Advertisement Ad

Advertisement Ad

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष कांग्रेसबाट माओवादीले खोस्यो

१७ मंसिर २०८१, मोरङ। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारयण माझी निर्वाचित भएका छन्। आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतले हराउँदै माझी निर्वाचित भएका हुन्।

निर्वाचित माझीले ६ हजार ९६९ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थारुले ५ हजार ३ सय ३३ मत ल्याए। यस्तै, नेकपा एमालेका तुलसी राम विश्वासले ४ हजार १५९ मत ल्याएर तेस्रो भएका छन्। ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका मध्ये १८ हजार ५७७ मत खसेको थियो।

२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। असार ३ गते उनको निधन भयो। रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन भएको थियो।

२०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ मत ल्याएर विजयी भएका थिए। त्यसबेला एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मतमात्रै ल्याएका थिए। विजयी बनेका थारुको निधन भएपछि आइतबार उपनिर्वाचन हुन भएको हो। पालिकाको ७ वटा वडामध्ये एमालेले ४, कांग्रेसले २ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेका छन् ।

२०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो। त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा तत्कालिन मधेसी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसका कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए। त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मत मात्रै ल्याएका थिए। (हाम्रोमत बाट)