७ कार्तिक २०८१, पाँचथर। फिदिम नगरपालिका–५ चोकमागुमा तुम्बापो सयङको आप्लुङ्गेन् ताङ्सेप नोमाङ्गेन्ना तथा चोमेन् सेवा सम्पन्न भएको छ।
सप्ताहव्यापी चोमेन् सेवा बुधबार सम्पन्न भएको हो। कार्तिक १ गतेदेखि सुरु भएको चोमेन् सेवा अन्तर्गत कार्तिक ४ गते होक्मा खोलामा साक्मुरा वादेम्मा (गालीश्राप वहन्ती) गरिएको थियो। त्यस्तै कार्तिक ५ गते फिदिम–५ चोकमागुस्थित माङ्गुक्नादेन देवीथानमा संयुक्त न्वागी पूजा गरिएको तुम्बापो सयङ आप्लुङ्गेन् ताङ्सेप नोमाङ्गेन्ना तथा चोमेन् सेवा मूल समारोह समितिका सचिव सुवाश तुम्बापो ‘काङसोरे’ले बताए।
त्यस्तै कार्तिक ६ गते येत् लाधुङ नाम्धुङ्सेमी सेवा गरिएको थियो भने कार्तिक ७ गते सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सहित चोमेन् सेवा समापन गरिएको थियो। फिदिम–५ माङ्गुक्नादेन देवीथानमा आयोजित समापन समारोहमा पूर्व प्रदेशसभा सदस्य आसारत्न जबेगु तुम्बापो सहितलाई सम्मान गरिएको थियो।
कार्यक्रममा आसारत्न तुम्बापो जबेगु सहित तुम्बापो कुल वंशका शाखा अधिकृत देवी तुम्बापो, भूपु प्रधानपञ्च याम कुमार तुम्बापो, आवाल ब्रम्हाचार्य वीरबहादुर तुम्बापो र तुम्बापो कुल वंशका ८० बर्ष माथिका बम बहादुर तुम्बापो, नरप्रसाद तुम्बापो, रतन बहादुर तुम्बापो, इमानसिं तुम्बापो र लोक प्रसाद तुम्बापोलाई सम्मान गरिएको थियो। सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले सम्मान गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि आङदेम्बे सहित फिदिम नगरपालिका–५ का वडा अध्यक्ष भरत तुम्बापो, किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य लक्ष्मण लाओती, याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्र कुमार जबेगु, किरात याक्थुङ चुम्लुङ पाँचथरका सचिव कमल हाङसरुम्बा र तुम्बापो समाज सेवा संघ नेपालका केन्द्रीय अध्यक्ष धनराज तुम्बापो लगायतले शुभकामना तथा सम्मानितलाई बधाई दिएका थिए।
तुम्बापो कुल वंशको रक्षाका लागि गरिएको चोमेन् सेवालाई तीन बर्षसम्म निरन्तरता दिइने तुम्बापो सयङ आप्लुङ्गेन् ताङ्सेप नोमाङ्गेन्ना तथा चोमेन् सेवा मूल समारोह समितिका अध्यक्ष जीवन कुमार तुम्बापोले बताए।
तस्विरहरुः भूपेन लिम्बू