेत्रमा तीन सिमानासम्म सडक बनाएको छ । यो सडक अंग्रेजकै पालामा बनेको बताइन्छ । नेपालतर्फ पनि पदमार्ग बनाउन आवश्यक छ । सिमानै सिमाना पदयात्रा गरेको अनुभवले यो क्षेत्रमा पदयात्रा गर्न उपयुक्त मान्न सकिन्छ । पौवा भन्ज्याङबाट छिन्तापु हुँदै तिम्बुङ पोखरीसम्मको पदमार्ग बनाउन सकियो भने वर्षमा हजारौँ पर्यटक आउने सम्भावना छ ।
सिमानाकै नजिकका वनमा रेडपाण्डा पाइन्छ । यो संसारका पाँच देशमा मात्र पाइने संकटापन्न वन्यजन्तु हो । रेडपाण्डा नेपाल–भारतका बनमा ओहोरदोहोर पनि गर्छन् । त्यसैले त वन्यजन्तुको राष्ट्रियता हुँदैन भन्ने भनाई पनि छ । सिमाना नजिकका बनमा रेडपाण्डा छन् । विदेशीहरू रेडपाण्डा हेर्न चाहन्छन् । तर ती सहजै भेटिन्नन् । रेडपाण्डा संरक्षणमा सक्रिय संस्था दीपज्योति युवा क्लवका कार्यकारी निर्देशक सुनिल बान्तावा राईका अनुसार यसलाई जोगाउन धेरै मेहनत गरिएको छ । यो क्षेत्रको अमूल्य वन्यजन्तुका रूपमा रहेको उनको भनाई छ ।
यो क्षेत्र जैविक विधिधताले धनि छ । सिमानाभन्दा टाढा रहेका गाँउमा अनेकन् विविधता भेटिन्छन् । सिमानामा सिजन अनुसारका दृष्य देखिन्छ । बर्खामा हरियाली, हिउँदमा हिउ पर्ने यी ठाउँ जुनसुकै सिजनमा पनि घुम्न मिल्छ ।
सिक्किम सन् १९७५ मा भारतमा विलय हुनु पूर्व फालेलुङ (फालोट)मा त्रिदेशीय सिमाना थियो । तत्कालीन भारत, सिक्किम र नेपालको सिमाना । त्यहीँ भएर यो ठाउँलाई तीनसिमाना भनिन्छ । सो बेला भारसँगको १ नम्बर पिलर यहाँबाट सुरु हुन्छ । अहिले पनि सोही नाम भन्ने गरिन्छ । यहीँ ठाँउमा सिक्किम र वेष्ट बङ्गालको सिमाना पनि हो । यहाँ बर्सेनी पर्यटकको घुइँचो लाग्छ । भारतको सडक यहाँ टुंगिन्छ । त्यसो त नेपालतर्फबाट पनि सडक पुगेकाले निक्कै चहलपहल हुन्छ । यहाँबाट हेरिने दृष्य आकर्षक लाग्छ ।
नजिकै होमस्टे छ । गोठस्टे छन् । तीन सिमाना आफैमा ऐतिहासिक ठाउँ हो । पदमार्ग बनाएर यो क्षेत्रमा पदयात्राको गन्तव्य बनाउन सकिन्छ । हिमाल, सूर्योदय र सुर्यास्तको दृष्य यहाँबाट आकर्षक देखिन्छ ।
चिवाभञ्ज्याङ उत्तिकै आकर्षक ठाउँ हो । यो पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुआती विन्दु हो । यहाँ सिक्किमबाट पनि सडक बनेको छ । सिक्किमको एकमात्र नेपालसँग सडक जोडिएको छ । यहीँबाट भएर नेपालमा पर्यटक भित्र्याउन सकिन्छ । यहीँ बाटो भएर पाथीभरा, कञ्चनजंघा पर्यटकलाई लैजान सकिन्छ । चिवाभञ्ज्याङ नाका पनि हो । यहाँ अनेकन् सम्भावना छन् । चिवा भन्ज्याङदेखि फालोट हुँदै सन्दकुपर दुई दिनमा पुगिन्छ । विश्वप्रसिद्ध प्रकृतिविद् जोसेफ डाल्टन हुकर सन् १८४८ मा यहीँ क्षेत्र हुँदै चीनसँगको सीमा टिपताला भन्ज्याङ र कञ्चनजंघा आधा शिविरको भ्रमण गरेका थिए ।
चिवा भन्ज्याङदेखि माथि हिमाली क्षेत्र भेटिन्छ । अनेकन् प्राकृतिक सौन्दर्यताले भरिएका छन् । यहाँबाट उकालो लाग्दा पहाडे–मेगु हुँदै तिम्बुङ पोखरी पुगिन्छ । तिम्बुङ पोखरी आफैमा सुन्दर छ । यहाँ बर्सेनि मान्छे घुम्न र रमाउन पुग्छन् । यो ताप्लेजुङसँगको सिमाना पर्छ ।
तिम्बुङ पोखरीको माथि चौरमा सिजनमा केन्जो फुलेर निक्कै सुन्दर देखिन्छ । सरकारी निकायका अनुसार पाँचथरको भारतसँगको सिमाना ४ हजार ६५५ मटर उचाइसम्म पर्छ ।
फालेलुङ र याङवरकमा पर्ने सीमाक्षेत्र र आसपासका नेपालका क्षेत्र घुम्नलाई सुन्दर छन् । यी क्षेत्रको प्रकृतिलाई जस्ताको त्यस्तै राखेर पर्यटकीय विकास गर्न आवश्यक छ । क्रस बोर्डर टुरिजमको प्रवर्दन गरी नेपालतर्फ आम्दानी हाँसिल गर्न प्रयत्न गर्नुपर्ने देखिन्छ ।
पाँचथरको भारतसँग सिमाना जोडिएका भू–भाग पर्यटन विकासका लागि महत्वपूर्ण सुन्दर ठाउँ हुन् । नेपाल–सिक्किम दुबैतर्फ भौतिक पूर्वाधार र आपसी समन्वयमा पर्यटन विकासका काम अघि बढाउनुपर्छ । जसले पूर्वी पहाडको पर्यटन उकास्न मद्दत पुग्छ । सरोकारवाला र व्यवसायीको ध्यान यतातर्फ जानुपर्छ । आवश्यक स्थानमा पूर्वाधार तयार गर्नुपर्छ । स्थानीयसँग सरकारले हातेमालो गर्नुपर्छ ।