२३ कार्तिक २०८१, ताप्लेजुङ। मुन्धुमीस्थल एवंम् प्रशिद्ध तीर्थस्थल मुक्कुमलुङ (पाथीभरा)मा केवलकार स्टेशन शिलान्यास गर्ने कार्यक्रममा शुक्रबार दिउँसो झडप भएको छ।
शुक्रबार दिउँसो १ बजे मुक्कुमलुङ (पाथीभरा)को तल्लोफेदीमा केवलकार स्टेशनका लागि शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो। कार्यक्रममा नेकपा एमाले ताप्लेजुङका अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेन तल्लोफेदी पुगेका थिए।
शिलान्यास कार्यक्रम सुरु हुनसाथ मुक्कुमलुङ (पाथीभरा)मा केवलकार निर्माणको बिरोध गर्दै आएका संघर्षरत पक्ष र केवलकार बनाउने पक्षबीच हात हालाहाल भएको थियो। दुई पक्षबीच झडप हुँदा स्थिति तनाबग्रष्त भनेको थियो। प्रत्यक्षदर्शी हेमराज निरौलाले दुबै तर्फ घाइते भएका बताए। यद्यपी केवलकार स्टेशनको शिलान्यास गरिसकिएको फुङलिङ नगरपालिकाका नगर प्रमुख मादेनले बताएका छन्।
झडपका क्रममा संघर्षरत पक्षका घाइते भएका किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापोले बताइन्। घाइतेहरुको विवरण आउन बाँकि रहेको उनले बताइन्। महासचिव तुम्बापोले आस्थाहो धरोहर, पवित्र मुन्धुमीस्थलमाथि दलबल प्रयोग गरेर डोजर चलाउनु निन्दनीय भएको बताइन्।
मुक्कुमलुङ (पाथीभरा) दर्शनका लागि थप सहजता हुने भन्दै केवलकार निर्माणको काम बढिरहेको छ भने मुक्कुमलुङ संरक्षण समिति सहितका विभिन्न संघ–संस्थाले मुन्धुमीस्थल एवंम् दैवी शक्तिले बास गरेको स्थानमा केवलकार बनाउन नहुने भन्दै बिरोध जनाउदै आएका छन्।