Advertisement Ad

समाजवादी युवा संघका प्रदेश अध्यक्ष केरुङ सहितका नेता–कार्यकर्ता माओवादीमा प्रवेश

Advertisement Ad

२० साउन २०८१, झापा। जनता समाजवादी पार्टी नेपालको युवा संगठन समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष टाइसन केरुङ सहित विभिन्न पार्टीका नेता–कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

माओवादी केन्द्र प्रदेश कमिटीद्वारा शनिबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरिएको थियो। नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नेमा केरुङसँगै नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य राजभक्त योङया, नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सदस्य छवि गहतराज, समाजवादी युवा संघका प्रदेश उपाध्यक्ष दिपेन लिम्बु, सहसचिव दिपेन जबेगु, सदस्य तेन्जिङ लामा, महिला उद्यमी जय सुब्बा, नर्वदा कार्की लगायत छन्।

योङ कम्युनिष्ट लिग (वाइसीएल)को पहलमा प्रदेशका विभिन्न जिल्लाबाट ठूलो संख्यमा युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेल, पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो (मौसम), नेकपा (माओवादी केन्द्र)का प्रदेश अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो) लगायतका नेताहरुले स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव गजुरेलले माओवादी झापामा २०६४ सालको अवस्था आउने बताए। माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको बताउँदै उनले अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने उल्लेख गरे। प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार लगायतका विषयमा जनपक्षीय काम गर्न थालेपछि राष्ट्रिय, अन्तराष्ट्रिय दबाबमा दुई ठूला दल मिलेको उनले दाबी गरे। गजुरेलले सबै माओवादी घटक एक ठाउँमा उभिने अवस्था आएको बताए।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मौसमले मुलुकको राजनीतिक परिवर्तन माओवादीकै कारण भएको बताए। प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताउँदै उनले माओवादीलाई घेराबन्दी गर्न कांग्रेस–एमालेले मध्यरातमा सहमति गरेको बताए। माओवादी कमजोर हुँदा जनताका अधिकार खतरामा पर्ने बताउँदै उनले पार्टीलाई रुपान्तरण सहित सशक्त बनाउन आवश्यक रहेको औंल्याए।

पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले यो पार्टी प्रवेश कार्यक्रम काष्टिङ मात्र भएको बताउँदै कांग्रेस एमालेका केन्द्रीय तहका नेतासहित ठूलो पंक्ति माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा रहेको खुलासा गरे। उनले भने, ‘हामी निरन्तर छलफलमा छौं, छिट्टै अर्को भव्य कार्यक्रम गरेर ठूलो संख्यामा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ।’

पार्टी प्रवेश गरेका टाइसन केरुङलाई वाइसीएल प्रदेश कमिटीको सहसंयोजक, झापा अध्यक्ष उपेन्द्र लिम्बुलाई वाईसीएल झापा उपाध्यक्ष, पंकज शेर्पालाई बुद्धशान्ति गाउँपालिका संयोजक, पुकार गुरुङलाई वाइसिएल झापा उपाध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ। अन्य सबैलाई उचित जिम्मेवारी दिइने पार्टीका प्रदेश अध्यक्ष मिक्सोले बताए।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, धर्मशीला चापागाईं, झापा संयोजक राजु आचार्य अग्नि, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामी लगायतको उपस्थित रहेको थियो।

माओवादी कमजोर हुँदा प्रतिक्रियावादीहरू सलबलाउन थालेकाले संघीयता, धर्मनिरपेक्षता, पहिचान लगायतका मुद्धा उठाउने पार्टीलाई सशक्त बनाउनका लागि आफूहरू माओवादीमा प्रवेश गरेको नवप्रवेशी नेताहरुले बताएका छन्।