Advertisement Ad

याक्थुङ युवा मञ्चद्वारा तीन जना पाँचथरे प्रतिभा सम्मानित

Advertisement Ad

१९ असोज २०८१, पाँचथर। सदरमुकाम फिदिममा शनिबारदेखि सुरु भएको ‘मुन्धुम मन्थन’ कार्यक्रममा तीन जना पाँचथरे प्रतिभाहरु सम्मानित भएका छन्।

याक्थुङ युवा मञ्च पाँचथरले गायक, गीतकार तथा संगीतकार बुद्धराज लिम्बू इङ्वा, याक्थुङ (लिम्बू)भाषी साहित्यकार पुष्पहाङ लोवा र याक्थुङ युवा मञ्च पाँचथरका पूर्व अध्यक्ष मन कुमार आङदेम्बेलाई सम्मान गरेको हो।

कला, साहित्यको माध्यमबाट जिल्लाको प्रतिष्ठालाई उच्च राख्न योगदान पुर्याए बापत लिम्बू र लोवालाई सम्मान गरेको याक्थुङ युवा मञ्च पाँचथरका अध्यक्ष कुमार यवा मौसमले बताए। सो अवशरमा याक्थुङ युवा मञ्च पाँचथरको संस्थापक अध्यक्ष आङदेम्बेलाई पनि सम्मान गरिएको उनले बताए। सम्मानित तीनै जनालाई कार्यक्रमका प्रमुख अतिथि, संविधानसभा सदस्य, पूर्व मन्त्री एवं लेखक श्रीप्रसाद जबेगुले सम्मान गरेका थिए।

फिदिममा सुरु भएको ‘मुन्धुम मन्थन’ कार्यक्रम अन्तर्गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा भाषाविद् दिलेन्द्र कुरुम्बाङले ‘याक्थुङ भाषा र सरकारी कामकाजी’को शन्दर्भमा र पूर्व प्राज्ञ हरि चन्द्र लाओतीले ‘याक्थुङ पाःन्को पाठ्यक्रम’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि छलफल भएको थियो।

कार्यक्रम अन्तर्गत आइतबार ‘मुन्धुम र लोक साहित्य’ त्यस्तै ‘मुन्धुमी स्थलहरु’बारे कार्यपत्र प्रस्तुतीसँगै छलफल र विमर्श गरिने याक्थुङ युवा मञ्च पाँचथरका सचिव मचिन्द्र सेमी लोवाले जानकारी दिए।